१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १५ बिहीबार
  • Thursday, 31 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक १५ बिहीबार o६:२७:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

लामिछानेको संलग्नता पुष्टि भएन, अनुसन्धानको बहानामा निरन्तर  हिरासतमा राख्नु प्रतिशोध : रास्वपा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक १५ बिहीबार o६:२७:oo

राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई अनुसन्धानको बहानामा निरन्तर हिरासतमा राख्नु प्रतिशोध भएको टिप्पणी गरेको छ । 

रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले बुधबार विज्ञप्ति जारी गरेर संसदीय छानबिन समितिले नै लामिछाने सहकारीको बचत अपचलनमा संलग्न नरहेको र सहकारीबाट ऋणसमेत नलिएको प्रतिवेदन दिएको, तर राजनीतिक प्रतिशोध साधेर बदनियत राखी सरकारले पक्राउ गरी हिरासतमा राखेको उल्लेख गरेका छन् । 

‘यो पक्राउ प्रकरणमा राजनीतिक प्रतिशोध र बदनियत देखिएकाले पक्राउपश्चात् देशका विभिन्न क्षेत्रहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य, शुभचिन्तक तथा न्यायप्रेमी नागरिकहरूले विरोध प्रदर्शन गरिरहेका छन् । उक्त विरोध र आन्दोलन कुनै आधार र कारण नै नभई गैर–कानुनी रूपमा निर्दोष व्यक्तिलाई पक्राउ गर्ने राजनीतिक पूर्वाग्रह र प्रतिशोधको खेलविरुद्ध हो भन्ने सबैमा स्पष्ट पार्न चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

सहकारी ठगी प्रकरणमा लामिछानेलाई २ कात्तिकमा पार्टी केन्द्रीय कार्यालय वनस्थलीबाट पक्राउ गरेपछि रास्वपाका नेता–कार्यकर्ताले राजनीतिक प्रतिशोध भन्दै प्रदर्शन गर्दै आएका छन् । सुरुमा ६ दिन म्याद थपिएकामा लामिछानेलाई गत बिहीबार दोस्रोपटक सात दिनका लागि म्याद थपिएपछि रास्वपाले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ । लामिछाने हाल कास्की प्रहरी हिरासतमा छन् । 

रास्वपाले सहकारी ठगीमा लामिछानेको कतै पनि प्रत्यक्ष संलग्नता नदेखिए पनि संगठित अपराधसँग जोड्नु बदनियत भएको उल्लेख गरेको छ । ‘सहकारीमा बचत रकम हिनामिना, अपचलन वा ठगी गर्न सक्ने भनेको केवल सहकारीका सञ्चालक, व्यवस्थापक, ठुला ऋणी र कर्मचारीको मिलोमतोमा मात्र हो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर, रवि लामिछाने कुनै पनि सहकारीको सञ्चालक, व्यवस्थापक, ऋणी वा कर्मचारी नभएकाले सहकारीमा उहाँको पहुँच पुग्नै सक्दैन । यस विवादित विषयलाई संगठित अपराधसँग पनि जोडिएको छ ।’

रास्वपाले गोर्खा मिडिया नेटवर्कमा सहकारीको पैसा आएको सन्दर्भमा ‘कम्पनी र कम्पनीको दायित्वसम्बन्धी प्रतिपादित विश्वव्यापी सिद्धान्तअनुसार कम्पनीका निर्देशक, सेयरधारक, कर्मचारी र एजेन्टहरू अलग कानुनी व्यक्ति मानिने र यसबाट उत्पन्न दायित्व निर्देशक, सेयरधारकको नभई कम्पनीको मात्र हुने’मा स्पष्ट हुनुपर्ने पनि भनेको छ । ‘कम्पनीको साझेदार ठग, चोर, डाँका, ज्यानमारा हुँदा त्यसका आधारमा कम्पनीमा संलग्न सबै साझेदार अपराधी करार हुँदैन,’ विज्ञप्तिमा भनिएको छ । 

कम्पनीको सिद्धान्तअनुसार पनि जुन व्यक्तिले गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट पैसा लिई आफ्नो तर्फको ऋणस्वरूप गोर्खा मिडिया नेटवर्कमा दिने काम ग¥यो, सोही व्यक्तिले सजाय पाउने भन्दै रास्वपाले सहकारीबाट पैसा ल्याउने काम जिबी राईले गरेको स्पष्ट रहेकाले उक्त अपचलनबापतको सजाय पाउने पनि राईले नै भएको जिकिर गरेको छ ।