१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २० मंगलबार
  • Tuesday, 05 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २० मंगलबार १८:४४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपनिर्वाचन भ्रष्टाचारविरोधी अभियानकै निरन्तरता हो : प्रचण्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २० मंगलबार १८:४४:oo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनलाई भ्रष्टाचारविरोधी अभियानकै निरन्तरताको रूपमा अघि बढाउन निर्देशन दिएका छन्।

काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख र वडाध्यक्ष पदका उम्मेदवार तथा पार्टीको सम्बन्धित कमिटीका पदाधिकारीसँगको भेटमा उनले यस्तो निर्देशन दिएका हुन्।

‘हामीले सरकारको नेतृत्व गर्दा जसरी सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान सुरु गरेका छौँ, यो क्षणिक कार्यक्रम मात्र नभएर आगामी दिनमा अघि बढ्ने हाम्रो पार्टीको सुस्पष्ट दृष्टिकोणमा आधारित कार्यक्रम हो,’ अध्यक्ष प्रचण्डले भने, ‘त्यसैले आसन्न उपनिर्वाचनको मुख्य एजेन्डा पनि सुशासन नै हो, उपनिर्वाचन यही अभियानको निरन्तरताको रूपमा अघि बढ्नेछ।’

माओवादी केन्द्र नेतृत्वको सरकारले भ्रष्टाचारीमाथि थालेको कारबाहीका कारण जनताको बिचमा महत्त्पूर्ण सन्देश गएको र अहिलेको सरकारले गरिरहेको गतिविधिले त्यसलाई थप पुष्टि गरेकाले आसन्न उपनिर्वाचन निश्चित ठाउँमा मात्रै हुने भए पनि जनताले भ्रष्टाचारी या भ्रष्टाचारविरोधी कसलाई छनाेट गर्ने भन्ने परीक्षणको समय पनि हुने उनले बताए।

माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको प्रमुखको उम्मेदवारमा प्रा.डा. शिवशरण महर्जनलाई अघि सारेको छ। त्यस्तै, कीर्तिपुर १ को वडाध्यक्षमा अष्टमान महर्जन र वडा नं ४ को वडाध्यक्षमा इन्जिनियर नारायण विष्टलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णयसमेत गरेको छ।

कीर्तिपुर नगर समितिले तीनैजना उम्मेदवार सर्वसम्मत रूपमा चयन गरेको जानकारी गराएपछि खुसी व्यक्त गर्दै अध्यक्ष प्रचण्डले सर्वसम्मत उम्मेदवार छनाेटले जितको राम्रो सुरुवात गरिसकेको जिकिर गरे। उनले विगतका अनुभव हेर्दा चुनावमा हार्नुमा आन्तरिक एकता नहुनु समस्याको रूपमा रहेको उल्लेख गर्दै यसपटक आन्तरिक रूपमा पार्टी एक भएर उम्मेदवार छनाेट गर्नु, सबै नेता-कार्यकर्ता चुनावमा खटिन तयार हुनु र राष्ट्रिय रूपमा पार्टीको पक्षमा माहोल बन्दै गएकाले कीर्तिपुरसहित धेरै नयाँ ठाउँमा उपचुनाव जितिने आधार बनेको दाबी गरे।

सो क्रममा नगर प्रमुखका उम्मेदवार महर्जनले जित्ने विश्वासका साथ अघि सरेको उल्लेख गर्दै आफू निवृत्त प्राध्यापक भएकाले जितेमा सबै तलब-भत्ता सामाजिक काममा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।