सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगेपछि सो पार्टीका नेता तथा कार्यकर्ता निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि भन्दै नाराबाजीसहित प्रदर्शनमा उत्रेको रास्वपा टोली सिर्जनाचोक हुँदै निषेधित क्षेत्र वाईचोकतर्फ जाने क्रममा प्रहरीले रत्नचोकबाट तल आउन नदिन तीन राउन्ड अश्रुग्यास प्रहार गरेको हो।
चेतावनीका बाबजुद निषेधित क्षेत्र तोड्न खाेज्दै प्रहरीलाई ढुंगा र पानीको बोतल प्रहार गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। प्रहरीले प्रदर्शनमा सहभागी एक महिलालाई पक्राउ गरेको छ।
लामिछानेलाई पक्राउ गरेर पोखरा ल्याएसँगै पक्राउको पक्ष र विपक्षमा प्रदर्शन र नाराबाजी गर्ने तयारी भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले ४ कात्तिकमा पोखराका दुई स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको थियो। कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले ४ कात्तिक बिहान ११ः४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि भन्दै स्थानीय प्रशासन ऐन, २०२८ (संशाेधनसहित) को दफा ६ को उपदफा ३(क) बमोजिम सहिदचोकआसपासका क्षेत्र र जिल्ला प्रहरी कार्यालय रहेको पोखरा– ४ गैह्रापाटनआसपासका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेका थिए।
जसअनुसार सहिदचोकको पूर्वतर्फ वाईचोक, उत्तर–पूर्वतर्फ मिलनचोक, पश्चिमतर्फ फिस्टेल गेट, उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ मुस्ताङचोक, दक्षिण पश्चिमतर्फ पर्यटन बाेर्डको कार्यालय, ड्यामसाइडसम्म गरी चार किलोमिटर क्षेत्रसँगै गैह्रापाटनतर्फ पालिखेचोकदेखि नवीन माविसम्मको सडक क्षेत्रमा निषेधाज्ञा जारी छ। प्रहरीले निषेधित क्षेत्र घोषणा गरिएको स्थानमा आज सवारीसाधन प्रवेशमा समेत रोक लगाएको छ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई तेस्रो र गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्षसमेत रहेका पूर्वडिआइजी छविलाल बन्जाडे जोशीलाई पाँचौँपटक म्याद थपका लागि अदालत लगिएको हो। प्रहरीले लामिछानेलाई २ कात्तिकमा काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा ल्याएर ४ गते पहिलोपटक ६ दिन म्याद थप गरेको थियो भने ८ कात्तिमा सात दिन म्याद थप गरेको थियो। जोशीलाई प्रहरीले ६ असोजमा काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याएको थियो। जोशीलाई यसअघि पहिलोपटक पाँच, दोस्रोपटक सात, तेस्रोपटक २० र चौथोपटक सात दिन म्याद थप गरिएको थियो।
लामिछाने र जोशीसँगै प्रहरीले गुल्मीको मुसिकोट नगरपालिका– ४ घर भई हाल ललितपुरको ललितपुर महानगरपालिका– १५ खुमलटार बस्ने वर्ष ३२ की लीला पछाईसँगै नेचर हर्ब्स इन्टरनेसनल प्रालि र गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका सञ्चालन एवं सेयरधनी तनहुँस्थित भानु नगरपालिका– ८ बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाललाई म्याद थपका लागि अदालत लगेको हो।