१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १७ शनिबार
  • Monday, 02 June, 2025
२o८२ जेठ १७ शनिबार २o:३३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

बुटवल–नारायणगढ सडक खण्डको अवरुद्ध तीनै स्थानबाट एकतर्फी सवारीसाधन चल्न थाले

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १७ शनिबार २o:३३:oo

दुई दिनअघि परेको पानीले अवरुद्ध पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक खण्डको तीनवटै स्थानबाट एकतर्फी सवारी साधन सञ्चालन हुन थालेको छ । बिहीबार परेको पानीले चोरमाराको गिरुवारी खोला, दुम्किबासको विनयी खोला र दाउन्नेको खुर्सानी खोला क्षेत्रमा सडक अवरुद्ध भएको थियो ।

बिहीबार रातिदेखि अवरुद्ध चोरमारा र दाउन्ने क्षेत्रको सडक शुक्रबार दिउँसोबाट एकतर्फी सञ्चालनमा आएको थियो भने दुम्किबास क्षेत्रमा डाइभर्सन निर्माणपश्चान शनिबारबाट सञ्चालनमा आएको हो । सडक अवरुद्ध हुँदा दुम्किबासबाट बर्दघाट वा बर्दघाटबाट दुम्किबाससम्म आउने सवारीसाधान १२ घण्टासम्म जाममा परेका थिए । शुक्रबार त्रिवेणीबाट सदरमुकाम कावासोती आउन हिँडेका त्रिवेणीका पदम रानाले बर्दघाटबाट कावासोती आउँन र कावासोतीबाट बर्दघाट फर्कन १२ घण्टा लागेको बताए ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत बुटवल नारायणगढको बाटो अहिले यात्रुलाई सधैं सास्ती हुने बाटो बनेको छ । झण्डै ६ बर्षमा अलकति राहात महशुष हुने गरि काम भए पनि पछिल्लो समय पुरानो पुल एक पछि अर्काे भाँचिन थाले पछि यस बर्ष पनि बर्षामा सास्ती हुने भएको छ ।

पुर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको चोरमारामा रहेको गिरुवारी खोलाको पुल भाँचिदा स्थानीयलगायत सवारीचालक र यात्रुहरूले सास्ती भोग्दै आएका छन् ।

गत २६ पुसमा भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासको पुल र २९ वैशाखमा होङ्सी सिमेन्ट कम्पनीको १८ चक्के टेलर पास हुँदा पुल भाँचिएको थियो । पुल भाँचिएपछि डाइभर्सनमार्फत गाडी आवत जावत हुँदै आएको छ । 

नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले यसवर्ष निर्माण कम्पनीले दाउन्नेको सडक कालोपत्रे वा ढलान गर्ने छनक नदेखाएको बताए । उनका अनुसार निर्माण कम्पनीले काम गर्छु गर्छु भन्ने तर काम  तिव्रता देखिएको छैन । यही कारण हल्का पानी पर्नासाथ दाउन्नेको उकालोमा सवारीसाधन उक्लनै नसक्ने स्थिति छ । 

दुम्किबासको विनयी खोलाको पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आउन कम्तिमा एक महिना लाग्ने अवस्था छ । यहाँ पुल नबन्दासम्म डाइभर्सन नभत्कने गरी बनाउन लगाएको भए पनि सम्भव नभएको पाण्डेले बताए ।

गिरुवारी खोलामा पुरानै पुललाई मर्मत गरेर सञ्चालन गर्ने तयारी गरिएको छ । जुन अझै कम्तिमा १५ दिन लाग्ने सडक आयोजनाले जनाएको छ । त्यसैगरी दुम्किबासको विनयी खोलामा भने नयाँ पुल निर्माण सकिने अवस्थामा छ । 

दुम्किबासको नयाँ पुल चाइना स्टेट कम्पनीले बनाइरहेको छ भने दुम्किबासमै डाइभर्सनको काम भने सडक आयोजनाले गरेको छ । चोरमाराको पुरानो पुल मर्मत सडक आयोजनाले गर्दैछ भने नयाँ पुल चाइना स्टेट कम्पनीले गर्दैछ ।

चाइना स्टेट कम्पनीका बुटवल–नारायणगढ सडक पूर्वी खण्डका इन्जिनियर राकेश झाले दुम्किबासको पुल निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउन कम्तिमा एक महिना लाग्ने बताए । उनका अनुसार ढिलोमा असार मसान्तसम्म दुम्किबासको पुल सञ्चालनमा ल्याउने तयारी छ । 

दाउन्नेमा पूर्वी खण्डमा रहेको नौ किलोमिटर सडकमध्ये करिब चार सय मिटर मात्र ढलान भएको छ । उनका अनुसार अब ६ सय मिटर ढलान गर्ने तयारी छ । दाउन्ने खण्डमा यसबाहेक अन्य ढलान वा कालोपत्रेको काम यस वर्ष हुन नसक्ने झाले बताए ।

दुम्किवासस्थित विनयी खोलाको पुल पनि भाँचिएको हुनाले गिरुबारीको पुल निर्माण गर्ने स्रोतसाधन विनयी खोलामा लगाउनु पर्दा गिरुबारीको नयाँ पुल निर्माणमा ढिलाई भएको आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । 

बुटवल नारायणगढ सडक खण्डमा अहिलेसम्म भौतिक प्रगति ६७ प्रतिशतका हाराहारीमा पुगेको छ ।