युवा गजलकार विनोद अनुज द्वारिका नेपाल स्मृति गजल पुरस्कारबाट पुरस्कृत भएका छन्। गजल मञ्च चितवनको नवौँ अधिवेशनमा सोमबार गजलकार अनुज पुरस्कृत भएका हुन्।
अधिवेशन उद्घाटन समारोहका प्रमुख अतिथि गजल मञ्च चितवनका पूर्वअध्यक्ष प्रभाकर पण्डितले गजलकार अनुजलाई सम्मानपत्रसहित पुरस्कार वितरण गरे। गजल मञ्चको अध्यक्ष भइरहँदा ०७८ साल असोजमा दिवंगत भएका द्वारिका नेपालको स्मृतिमा गजल मञ्चले पुरस्कार स्थापना गरेको थियो।
भरतपुर– ५ आनन्दपुर घर भई हाल अस्ट्रेलियामा रहेका डिला खरेलले यो पुरस्कार सौजन्य गरेका हुन्। पुरस्कारको राशि २५ हजार रुपैयाँ छ। पुरस्कृत स्रष्टा अनुजले कार्यक्रममा केही गजल सुनाएका थिए। उनले पुरस्कारबापत पाएको सबै रकम भरतपुर– ४ धर्मचोक, लंकुमा रहेको ज्ञानज्योति पुस्तकालयको भवन निर्माणका लागि हस्तान्तरण गरेका छन्। पुस्तकालयका अध्यक्ष गोविन्द कँडेललाई पुरस्कृत स्रष्टा अनुजले उक्त रकम कार्यक्रम स्थलमै बोलाएर हस्तान्तरण गरे।
मञ्चका अध्यक्ष लेखराम सापकोटाको अध्यक्षतामा सम्पन्न अधिवेशन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रभाकर पण्डितले विभिन्न कालखण्डमा गजल मञ्चमा सक्रियतापूर्वक लागेर गजलको उत्थान र संरक्षणमा भूमिका खेलेका अनुजलाई यो पुरस्कार प्राप्त हुनु खुसीको कुरा भएको बताए। मञ्चका संस्थापक अध्यक्ष धनराज गिरी, कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीलगायतले मन्तव्य व्यक्त गरेका थिए। पुरस्कृत स्रष्टा अनुजले पुरस्कारले आफूलाई गजल क्षेत्रको विकासका लागि अझै जिम्मेवार बनाएको बताए।
द्वारिका नेपाल स्मृति गजल पुरस्कार २०७९ सालमा मुक्त उदास र २०८० सालमा कमल अर्यालले प्राप्त गरिएकाे थियाे । नवौँ अधिवेशन कार्यक्रममा पूर्वअध्यक्षहरू किसान प्रेमी, ऋषिप्रसाद लामिछाने, रमेश प्रभात, पुष्प अधिकारी अञ्जली, धनराज गिरीसहित आजीवन सदस्यहरूको उपस्थिति थियो।