
महोत्तरीको मटिहानी नगरपालिकामा बालविवाहबारे जनचेतना जगाउन सडक नाटक देखाउन सुरु गरिएको छ। नगरपालिकाले विभिन्न १० स्थानमा सडक नाटक देखाउने निर्णय गरेकोमा सोमबार वडा नं. १ बाट सुरु गरेको हो।
पछिल्ला वर्षहरूमा बालविवाह न्यूनीकरण गर्न पालिकाले विभिन्न कार्यक्रम गर्दै आएको छ। मटिहानी नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले आयोजना गरेको सडक नाटक हेर्न नगर प्रमुख हरिप्रसाद मण्डलसमेत पुगेका थिए।
प्रमुख मण्डलले सडक नाटक आमनागरिकमा जनचेतना जगाउन भरपर्दो माध्यम भएको बताउँदै आफ्नो पालिकामा विविध माध्यममार्फत बालविवाह न्यूनीकरणको प्रयास गरिरहेको बताए।
पहिलाजस्तो दरमा बालविवाह अहिले नभए पनि पूर्ण रूपमा अन्त्य भने नभइसकेकाले हरेक नागरिकलाई २० वर्षपछि विवाह गर्न सम्झाउन थालिएको उनको भनाइ छ।
आइतबार वडा नं. १ बाट सुरु भएको सडक नाटक क्रमशः वडा नं. २, ३, ६, ७ र ९ मा देखाइने नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख दीपा दासले जानकारी दिइन्।