१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २० मंगलबार
  • Tuesday, 05 November, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८१ कार्तिक २० मंगलबार o६:२२:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

ओटिसी बजारमा हुने सेयर कारोबारमा पुँजीगत लाभकर छलीको आशंका, ६० कम्पनीमाथि छानबिन गर्दै राजस्व विभाग

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २० मंगलबार o६:२२:oo

आन्तरिक राजस्व विभागले ‘ओभर द काउन्टर (ओटिसी)’ बजारबाट हुने सेयर कारोबारमा पुँजीगत लाभकर छली भएको आशंका गर्दै ६० कम्पनीमाथि छानबिन गर्ने भएको छ । विभागले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत नभएका कम्पनीको पाँच लाख रुपैयाँभन्दा बढीका सेयर कारोबारमा कर छलीको आशंका गरेको छ । ती कम्पनीबाट गत आवमा मात्रै पाँच अर्बजतिको कारोबार भएको छ । 

विभागका महानिर्देशक रामप्रसाद आचार्यले नेप्सेमा सूचीकृत नभएका पाँच लाखभन्दा बढी रकमको सेयर कारोबारको विवरणमध्ये छनोट गरी पुँजीगत लाभकरको अनुसन्धान गर्ने तयारी गरिएको छ । उनका अनुसार मंसिरदेखि विभागमातहतका कार्यालयहरूको छानबिन अघि बढाउन थालिएको छ । ओटिसीमा खरिदकर्ता र बिक्रीकर्ताको आपसी समझदारीबाट निर्धारित मूल्यमा सेयर खरिद–बिक्री हुने भएकाले कर छलीको जोखिम बढी रहने जानकार बताउँछन् ।

नेप्सेमा सूचीकृत नभएका कम्पनीहरूको सेयर कारोबार ‘ओभर द काउन्टर– ओटिसी’ बजारबाट हुने गरेको छ । कर कार्यालयसँग प्रत्यक्ष नजोडिएरै नेप्सेमै कर दाखिला गरेर किनबेच गर्न पाइने भएकाले शंकास्पद कारोबारको छानबिन गर्न खोजिएको महानिर्देशक आचार्यले बताए । 

‘नेप्सेमा सूचीकृत नभएका सेयर कारोबारको पुँजीगत लाभकरसँग कर कार्यालयहरू प्रत्यक्ष रूपमा जोडिँदैनन् । नेप्सेले सेयर कारोबारको पुँजीगत लाभकर उठाउँछ । यस्तोमा हुन सक्ने शंकास्पद कारोबारको छानबिन र अनुसन्धान गर्ने हाम्रो योजना हो,’ उनले भने, ‘यसमा कारोबारीले करको दायित्व पूरा गर्‍यो कि गरेन र कर कार्यालयमा बुझाएको कर विवरण र नेप्सेलाई तिरेको करमा केही भिन्नता छ कि छैन भनेर हामीले हेर्न खोजेका हौँ ।’ 

नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक नीरज गिरीले ओटिसी कारोबारलाई व्यवस्थित नबनाएसम्म कम मूल्यांकन गरेर पुँजीगत लाभकर छली हुने जोखिम सधँै रहने बताए । ‘ओटिसीमा खरिदकर्ता र बिक्रीकर्ताको आपसी समझदारीबाट निर्धारित मूल्यमा सेयर खरिद–बिक्री हुने भएकाले कर छलीको जोखिम बढी रहन्छ । ओटिसी कारोबारलाई व्यवस्थित नबनाएसम्म कम मूल्यांकन गरेर पुँजीगत लाभकर छली हुने जोखिम सधैँ रहन्छ,’ उनले भने, ‘ओटिसीमा सेयरको न्यूनतम मूल्यांकन नगर्दा वास्तविक कारोबारबापत राज्यले पाउनुपर्ने राजस्व गुमिरहेको छ । खरिदकर्ता र बिक्रीकर्ताले आपसी समझदारीमा कम मूल्यांकनमा सेयर किनबेच गर्छन् ।’

नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले ओटिसीमा सेयर कारोबारमा प्रणालीगत मूल्यांकन नहुने भएकाले यसमा पाउनुपर्ने पुँजीगत लाभकर उठाउन समस्या रहेको बताए । ‘ओटिसीमा हुने सेयर किनबेचको मूल्यांकन निर्धारण नहुने भएकाले कम मूल्यमा कारोबार गरेर पुँजीगत लाभकर छली गर्ने सम्भावना रहन्छ । सायद त्यसैले आन्तरिक राजस्व विभागले ओटिसी कारोबारको विवरण छानबिन गर्न खोजेको हुन सक्छ,’ उनले भने, ‘ओटिसीमा कारोबार गर्ने व्यक्तिले राजस्व खातामा पैसा जम्मा गरेर नेप्सेमा रसिद पेस गर्छन् । त्यसपछि नेप्सेले कारोबारको अनुमति दिन्छ । कर अनुसन्धानमा सहयोग गर्न हामी तयार छौँ । संसारभर नै ओटिसी बजार अनौपचारिक नै हुन्छन् । तर, यसलाई थप व्यवस्थित बनाउन सकिन्छ ।’ 

६३ कम्पनीको ओटिसीबाट पाँच अर्ब चार करोडको कारोबार
कम्पनी रजिस्ट्रारको कार्यालयले ओटिसीबाट सेयर किनबेच अनिवार्य गरेपछि पछिल्ला वर्षहरूमा ओटिसी कारोबार बढ्न थालेको छ । नेपाल धितोपत्र बोर्डका अनुसार गत आर्थिक वर्ष ०८०/८१ मा ६३ कम्पनीहरूको पाँच अर्ब चार करोड रुपैयाँबराबरको कारोबार भएको थियो । यो ओटिसी बजार सुरु भएयताकै ठुलो कारोबार हो । आर्थिक वर्ष ०७९/८० मा ४३ कम्पनीको दुई अर्ब ६९ करोड रुपैयाँमा कारोबार भएको थियो । आव ०७८/७९ मा ४३ कम्पनीको दुई अर्ब ३५ करोडमा कारोबार भएको थियो । ०७७/७८ मा ४६ कम्पनीको दुई अर्ब ६३ करोडमा कारोबार भएको थियो । ०७६/७७ मा २४ कम्पनीको एक अर्ब ८९ करोडको कारोबार भएको थियो । ०७५/७६ मा ६१ कम्पनीको दुई अर्ब एक करोड र आव ०७४/७५ मा ५४ कम्पनीको एक अर्ब ३० करोडको कारोबार भएको थियो । आव ०७३/७४ मा २५ कम्पनीको २४ करोड कारोबार भएको बोर्डको तथ्यांक छ । 

यी हुन् छानबिनको दायरामा रहेका ६० कम्पनी 
०८०/८१ मा ६३ कम्पनीको सेयर ओटिसीमा किनबेच भएको छ । आन्तरिक राजस्व विभागले यीमध्ये ६० कम्पनीको विवरण मागेर छानबिन गर्ने तयारी गरेको हो । 

६३ कम्पनीमध्ये एक सय रुपैयाँ प्रतिकित्तामा किनबेच भएका २९ कम्पनी छन् । जसमा अल फुड्स इन्डस्ट्री, अन्नपूर्ण केबलकार, अपोलो हाइड्रोपावर, अवसर इक्विटी, बन्दीपुर केबलकार, बिजनेस इन्ट्रेस्ट ग्रुप इन्डस्ट्रिज, चण्डेश्वरी महादेवखोला पावर, चितवन फुड इन्डस्ट्रिज, इलेक्ट्रो पावर, एभरेस्ट ग्यास उद्योग, एभरेस्ट हस्पिटालिटी होटेल, गरिमा क्यापिटल, गार्जाङ उपत्यका पावर र हाइलाइफ एग्रो एन्ड फुड्स इन्डस्ट्रिज छन् । यसैगरी, हिल्टन हाइड्रो, हिमरिभर पावर, हिमशिला पावर कम्पनी, होटेल फरेस्ट इन, काबेली हाइड्रोपावर, म्याक्स भिजन, मेडिकेयर हस्पिटल, मुक्तिनाथ कृषि कम्पनी, नेपाल हस्पिटालिटी एन्ड होटेल, श्री डिस्टिलरी, स्नो रिभर, सोपान मल्टिपल, टक्सार पिखुवा खोला हाइड्रोपावर, त्रिवेणी इन्टरनेसनल कलेज र याम्बालिङ हाइड्रोपावर छन् । एग्रो कमर्स नेपालको सेयर मूल्य प्रतिकित्ता १००.३७ रुपैयाँमा किनबेच भएको छ । 

प्रतिकित्ता एक सयदेखि दुई सय रुपैयाँमा किनबेच भएका कम्पनीहरू २९ वटा छन् । जसमा मुक्तिनाथ कृषि कम्पनी प्रतिकित्ता एक सय रुपैयाँमा पनि किनबेच भएको देखिन्छ । अन्नपूर्ण केबलकार र बन्दीपुर केबलकार १४० रुपैयाँमा पनि किनबेच भएको छ । अवसर इक्विटी १५० रुपैयाँमा कारोबार भएको छ । अल्फा क्यापिटल, बरुण इन्भेस्टमेन्ट, भरतपुर सामुदायिक अस्पताल, बिओके क्यापिटल मार्केट, चार्टर्ड क्यापिटल एन्ड इन्भेस्टमेन्ट, आइएमई डिजिटल सोलुसन, जगदम्बा स्पिनिङ मिल्स, जनज्योति एजुकेसन फाउन्डेसन कञ्चनपुर, ज्योति क्यापिटल, काठमाडौं मेडिकल कलेज, खोलाङ हाइड्रोपावर, लक्ष्य क्यापिटल, लक्ष्य होल्डिङ्स, लाफा ग्रुप, लक्ष्मी स्टिल्स, मेडिकेयर हस्पिटल, मेरोजब, माउन्ट ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पा, नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर, नेपाल जलविद्युत् प्रवद्र्धन तथा विकास, ओभरसिज नेप्लिज इन्भेस्टमेन्ट कम्पनी, पाल्पा सिमेन्ट, सोपान मल्टिपल कम्पनी, ट्रेड टावर र त्रिशक्ति सेक्युरिटिज दुई सय रुपैयाँसम्ममा किनबेच भएको देखिन्छ । 

नेसनल फुड म्यानेजमेन्ट प्रतिकित्ता ५२.४३ रुपैयाँ र ग्रिन गोर्खा इनर्जी १० रुपैयाँमै कारोबार भएको तथ्यांकले देखाएको छ ।

११ कम्पनीको कारोबार दुई सय रुपैयाँभन्दा बढी मूल्यमा भएको देखिन्छ । जसमा काठमाडौं मेडिकल कलेज तीन सय रुपैयाँमा पनि किनबेच भएको देखिन्छ । मौलाकालिका केबलकार तीन सय रुपैयाँमा किनबेच भएको छ । एनआइसी एसिया क्यापिटल ५५० रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा बढी मूल्यमा वर्ल्ड लिंक कम्युनिकेसन बिक्री भएको छ । यसको मूल्य प्रतिकित्ता नै नौ हजार ३७५ रुपैयाँ कायम छ । काठमाडौं फरेस्ट्री कलेज त दुईपटक दुई मूल्यमा कारोबार भएको छ । एकपटक एक हजार २०.७७ रुपैयाँ र अर्काेपटक एक हजार ८५.५ रुपैयाँमा कारोबार भएको छ । लर्डबुद्ध एकेडेमी ५४० रुपैयाँमा किनबेच भएको छ । लिटमस इन्डस्ट्रिज २९ रुपैयाँमा, डियरवाक ग्रुप २५०, सिआन सिड सर्भिसेज सेन्टर २४५ रुपैयाँ र पाल्पा सिमेन्ट २३२ रुपैयाँमा कारोबार भएको नेप्सेले जानकारी दिएको छ । कतिपय अवस्थामा एउटै कम्पनी पनि फरक–फरक मूल्यमा किनबेच भएका छन् ।