
तराई मधेश हुलाकी राजमार्ग र मध्यपहाडी राजमार्गकेन्द्रित अभियान गरेको माओवादीले काठमाडौं उपत्यकामा जागरण अभियान सुरु गरेको छ । काठमाडौं थानकोटबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार अभियानको उद्घाटन गरेका छन् ।
अभियानलाई प्रभावकारी बनाउन प्रचण्डले नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । अभियानका क्रममा भाषण कम गर्न र जनताका समस्या बढी सुन्न उनको सुझाव छ । अभियान विशेषगरी नेवाः र तामसालिङ जागरणमा केन्द्रित हुने नेताहरूले बताएका छन् । समाजवादी क्रान्तिको चरणमा जातीय उत्पीडन, आत्मनिर्णयको अधिकार र समाजवादी क्रान्ति अन्तरसम्बन्धित रहेको नेताहरूले दाबी गरेका छन् ।
प्रचण्डले एक महिनाको अभियान पर्याप्त नहुने बताए । अभियान निरन्तर सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । स्वायत्तता र पहिचानलाई आत्मसात् गरेर अगाडि बढाउने उनले बताए । सबै उत्पीडित जाति, क्षेत्र र समुदायको मोर्चालाई अझ सुदृढ गर्ने उनले बताए । ‘जनतासँग नफर्की, जनतासँग नजोडीकन यो पार्टीलाई यथास्थितिबाट अर्को ठाउँमा लगेर समाजवादको नेतृत्व गर्ने पार्टी बनाउन सकिँदैन भन्ने गम्भीर समीक्षा र निष्कर्षसहित हामी अहिले अभियानमा छौँ,’ प्रचण्डले भने ।
नेवा र तामाङ समुदायको इतिहास, संस्कृति, परम्परा, खानपिन, उत्पादन सम्बन्ध आदि सबैको अध्ययन, अनुसन्धान गरेर जगाउँदै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । अभियानमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नि सापकोटा, पम्फा भुसाललगायत नेताहरू सहभागी भएका छन् । एक महिनासम्म जनतासँग भेटघाट, अन्तक्र्रिया, छलफल आदि कार्यक्रम गरिने माओवादीले जनाएको छ ।