मकवानपुरको मनहरी गाउँपालिकामा सम्पन्न दोस्रो चैनपुर जेसिज कप फुटबल प्रतियोगिताको उपाधि मकवानपुरगढी जेसिआईले जितेको छ। सोमबार भएको फाइनल खेलमा हेटौँडा–१९ बस्तीपुरको एफसी परेलीलाई १–० गोलले हराउँदै मकवानपुरगढी जेसिआईले उपाधि जितेको हो। मकवानपुरगढीको जितका लागि खेलको दोस्रो हाफमा गणेश हमालले गरेको गोल निर्णायक बन्यो।
प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले गोल गर्ने केही सुवर्ण मौका खेर फालेका थिए। पहिलो हाफ बराबरी भएको थियो।
उपाधिसँगै मकवानपुरगढी जेसिआईले एक लाख ११ हजार १११ रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
यस्तै, उपविजेता बनेको परेलीले ५१ हजार १५१ रुपैयाँसहित सिल्ड प्राप्त गर्यो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी जेसिजका कुलदीप कार्की घोषित भए। उनले सात हजार पाँच सय रुपैयाँसहित ट्रफी प्राप्त गरे।
यस्तै, परेलीका सलिल ढकाल उत्कृष्ट फर्वाड घोषित हुँदा बाँकी विधागत उत्कृष्टमा जेसिजकै वर्चस्व रह्यो। जेसिजका अस्मिर गोङ्बा उत्कृष्ट गोलरक्षक, बिम्ब मगर उत्कृष्ट डिफेन्डर, रोशन पहारी उत्कृष्ट मिडफिल्डर र भीम लामा उत्कृष्ट प्रशिक्षक घोषित भए।