
सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साले अवैध रूपमा भन्सार छलेर भित्र्याएको विभिन्न किसिमको समान बरामद गरेर भन्सारमा बुझाएको छ।
मंगलबार सशस्त्र प्रहरी टोलीले वीरगन्ज महानगरपालिकाको विभिन्न स्थानबाट सात लाख ३९ हजार नौ सय ५० रकमबराबरको विभिन्न सामग्री बरामद गरेर भन्सार बुझाएको हो।
खुला सीमानाकाबाट भन्सार छलेर नेपाल भित्र्याएका सामानहरू नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले जानकारी दिए।
यस्तै, मंगलबार नै भन्सार छलेर अवैध रूपमा कुखुरा लोड गरी वीरगन्ज प्रवेश गरेको गाडी नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीले प्रदेश २–०३–००१ च ४१६७ नम्बरको बोलेरो गाडीलाई कुखुरासहित नियन्त्रणमा लिई भन्सार चलान गरेको हो।
प्रहरी नायब उपरीक्षक सिंहका अनुसार कुखुरा बोकेको गाडी चेकजाँच गर्दा गाडीमा रहेको बोइलर कुखुराको बिल तथा भेटेरिनरी प्रमाणपत्र नभएको र उक्त गाडीलाई चालकले बेवारिसे अवस्थामा बाटोमै छाडेर भागेको थियो।
भन्सार छली चोरीपैठारी गरी भारतबाट नेपाल भित्र्याइएको एक लाख ८४ हजारबराबरको कुखुरालाई नष्ट गर्दै गाडीको मूल्यांकन गरेर वीरगन्ज भन्सार कार्यालयमा बुझाएको उनले बताए।
अवैध तरिकाले भित्र्याएको मोबाइल तथा इलेक्ट्रिक सामानहरू पनि बरामद गरी भन्सारमा बुझाएको छ। करिब २ लाख ७३ हजारबराबरको उक्त सामग्रीलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको सिंहले बताए।