नेकपा एमाले कञ्चनपुरका एक जिल्ला सदस्यसहित तीन नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मंगलबार एक कार्यक्रमबिच एमाले जिल्ला सदस्य राजेन्द्र आग्री, निवर्तमान जिल्ला सदस्य कमल नेपाली र महिला नेतृ सुजता नेपाली माओवादी केन्द्र प्रवेश गरेका हुन् ।
एमालेका तीनैजना नेता–कार्यकर्तालाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसहितका नेता–कार्यकर्ताले पार्टीमा स्वागत गरेका छन् । एमाले नेतात्रय राजेन्द्र, कमल र सुजाताले संयुक्त रूपमा हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा दलित, विपन्न समुदायको उन्मुक्ति माओवादी आन्दोलनबाट मात्रै सम्भव भएकाले आजैका मितिदेखि एमाले परित्याग गरेर माओवादी केन्द्र प्रवेश गरेको घोषणा गरे।
एमाले जिल्ला सदस्य राजेन्द्र आग्री आगामी १६ मंसिरमा भीमदत्त नगरपालिका– ६ मा वडाध्यक्षका लागि हुने उपनिर्वाचनका लागि एमाले वडाबाट आकांक्षी उम्मेदवार हुन् ।
दलित समुदायबाट एमालेले वडाध्यक्षका लागि सिफारिस गरेको भन्दै एमालेसहितका अन्य दलका दलित नेता–कार्यकर्ता एवं दलित समुदाय हर्षित भएका थिए। अन्ततः टिकट नदिएपछि उनीसहित एमालेका दलित नेता कार्यकर्ताहरू रुष्ट थिए। जातीय उत्पीडनमा परेका दलित समुदायको उत्थानका लागि माओवादी केन्द्रबाट मात्रै सम्भव हुने अन्य दलले दलित प्रयोग गर्ने भन्दै वडाबाट सिफारिस भएपछि जिल्लाबाट काटिएपछि दलित समुदाय चिन्तित भएका थिए ।
यसअघि पनि माओवादीबाटै एमालेमा प्रवेश गरेका पूर्वनेताहरूलाई उचित जिम्मेवारी दिइने नेकपा माओवादी केन्द्र कञ्चनपुरले जनाएको छ ।