१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १४ बुधबार
  • Wednesday, 30 October, 2024
सुवास भट्ट काठमाडाैं
२o८१ कार्तिक १४ बुधबार o६:४o:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

गृह प्रशासनमा बेथिति : सहसचिवको दरबन्दी रहेका १० जिल्लामा उपसचिवलाई सिडिओको जिम्मेवारी

गृहमै चार सहसचिव जिम्मेवारीविहीन, तर राजनीतिक निकटता र पहुँचका आधारमा कनिष्ठलाई दरबन्दीविपरीत जिम्मेवारी 

Read Time : > 2 मिनेट
सुवास भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक १४ बुधबार o६:४o:oo

- सहसचिवको दरबन्दी भए पनि डोटी, बैतडी, डडेल्धुरा, अछाम, जुम्ला, दैलेख, सल्यान, प्युठान, अर्घाखाँची र रामेछापमा उपसचिव सिडिओ 

सरकारले नै सहसचिव दरबन्दी तोकेका १० जिल्लामा गृह मन्त्रालयले उपसचिवलाई सिडिओ बनाएर खटाएको छ । जब कि, गृहमै चार सहसचिव जिम्मेवारीविहीन छन् । 

गृह मन्त्रालयका अनुसार हाल डोटी, बैतडी, डडेल्धुरा, अछाम, जुम्ला, दैलेख, सल्यान, प्युठान, अर्घाखाँची र रामेछापमा उपसचिव सिडिओ छन् । यी जिल्लामा सहसचिवको दरबन्दी छ । अक्सर राजनीतिक दलनिकट र पहुँचका आधारमा कनिष्ठ कर्मचारीलाई दरबन्दीविपरीत सिडिओको जिम्मेवारी दिने विकृति छ । 

गत ७ कात्तिकमा मन्त्रालयअन्तर्गत २७ सहसचिव र उपसचिवको सरुवा गर्दा गृहले सहसचिवको दरबन्दी रहेका डोटी र बैतडीमा उपसचिव पठाएको थियो । डोटीमा मोहनराज जोशी र बैतडीमा दीर्घराज उपाध्यायलाई सरुवा गरिएको छ । त्यसअघि गत असोजमा जुम्लाको सिडिओ बनाएर उपसचिव रामबहादुर शाहीलाई पठाइयो । सहसचिव दरबन्दी भएको जिल्लामा उनी ९ असोजदेखि कार्यरत छन् । 

उपसचिव नवराज जैशी पनि गत ७ असोजदेखि सहसचिवको दरबन्दीमा सिडिओ बनेर दैलेखमा कार्यरत छन् । यसअघि सहसचिव नै सिडिओ रहेको रामेछापमा उपसचिव राजु पौडेललाई पठाइएको छ । उनी गत ६ असोजदेखि सिडिओ छन् । 

सहसचिव नै दरबन्दी रहेको प्युठान र अर्घाखाँचीमा पनि उपसचिव सिडिओ छन् । प्युठानमा उपसचिव रमादेवी आचार्य सुवेदी ३१ भदौदेखि र अर्घाखाँचीमा उपसचिव बाबुराम अर्याल ३० भदौदेखि सिडिओका रूपमा कार्यरत छन् । त्यस्तै, डडेल्धुरामा उपसचिव चोमेन्द्र न्यौपाने २४ भदौदेखि, अछाममा उपसचिव शिवप्रसाद लम्साल २४ वैशाखदेखि र सल्यानमा अघिल्लो वर्षको १६ पुसदेखि उपसचिव शम्भुप्रसाद रेग्मी सिडिओ छन् । 

प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज खटाउनेसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८० ले पदस्थापन वा सरुवा गर्ने वा काजमा खटाउने प्रयोजनका लागि जिल्लाको वर्गीकरण र आधारसम्बन्धी व्यवस्था गरेको छ । कार्यविधिको दफा ६ मा राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) को प्रमुख जिल्ला अधिकारीको पदमा पदस्थापन वा सरुवा गरिने वा काजमा खटाउने प्रयोजनका लागि ६१ जिल्लालाई वर्गीकरण गरेको छ । अर्थात् ६१ जिल्लामा सहसचिवको दरबन्दी तोकिएको छ । यसबाहेकका १६ जिल्लामा उपसचिवको दरबन्दी छ । 

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जिल्लाको आवश्यकता र कर्मचारीको उपलब्धताका आधारमा जिम्मेवारी तोकिएको र व्यवस्थापन गरिएको बताउँछन् । ‘सकेसम्म दरबन्दीअनुसार नै पदस्थापन गर्ने गरी मन्त्रालयले गृहकार्य गरेको छ,’ तिवारीले नयाँ पत्रिकासँग भने । कतिपय कर्मचारी भर्खर सरुवा भएर आएकाले निकट भविष्यमै व्यवस्थापन हुने उनले बताए । 

गृहमै छन् चार सहसचिव जिम्मेवारीविहीन 
मन्त्रालयले एक तह कनिष्ठलाई सिडिओ बनाएर पठाइरहँदा अहिले गृहमै चार सहसचिव जिम्मेवारीविहीन छन् । पछिल्लोपटक गत ७ कात्तिकमा सरुवा भएर आएकासहित अहिले चार उपसचिव अतिरिक्तमा छन् । अतिरिक्तमा रहेका सहसचिवमा सूर्यप्रसाद सेढाईं, इन्द्रदेव यादव, तुलसीबहादुर श्रेष्ठ र शशिधर घिमिरे छन् । उनीहरू विभिन्न जिल्लाबाट सरुवा भएर मन्त्रालयमा आएका हुन् ।  

दुई–तीन महिनामै सिडिओको सरुवा 
विशेष परिस्थितिमा बाहेक एउटा जिल्लामा सिडिओको कामकाज गर्ने अवधि सामान्यतया एक वर्षको हुने मन्त्रालयको सरुवासम्बन्धी कार्यविधिमा छ । तर, मन्त्रालयले नै छिटोछिटो अस्वाभाविक सरुवा गरेर थिति बिगारेको छ । पछिल्लो समय भूपेन्द्र थापा, इन्द्रदेव यादव र उमाकान्त अधिकारीलगायतका सिडिओे छिटो समयमै सरुवा भएका छन् । गत २३ जेठमा सिन्धुपाल्चोकको सिडिओ बनेर गएका सहसचिव थापाको ३१ साउनमै सरुवा गरिएको थियो । २३ जेठमा चितवनको सिडिओ बनेर गएका यादव गत ८ कात्तिकमा सरुवा भएर हिँडे । त्यस्तै, गत १३ असारमा सिडिओ बनेर जाजरकोट पुगेका उपसचिव अधिकारीको गत साता सरुवा भइसकेको छ । शान्तिसुरक्षाको अवस्था बिग्रिन गए, सिडिओ लामो समय कार्यालयमा अनुपस्थित भएको र गम्भीर स्वास्थ्य अवस्थामा, विभागीय कारबाहीको सिफारिस, आचरण तथा अनुशासनसम्बन्धी प्रश्नलगायतलाई विशेष अवस्थाका रूपमा व्याख्या गरिएको छ । तर, स्पष्ट कारणविनै गृह मन्त्रालयले सिडिओ सरुवा गर्ने गरेको आरोप छ । 

कार्यविधि मिचेर गृहजिल्लामै सिडिओ 
गृह मन्त्रालयको सिडिओ पदस्थापन वा सरुवा कार्यविधिमा गृहजिल्लामा कर्मचारीलाई सिडिओ बनाएर खटाउन रोकेको छ । कार्यविधिको दफा ५ (ङ) मा ‘कर्मचारीको स्थायी ठेगाना भएको जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा पदस्थापन, सरुवा गर्न वा काजमा खटाइनेछैन’ भन्ने व्यवस्था छ । तर, गृह मन्त्रालयले हालै गरेको सरुवामा दुईजनालाई गृहजिल्लाकै सिडिओ बनाएर पठाएको छ । गृहजिल्लाकै कर्मचारीलाई सिडिओको जिम्मेवारी तोकेर पठाउँदा स्वार्थ बाझिने जोखिम हुने र अपराध अनुसन्धान, शान्तिसुरक्षालगायतमा प्रतिकूल असर पुग्ने यससम्बन्धी अधिकारीहरू बताउँछन् । 

गृहले सिडिओका रूपमा महोत्तरीमा सरुवा गरेका सहसचिव लालबाबु कवारी त्यसै जिल्ला स्थायी ठेगाना भएका व्यक्ति हुन् । उनी विवादित सहसचिव हुन् । सिराहाको सिडिओ हुँदा जग्गासम्बन्धी विषयमा बिचौलियामार्फत घुस बार्गेनिङ गरेको आरोप उनीमाथि लागेको थियो । यही आरोपउपर गृह मन्त्रालयले उनीमाथि छानबिन पनि गरेको थियो । आरोपबिच गोरखाको सिडिओ बनाएर पठाएपछि गृह मन्त्रालयले रमाना लिन नपाउँदै उनको सरुवा रद्द गरेको थियो । तर, उनीमाथिको छानबिन अझै पनि टुंगोमा पुगेको छैन । 

यही ७ असोजदेखि दैलेखमा सिडिओका रूपमा कार्यरत नवराज जैशी पनि त्यही जिल्ला स्थायी ठेगाना भएका कर्मचारी हुन् । जैशीलाई पनि मन्त्रालयले गृहजिल्लामै सिडिओ बनाएर पठाएको छ । हाल नुवाकोटको सिडिओमा कार्यरत सहसचिव रामकृष्ण अधिकारी पनि नुवाकोट स्थायी ठेगाना भएका हुन् ।