
बर्दियामा पछिल्लो समयमा बगरखेतीबाट स्थानीयले राम्रो आम्दानी गर्न थालेका छन् । बबई तथा भादा नदी–किनारमा स्थानीयले बगरखेती गरी राम्रो आम्दानी गर्न थालेका हुन् । बगरखेतीबाट राम्रो आम्दानी हुन थालेपछि बगरखेती गर्नेको संख्या बढ्दै गएको छ । गुलरिया नगरपालिकाको बालापुर, रत्नापुर, सीतापुर, बगहीमा बारबर्दिया नगरपालिकाको जब्दी, ठाकुरबाबा नगरपालिकाको अम्बासा र ओरही खोलामा र राजापुरको बुढी खोला, मझरा र कर्णालीमा बगरखेती हुने गरेको छ । किसानले बगरमा काँक्रो, लौका, फर्सी, खरबुजा, तरबुजा, टमाटरलगायत बेमौसमी तरकारी तथा फलफूल उत्पादन सुरु गरेका छन् ।
गुलरिया नगरपालिका– ४, बगहीकी अनिता चौधरीले आठ कट्ठामा गरेको बगरखेतीले उत्पादन दिन थालेको छ । उनको बारीमा अहिले तरबुजा, लौका, फर्सी, काँक्रो तयार भएको छ । विगत पाँच वर्षदेखि बगरखेती गर्दै आएकी चौधरीले बगरखेतीबाट राम्रै आम्दानी भएको बताउँछिन् । उनी भन्छिन्, ‘बगरखेतीले आत्मनिर्भर हुन सिकायो । उत्पादन भएका तरकारी सजिलै बिक्री–वितरण हुने भएकाले बगरखेतीबाट सन्तुष्ट छु । बगरखेतीबाट मात्र करिब एक लाख आम्दानी हुने गरेको छ ।’
त्यसैगरी, गुलरिया नगरपालिका– १२, भैसाही गाउँका रञ्जितकुमार थारूले बगरखेतीबारे ज्ञान, सीप, खेती गर्ने तरिका थाहा भए पनि आफूसँग खेती गर्ने लगानी नहुँदा बगरखेती गर्न नसकेको बताए । उनले भने, ‘बगरखेतीबाट राम्रो आम्दानी हुन्छ । आगामी दिनमा स्रोतको व्यवस्थापन गरेर भए पनि बगरखेती गर्ने सोचमा छु । बगरखेतीमा युवालाई जोड्न सकियो भने रोजगारीको खोजीमा विदेश जानुपर्दैन । देशमा बसेर पैसा कमाउन सकिन्छ । सरकारले पनि बगरखेतीलाई प्रोत्साहन गरेर युवालाई देशमा काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ ।’
भारतबाट आएका खानलाई देखेर धेरैले बगरखेती गर्न सिके
बर्दियाको गुलरियामा आएर पहिलोपटक बगरखेती गर्ने व्यक्ति हनिफ खान हुन् । उनी भारतको उत्तरप्रदेशबाट आएर बगरखेती सुरु गरेका हुुन् । प्रत्येक वर्ष आएर बगरखेती गर्छन् । खानले गुलरिया नगरपालिकासँग करिब ६ बिघा जग्गा भाडामा लिएर बगरखेती गर्न थालेको पनि १५ वर्ष भयो । उनले बगरमा समेत खेती गर्न सकिन्छ भनेर स्थानीयलाई सिकाए भने उनै हनिफलाई देखेर केही स्थानीयले बगरखेतीसमेत गर्न थाले । बगरखेतीबाट पनि फाइदा हुन्छ भन्ने ज्ञान र सीप हस्तातरण गरेका छन् ।
नेपालमा सम्भावना र अवसर छैन भन्दै विदेश पलायन हुनेको संख्या दिनहुँ बढ्दै गएको छ । तर, भारतबाट आएर खेती गरेका खानले बगरखेती गरेर बर्सेनि १० देखि १२ लाख कमाउँछन् र आफ्नो देश फर्किन्छन् । उनी भन्छन्, ‘बगरखेतीमा खेती गर्दा पानीको समस्या पर्दैन र उत्पादन पनि राम्रो हुन्छ । तरकारी बाली बेच्न खासै समस्या छैन्, व्यापारीहरू तरकारी किन्न आउँछन् । स्थानीय र नजिकको जिल्लाबाट समेत व्यापारी आएर उत्पादन भएका तरकारी किनेर लैजान्छन् ।’ खानसँग काम सिकेर कैयौँले बगरखेतीमा उत्पादनसमेत गरेका छन् । बर्दियामा किसानलाई बगरखेती सिकाउने खान अहिले पनि बगरखेती गरिरहेका छन् ।
बर्दियामा ४७ बिघामा बगरखेती हुन्छ
बर्दियामा ४७ बिघा जग्गामा बगरखेती हुने गरेको छ । एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका अनुसार बर्दियामा ४७ बिघा जग्गामा बगरखेती हुने गरेको छ । गुलरिया नगरपालिकामा ३० बिघामा, बारबर्दिया नगरपालिकामा चार बिघामा, ठाकुरबाबा नगरपालिकामा १० बिघामा र राजापुर नगरपालिकामा तीन बिघामा बगरखेती भइरहेको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका प्रमुख सागर ढकालले बताए । उनले भने, ‘कार्यालयले बगरखेती गर्नका लागि विगतका वर्षमा किसानलाई तालिम तथा सिँचाइ सामग्री वितरण गरेको छ । बगरमा उत्पादन हुने लहरे बालीमा कुनै समस्या देखिएमा प्राविधिक सहयोगसमेत गरिएको छ ।’
बगरखेतीबाट राम्रो आम्दानी हुने भएकाले बगरखेतीमा किसानको आकर्षण बढ्दै गएको कार्यालय प्रमुख ढकालले जानकारी दिए । उनले भने, ‘बगरखेतीबाट उत्पादन भएको तरकारी बाली बेच्न बजार अभाव नभएकाले बगरखेतीले किसानलाई फाइदा पुगेको छ ।’ भादा नदीको उत्तरी क्षेत्र र मान खोला र अन्य खोलामा पनि बगरखेतीको सम्भावना रहेको उनले जानकारी दिए ।