
एक राजाले दरबारमा १० डरलाग्दा जंगली कुकुर पालेका थिए । कुनै गल्ती गर्ने मानिसलाई सजाय दिनुप¥यो भने उनी तिनलाई तिनै कुकुर राखेको स्थानमा खसाल्न लगाउँथे र आफू नजिकै बसेर रमिता हेर्थे ।
एकपटक दरबारमा १० वर्षदेखि राजाको सेवामा रहेका एक मन्त्रीले सानो गल्ती गर्दा क्रोधित भएर राजाले उनलाई तिनै कुकुरको खोरमा खसाल्ने सजाय सुनाए । राजाले सजाय दिनुपूर्व मन्त्रीसित उनको अन्तिम इच्छा सोधे । मन्त्रीले भने– महाराज मैले तपाईंको सेवामा १० वर्ष बिताएँ । अब यो सजाय कार्यान्वयन हुनुपूर्व थप १० दिनको अवधि चाहन्छु । राजाले उनको माग स्विकारे ।
१० दिनपछि सैनिकले मन्त्रीलाई समातेर राजाको आदेशअनुसार जंगली कुकुर राखिएको खोरमा खसालिदिए । राजा नजिकै बसेर रमिता हेरिरहेका थिए । तर, आफ्नोअगाडि आइपुगेका मन्त्रीलाई झम्टेर लुछ्नुको साटो ती जंगली कुकुर उनीसित खेल्न पो थाले । कुकुरहरू पुच्छर हल्लाएर खुसी व्यक्त गरिरहेका थिए । उनीहरू मन्त्रीका खुट्टा चाटिरहेका थिए ।
यो दृश्य देख्दा राजा आश्चर्यचकित भए । उनले ती कुकुरले किन त्यस्तो व्यवहार गरिरहेका छन्, त्यसको कुनै अनुमान नै लगाउन सकेनन् । आखिरमा राजाले मन्त्रीलाई बाहिर निकाल्न लगाए र सोधे– यो सब के भइरहेको छ ? यी कुकुर तिमीलाई झम्टिनुको साटो तिमीसित किन रमाएर खेलिरहेका छन् ?
मन्त्रीले जवाफ दिए– महाराज ! मैले तपाईंबाट १० दिनको अवधि मागेको थिएँ । सो अवधिको प्रत्येक क्षण मैले यिनै कुकुरको सेवामा लगाएँ । मैले हरेक दिन यिनलाई नुहाइदिने, खाना खुवाउने, उनीहरूसित खेल्ने काम गरेँ । यी कुकुर जंगली हुँदाहुँदै पनि मेरो १० दिनको सेवालाई भुलेनन् र मलाई टोक्नुको साटो मसँग रमाएर खेले । तर, मैले १० वर्षसम्म गरेको सेवा र स्वामीभक्तिलाई तपाईंले एउटा सानो गल्तीका कारण सबै भुल्नुभयो र यति भयानक सजाय दिनुभयो ।
मन्त्रीका कुराले राजाका आँखा खुले । उनलाई आफ्नो गल्तीको महसुस भयो । उनले मन्त्रीसित माफी मागे र उनलाई तत्काल सजायबाट मुक्त गरे । साथै, आगामी दिनमा यस्तो गल्ती कहिल्यै नदोहोर्याउने प्रण पनि गरे ।