
बर्दियामा नरभक्षी चितुवा खोरमा परेको छ । बर्दियाको गुलरिया नगरपालिका– ५ बालापुरमा राखिएको खोरमा नरभक्षी चितुवा परेको हो । गत बुधबार बिहान शौचालय गएर फर्किने क्रममा चितुवाको आक्रमणबाट ६ वर्षीया सायरा चौधरीको मृत्यु भएको थियो ।
यसैगरी, वैशाख १५ गते गुलरिया नगरपालिका– ६ डम्पिङसाइडमा नाै वर्षीया बालिका मेलिना खकाड्को समेत चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । यसै चितुवाले अन्य दुईजनालाई समेत आक्रमण गरि घाइते बनाएको थियो ।
गुलरियामा चितुवाको आक्रमण बढ्दै गएपछि गत बुधबार स्थानीयले चितुवा पक्राउ गर्नुपर्ने मागसहित एक घण्टा सडक अवरुद्धसमेत गरेका थिए । त्यसपछि चितुवा समाउन जिल्ला प्रशासन कार्यालयले सहजीकरण गरी बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयबाट हात्ती ल्याएर खोजी कार्य थालिएको थियो ।
बर्दिया राष्ट्रिय निकुञ्जमा वरिष्ठ संरक्षण अधिकृत डाक्टर अशोक रामले आज बिहान चितुवा खोरमा परेको जानकारी दिए । उनले भने, ‘खोरमा परेको चितुवालाई अहिले डिभिजन वन कार्यालयमा राखिएको छ । चितुवाको व्यवस्थापन कसरी गर्ने भन्ने सल्लाह हुन बाँकी छ ।’