
नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको बसाइ अवधि लम्बिन थालेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २०२४ मा प्रतिपर्यटक सरदर बसाइ अवधि १३.३० दिन पुगेको छ । सन् २०२३ मा पर्यटकको बसाइ अवधि १३.२० दिन थियो । यो औसत बसाइ अवधि पछिल्लो तीन वर्षयताकै बढी हो । यसअघि सन् २०२१ मा यस्तो बसाइ अवधि १५.५० दिन थियो ।
यो तथ्यांकमा स्थलमार्गबाट आएका भारतीय पर्यटकको आगमन संख्या समावेश छैन । मन्त्रालयअनुसार सन् २०२४ मा एक लाख २३ हजार ६ सय ११ जना स्थलमार्गबाट आएका थिए भने हवाईमार्गबाट १० लाख २३ हजार नौ सय ३७ जना भित्रिएका थिए । कुल ११ लाख ४७ हजार पाँच सय ४८ जना पर्यटक आगमन भएका थिए । सन् २०२३ को तुलनामा १३.०७ प्रतिशतले बढी पर्यटक नेपाल भित्रिएका हुन् ।
२०२४ मा विभिन्न देशबाट करिब साढे ११ लाख पर्यटक नेपाल घुम्न आएका थिए । यो संख्या अघिल्लो वर्ष २०२३ को तुलनामा १३ प्रतिशतभन्दा बढी हो ।
सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डको तथ्यांक छ । वर्षको अन्तिम महिना डिसेम्बरमा ९३ हजार पर्यटक नेपाल भित्रिएका छन् ।
विगतका वर्षको तुलनामा सन् २०२४ मा पर्यटक आगमन बढे पनि यो सरकारी लक्ष्यअनुसार भने होइन । सो वर्ष १२ लाख (सन् २०१९ भन्दा धेरै) पर्यटक नेपाल भ्रमणमा आउने सरकारको आकलन थियो । कोभिडअघि सन् २०१९ मा हालसम्मकै उच्च ११ लाख ९७ हजार एक सय ९१ पर्यटक नेपाल भित्रिएका थिए ।
२०२४ मा युरोपियन र अमेरिकी पर्यटक आगमन बढ्यो । तर, भारतीय र चिनियाँ पर्यटक आगमन उत्साहप्रद देखिएन । कोभिडपछि नेपाल भ्रमणमा आउने चिनियाँ अपेक्षित रूपमा बढ्न सकेका छैनन् । कोभिडअघि भारतपछि सबैभन्दा धेरै पर्यटक घुम्न आउने देशमा चीन दोस्रो थियो । तर, अहिले अमेरिकन पर्यटकले पछाडि पारेपछि चिनियाँ तेस्रो नम्बरमा छन् ।
सन् २०२४ मा पहिलो महिना जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ९७ हजार चार सय २६, मार्चमा एक लाख २८ हजार एक सय ६७, अप्रिलमा एक लाख ११ हजार तीन सय ७६, मेमा ९० हजार दुई सय ११, जुनमा ७६ हजार सात सय ३६, जुलाईमा ६४ हजार पाँच सय ९९, अगस्टमा ७२ हजार सात सय १७, सेप्टेम्बरमा ९६ हजार तीन सय पाँच, अक्टोबरमा एक लाख २४ हजार तीन सय ९३, नोभेम्बरमा एक लाख १४ हजार पाँच सय एक र डिसेम्बरमा करिब ९३ हजार (अनुमानित) पर्यटक नेपाल घुम्न आएका छन् ।