१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २० मंगलबार
  • Tuesday, 05 November, 2024
२o८१ कार्तिक २० मंगलबार १o:१८:oo
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

उपनिर्वाचन : उम्मेदवार छनोटमा केन्द्रित दलहरू

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २० मंगलबार १o:१८:oo

स्थानीय तह उपनिर्वाचनका लागि कांग्रेसले तोक्यो कमान्डर, चुनावमा होमिन स्थानीय कमिटीलाई एमालेको निर्देशन, २६ कात्तिकसम्म उम्मेदवार टुंग्याउन माओवादीको सर्कुलर

आगामी १६ मंसिरमा ४२ पदका लागि स्थानीय तहको उपनिर्वाचन हुँदै छ । मनोनयन दर्ताको मिति नजिकिँदै गर्दा प्रमुख दलहरू उम्मेदवार छनोटमा केन्द्रित भएका छन् । निर्वाचन आयोगको कार्यतालिकाअनुसार मनोनयन दर्ताका लागि १२ दिन मात्र बाँकी छ । आयोगका अनुसार जिल्ला समन्वय समिति प्रमुख दुई, नगरपालिकाका मेयर र उपमेयर एक–एक, गाउँपालिका अध्यक्ष दुई, गाउँपालिका उपाध्यक्ष चार र ३२ वडाध्यक्ष गरी ४२ पदमा निर्वाचन हुँदै छ । ०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा कांग्रेसले २५ स्थान, एमालेले आठ, माओवादीले सात, जसपाले एक र एक स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन् ।

कांग्रेसले दुई जिल्ला समन्वय समिति प्रमुख, एक नगरपालिकाका मेयर, एक उपमेयर, दुई गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र १७ वडाध्यक्ष जितेको थियो । तत्कालीन समयमा कांग्रेस–एमाले गठबन्धन गरेर निर्वाचनमा होमिएका थिए । यसपटक कांग्रेसले गठबन्धन नगर्ने नीति लिएको छ । परिवर्तित परिस्थितिमा उपनिर्वाचन दलहरूको शक्ति परीक्षणको आधार बन्ने भएकाले पनि कांग्रेसका लागि आफूले पाएको मत जोगाउनु प्रतिष्ठाको विषय बनेको छ । सबै आधारमा निर्वाचन तयारी थालिएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले महामन्त्री शर्मालाई तोक्यो कमान्डर, उम्मेदवार सिफारिसको प्रक्रियामा 
कांग्रेस सहमहामन्त्री जीवन परियारका अनुसार उपनिर्वाचनलाई प्राथमिकतामा राखेर केन्द्रबाटै परिचालित गरेर परिणाम ल्याउने रणनीतिअनुसार तयारी अगाडि बढाइएको छ । यसका लागि केन्द्रमा निर्वाचन परिचालनका लागि विशेष समिति र तल्लो तहबाट योग्य उम्मेदवार छनोट गरी सिफारिसको तयारी भइरहेको उनले बताए । ‘थोरै ठाउँमा उपनिर्वाचन हुँदै छ । तर, अधिकांश हामीले परिणाम ल्याएका स्थान हुन् । स्थानीय तह भए पनि निर्वाचनलाई कम आँक्न मिल्दैन । केन्द्रबाट पार्टीलाई परिचालित गरेर परिणाम ल्याउन केीन्द्रत छौँ,’ उनले भने, ‘केन्द्रमा संयोजन समितिको बैठक बसेर रणनीति बनाउँदै छौँ । स्थानीय तहमा उम्मेदवार सिफारिसका लागि परिपत्र भइसकेको छ ।’ 

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार निर्वाचन परिचालनका लागि महामन्त्री विश्वप्रकाश शर्मा संयोजकत्वमा चार सहमहामन्त्री र तीन केन्द्रीय सदस्य रहेको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समिति गठन भएको छ । समितिमा सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव र जीवन परियार तथा केन्द्रीय सदस्यहरू डा. प्रकाशशरण महत, पुष्पा भुसाल, मीन विश्वकर्मा र मधु आचार्य सदस्य छन् । प्रकाश शर्मालाई समितिको सदस्यसचिवको जिम्मेवारी तोकिएको छ । 

कांग्रेस स्थानीय तह समन्वय विभाग प्रमुख मधु आचार्यले उम्मेदवारको टुंगो लगाउने काम भइरहेको बताए । स्थानीय तह निर्वाचन प्रत्यक्ष रूपमा जनस्तरमा जोडिने र आगामी निर्वाचनका लागि समेत अर्थ राख्ने भएकाले कांग्रेसले उच्च प्राथमिकतामा राखेको उनको भनाइ छ । ‘यसअघि हामीले निर्वाचनमा गठबन्धन गरेका थियौँ । अहिले एकल प्रतिस्पर्धामा रहँदा मतदाताको रुझान के रहेछ भन्ने अध्ययनको विषय बन्छ । आगामी आमनिर्वाचनमा यसको अर्थ रहन्छ,’ उनले भने, ‘पहिलो फेजमा उम्मेदवार निर्धारण गर्दै छौँ । विधानको व्यवस्थाअनुसार उम्मेदवार सिफारिसका लागि तहगत रूपमा २० कात्तिकसम्मको समय निर्धारण गरेर परिपत्र गरिसकेका छौँ । कतिपय स्थानमा सर्वसम्मत उम्मेदवार चयन भएका छन् । कतिपयमा तल्लो समितिबाट माथिल्लो समितिमा सिफारिस आएका छन् । यही आधारमा २१ कात्तिकमा बस्ने समन्वय समिति बैठकमा सूचना संकलन, विश्लेषण गरेर आवश्यक निर्णय र कार्यविभाजन गछौँ ।’

कीर्तिपुर नगरपालिका मेयरका लागि उपनिर्वाचन हुन लागेको एक मात्र नगर हो । उपत्यकाकै नगर भएकाले सबै दलको ध्यान यसतर्फ केन्द्रित छ । कीर्तिपुरमा गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट राजकुमार नकर्मी निर्वाचित भएका थिए । लामो समयदेखि मिर्गौला रोगबाट पीडित उनको गत १० साउनमा निधन भएको थियो । कीर्तिपुरमा कांग्रेस नगर सभापति कृष्णमान डंगोल, जमुना नकर्मी, हिमाल कार्की, बद्रीलाल महर्जनको चर्चा छ । यसमध्ये डंगोलको सम्भावना बढी रहेको नेताहरू बताउँछन् । डंगोल तीनपटक कांग्रेसको नगर सभापति बनिसकेका छन् । बद्रीलाल पूर्वनगर सभापति तथा कांग्रेसका पुराना नेतामध्येका हुन् । जमुना दिवंगत मेयर नकर्मीकी पत्नी हुन् । कार्की कांग्रेस काठमाडौं जिल्ला सदस्य हुन् । 

धमाधम उम्मेदवार छान्दै एमाले, सिट थप्ने रणनीति 
कीर्तिपुरमा डा. मानन्धरको नाम सर्वसम्मत, तीन पालिका उपप्रमुखमा एकल उम्मेदवार सिफारिस, वडाका उम्मेदवार छानिए 
स्थानीय तहको उपनिर्वाचनका लागि एमालेले बहुसंख्यक स्थानमा उम्मेदवारको नाम टुंगो लगाएको छ । कीर्तिपुर नगरपालिका मेयरमा डा. सुरेन्द्र मानन्धरको नाम सिफारिस भएको छ । कीर्तिपुर नगर कमिटीबाटै उनको नाम जिल्लामा सर्वसम्मत सिफारिस भए पनि अन्तिम निर्णय भने बागमती प्रदेश कमिटीले गर्न बाँकी छ । एकल नाम सिफारिस भएपछि मानन्धरले चुनावी प्रचार अभियान अगाडि बढाएका छन् । एमाले केन्द्रीय सदस्यसमेत रहेका मानन्धर अघिल्लो निर्वाचनमा काठमाडौं १० अन्तर्गत प्रदेश सभा सदस्यको उम्मेदवार बनेर पराजित भएका थिए । 

केन्द्रीय सदस्य तथा निर्वाचन विभाग प्रमुख नीरज आचार्यले वडाध्यक्षका उम्मेदवारहरूको नाम जिल्ला कमिटीहरूले टुंगो लगाइसकेको जानकारी दिँदै २३ कात्तिकभित्र सबै नाम केन्द्रीय कार्यालयमा आइपुग्ने बताए । उनका अनुसार निर्वाचन हुन लागेका पालिकाहरूमध्ये दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा उमा शेर्पा मगर, जाजरकोटको नलगाड गाउँपालिका उपाध्यक्षमा सुनिता बोहोराको नाम टुंगो लागेको छ । बाजुराको बुढीगंगा, दैलेखको महावु, पूर्वी रुकुमको पुथा उत्तरगंगामा पनि मंगलबार बेलुकीसम्म एकल नाममै टुंगो लाग्ने गरी गृहकार्य भइरहेको पनि आचार्यले बताए ।

एमालेले आफूले जितेका सातवटै वडा सुरक्षित गर्दै बहुसंख्यक स्थानमा जित्ने गरी केन्द्रीयस्तरबाट नीति र योजना बनाएको छ । ‘हामी पहिले निर्वाचित स्थानको क्षतिपूर्तिका लागि होइन, सबै स्थानमा जित्नका लागि चुनाव लड्दै छौँ र परिणामबाटै एमाले पहिलो दल हो भन्ने सन्देश दिन चाहन्छौँ’, आचार्यले भने, ‘त्यसअनुसार नै योजना र रणनीति बनाएर चुनावी कार्यक्रममा होमिन तलका सबै तहका कमिटीहरूलाई निर्देशित गरिएको छ ।’ एमालेले बहुसंख्यक स्थानमा चुनाव जित्ने रणनीतिसहित सबैजसो स्थनमा चुनाव हुने स्थानीय तहको कमिटीबाटै सर्वसम्मत उम्मेदवार छनोट गरेर चुनावी प्रचार बढाउने नीति अख्तियार गरेको छ । कतै पनि सहकार्य वा गठबन्धन नगर्ने उसको नीति छ । यसअघि केन्द्रीय कार्यालयले १५ कात्तिकभित्र वडाध्यक्ष र २० कात्तिकभित्र प्रमुख÷उपप्रमुखको उम्मेदवार टुंगो लगाएर २३ कात्तिकभित्र केन्द्रीय कार्यालयलाई जानकारी पठाउन जिल्ला र प्रदेश कमिटीलाई एमालेले निर्देशन दिएको थियो । 

माओवादीमा उम्मेदवार छान्ने जिम्मा स्थानीय कमिटीलाई
माओवादीले उम्मेदवार छान्ने जिम्मा स्थानीय कमिटीलाई दिएको छ । वडा तहसम्मको निर्णय गर्ने जिम्मा पालिकालाई दिएको छ भने पालिकास्तरको उम्मेदवार पालिका हुँदै जिल्लामार्फत प्रदेश कमिटीले टुंग्याउने तयारी छ । ‘उपनिर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा स्थानीय कमिटीलाई नै दिएका छौँ,’ माओवादी कोषाध्यक्ष श्रीराम ढकालले भने, ‘वडा तहसम्मको पालिकाले नै निर्णय गर्छ । पालिकास्तरको पालिकाको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्छ ।’ २६ कात्तिकसम्म उम्मेदवार टुंग्याएर नाम पठाउन माओवादीले निर्देशन दिएको छ । ‘पालिका र प्रदेश कमिटीले टुंग्याएको नाममा टिकट दिन्छौँ,’ उनले भने । ढकालले उपनिर्वाचनमा तालमेल नगर्ने बताए । ‘हामी एक्लै निर्वाचन लड्छौँ । सबै जिम्मा तल्ला कमिटीलाई दिएका छौँ,’ उनले भने ।

मुख्य ठाउँमा मात्र रास्वपाका उम्मेदवार, कीर्तिपुरमा राप्रपाबाट महर्जन
संसद्को चौथो दल रास्वपाले उपनिर्वाचन हुन लागेकामध्ये केही मुख्य स्थानहरूमा मात्र उम्मेदवारी दिने गरी आन्तरिक तयारी गरेको छ । सभापति रवि लामिछाने पक्राउ परेपछि ध्यान आन्दोलनमा केन्द्रित हुँदा संगठन विस्तार प्रभावित भएकाले केही मुख्य स्थानमा मात्र उम्मेदवारी दिने तयारीमा रहेको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए । उनले मापदण्डका कारण उम्मेदवारी सम्भव नभएका स्थानहरूमा गैरदलीय स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने पार्टीको नीति रहेको पनि बताए । स्थानीय तहको उपनिर्वाचन परिचालनका लागि रास्वपाले नेता गणेश पराजुलीको नेतृत्वमा अलग्गै परिचालन समिति बनाएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले कीर्तिपुर नगर प्रमुखमा ध्रुव महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । केन्द्रको परामर्शमा स्थानीय कमिटीले इन्जिनियर महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनले उपनिर्वाचन हुने अन्य स्थानमा पनि केन्द्रको परामर्शमा केही दिनभित्रै उम्मेदवारहरूको नाम टुंगो लाग्ने बताए ।