मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ३ सोमबार
  • Monday, 18 November, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडाैं
२o८१ मङ्सिर ३ सोमबार o८:५३:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

फेरिँदै त्रिवि मैदानको मुहार

आठवटा नयाँ पिचदेखि विभिन्न संचरना परिवर्तनसहित त्रिवि क्रिकेट मैदानको स्वरूप परिवर्तन

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर ३ सोमबार o८:५३:oo

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को मिति नजिकिँदै जाँदा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानकोे मुहार फेरिएको छ । १५ मंसिरबाट हुने एनपिएलका लागि आयोजक क्यानले मैदानलाई नयाँ स्वरूपमा विस्तार गरिरहेको छ । ‘मैदानलाई नयाँ स्वरूप दिने कार्य तीव्र गतिमा चलिरहेको छ,’ क्यानका सचिव पारस खड्काले भने, ‘एनपिएल सुरु भइसक्दासम्म दर्शकले यहाँ फरक अनुभूति गर्न पाउनेछन् ।’

क्यानले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को समन्वयमा मैदानमा स्कोर बोर्ड जडान गरेको छ । मैदानमा डिजिटल स्कोर बोर्ड नहुँदा दर्शकले समस्या भोग्दै आएका थिए । मैदानको पूर्वतिर दुईतले भवनमाथि स्कोर बोर्ड जडान गरिएको छ । यसपटकदेखि दर्शक बस्ने स्थानलाई चार क्षेत्रमा विभाजन गरी टिकट निर्धारणसमेतको तयारी छ ।

एनपिएलमा अस्थायी भिआइपी र एक हजार सिट अस्थायी प्यारापिटमा हुनेछ । क्यानले यसपटकदेखि मिडिया जोन परिवर्तन गरेको छ । यसअघिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा मिडिया बस्ने जोनलाई क्यानले भिभिआइपी क्षेत्र बनाएको छ ।

प्रिम्याच र पोस्ट म्याच गर्ने उचित स्थान नभएका कारण नै क्यानले मिडिया जोन परिवर्तन गरेको हो । भिभिआइपी बस्ने स्थानमा एसी जडान गरिएको छ । मैदानको उत्तरतर्फको भवनलाई भिभिआइपी स्थान बनाएको क्यानका सचिव खड्काले बताए ।

एनपिएलमा क्यानले नयाँ आठवटा पिच प्रयोगमा ल्याउनेछ । क्यानले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ को खेलपछि पुरोना पिच भत्काएर नयाँ बनाएको हो । क्यानले एनपिएलकै लागि फुड इन्स्टल राख्ने योजना बनाएको छ । इन्डोर र आउट डोर अभ्यास स्थल सुधार गरिएको छ । गत फ्रेबु्रअरीपछि त्रिवि मैदानमा कुनै पनि अन्तर्राष्ट्रिय खेल तालिका रहेन । यही अवधिमा क्यानले मैदानको पूर्वाधार र नयाँ संरचना बनाउन सुरु गरेको क्यानका प्रवक्ता छुम्बी लामाले बताए । ‘एनपिएललाई मध्यनजर गरी ६ महिनादेखि काम गरिरहेको छौँ । पहिलो संस्करणको एनपिएलमा सबै संरचना नयाँ हुनेछन्,’ लामाले भने । मैदानको पूर्वपट्टि फ्रेन्चाइज टोलीका मालिक बस्ने स्थान बनाइँदै छ । क्यानले आवश्यकताअनुसार मूलपानी मैदानमा एनपिएल गराउने सक्ने योजना बनाएको छ । स्कोर बोर्डनजिकै अम्पायर भवन रहेको छ । जसको छतमा भिभिआइपीको स्थान पनि बनाइएको छ ।

दर्शकले फरक शुल्कसहित खेल हेर्नुपर्ने
यसअघिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा एकै मूल्यका टिकट खरिद गरी दर्शक मैदानका कुनै पनि भागमा बस्थे । अब एनपिएलमा दर्शकले यस्तो सुविधा पाउनेछैनन् । क्यानले दर्शक बस्ने फरक जोन बनाएको र यसको मूल्यसमेत फरक हुने प्रवक्ता लामाले बताए । क्यानले सहजै खेल हेर्न मिल्ने चोभार एन्डका टिकटको मूल्य अरूभन्दा धेरै हुने जनाएको छ ।

भिभिआइपीको एक हजार थान टिकट पनि रहनेछ । बाँकी दुई जोनका टिकटको मूल्य पनि फरक हुने लामाले बताए । ‘दर्शक बस्न सहजीकरण गर्न नै टिकटको फरक जोन बनाएका छौँ । सुरक्षाका हिसाबले पनि यस्तो गर्नुपरेको हो,’ उनले भने, ‘फरक जोनको फरक टिकटदर निर्धारण गरेर चाँडै सार्वजनिक गर्नेछौँ ।’ क्यानले दर्शकका लागि अस्थायी र स्थायी बाथरुम पनि तयार गरिसकेको छ । महिला तथा पुरुषका लागि सहज बाथरुम सञ्चालनमा ल्याउने अन्तिम चरणमा पुगेको छ ।

फ्लड लाइट तत्काल नहुने
त्रिवि मैदानमा जडान गरिने भनिएको फ्लड लाइट तीनपटकसम्म टेन्डर आह्वान भएर रद्द भएको छ । क्यानले दोस्रो संस्करणको एनपिएल फ्लड लाइटमा हुन सक्ने जनाएको छ । ‘राखेपले दुई–तीनपटक फ्लड लाइट बनाउन टेन्डर आह्वान गरेको थियो । प्राविधिक कारणले रोकिएको छ । प्रधानमन्त्री केपी ओलीले तीन सय दिनमा मैदान बनाउने निर्णय गरेपछि सहरी विकास मन्त्रालयले पूर्वाधारको काम हेरेको छ,’ क्यानले भन्यो ।

काठमाडौंको जर्सी सार्वजनिक
एनपिएलको फ्रेन्चाइज टोली काठमाडौं गुर्खाजले आइतबार जर्सी सार्वजनिक गरेको छ । काठमाडौंका को–फाउन्डरद्वय उपेन्द्र महतो, शृंखला खतिवडा, महिला क्रिकेटर इन्दु बर्मासँगै मार्की खेलाडी करण केसीले जर्सी सार्वजनिक गरेका हुन् । कार्यक्रममा काठमाडौंले नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान इन्दुलाई क्रिकेट एम्बासडर नियुक्त गर्ने घोषणा गरेको छ । काठमाडौंको जर्सीको प्रायोजक बिवाइडी हो ।

विराटनगरको ब्रान्ड एम्बासडरमा अभिनेता दयाहाङ
विराटनगर किङ्सले अभिनेता दयाहाङ राईलाई ब्रान्ड एम्बासडर घोषणा गरेको छ । विराटनगरका मालिक बैंकटेस मुन्द्रा र नायक दायाहाङले आइतबार एक वर्षको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सन्दीप लामिछाने विराटनगर किङ्सका मार्की खेलाडी हुन् । अभिनेता दयाहाङले विराटनगरसँग जोडिन पाउँदा धेरै खुसी लागेको बताए । उनले देशको उन्नति र विकास लागि कलासँगै खेल क्षेत्रमा लगानी आवश्यक रहेको ‍औँल्याए । क्यानका सचिव पारस खड्काले क्रिकेटप्रति चासो र समर्थन गर्दै आएका अभिनेता दयाहाङलाई विराटनगरले टोलीमा जोड्दा क्यानका लागि एक जितसरह रहेको बताए ।

तस्बिरहरू : अमुल थापा/नयाँ पत्रिका