१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १४ बुधबार
  • Wednesday, 30 October, 2024
डा. ध्रुव बी. खड्का
२o८१ कार्तिक १४ बुधबार o८:१३:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

‘इन्नोभेसनको नर्सरी’ जगाउने कसरी ? 

Read Time : > 5 मिनेट
डा. ध्रुव बी. खड्का
नयाँ पत्रिका
२o८१ कार्तिक १४ बुधबार o८:१३:oo

विद्यालय संरचनामा विशेष व्यवस्था गरेर वैज्ञानिक चिन्तनको जग निर्माण गर्न सरकारले टास्कफोर्स बनाएर काम गर्नुपर्छ

न् २०२४ को भौतिक तथा रसायनशास्त्रको विधागत नोवेल पुरस्कार ‘आर्टिफिसियल इन्टेलिजेन्स(एआई)’को क्षेत्रमा योगदान गर्ने वैज्ञानिकहरूलाई प्रदान गरिएको छ । भौतिकशास्त्रतर्फको यो वर्षको नोवेलले ‘इन्नोभेसन र कोर विज्ञान’लाई एकाकार गर्ने वैज्ञानिक कर्मलाई अभिप्रेरणा गरेको छ । विज्ञानले परीक्षण र नियमित परिष्करणको विश्वासिलो जगमा आधुनिक सभ्यताका नयाँनयाँ संवाहक आविष्कार गरिरहेको छ । नवप्रवर्तन र आविष्कारको जगमा अनन्त ब्रहमाण्डमा अर्काे सजीव सभ्यताको खोज गरिरहेको छ । ज्ञान तथा विज्ञानमा अग्रणी देशहरूले कसरी वैज्ञानिक सिल्क रोड बनाइरहेका छन् ? अनि हामी किन चुकिरहेका छौँ ? यो आलेखमा बहस गर्न खोजिएको छ ।

सन् १७१२ ताका ब्रिटिस इन्जिनियर थोमस न्युकोमेनले आविष्कार गरेको पहिलो वाष्प इन्जिनलाई सुप्रसिद्ध मेकानिकल इन्जिनियर जेम्स वाटले सन् १७६० मा इन्नोभेसनमार्फत परिष्कृत गरे । योसँगै औद्योगीकरणले गति लियो र ब्रिटिस साम्राज्यसँगै विश्वभर फैलियो । औद्योगिक क्रान्तिले वाष्प इन्जिनको आविष्कारसँगै इन्नोभेटिभ छलाङ मारेजस्तै औद्योगिक क्रान्तिले प्रविधि विकासमा नयाँ उभार ल्यायो । नयाँ आविष्कारका लागि विश्वविद्यालयहरू अनुसन्धानमा केन्द्रित हुन थाले । फलस्वरूप १९ र २०औँ शताब्दीमा विज्ञानले अभूतपूर्व फड्को मार्‍यो ।

विज्ञानले ऊर्जा प्रविधिको विकास गरेसँगै पश्चिमा सभ्यताले इन्नोभेटिभ छलाङ लियो । अन्य सभ्यताका पढेलेखेकै पुस्तासमेत पुरातनमा रुमल्लिरहँदा, पश्चिमा सभ्यतामा भने प्रकृतिमा छिपेको ज्ञानलाई मानव कल्याणका लागि सदुपयोग गर्ने मामिलामा पुरातन सोचलाई चुनौती दिँदै वैज्ञानिकले सिर्जनात्मक चिन्तन र आविष्कारको नेतृत्व गरे । चट्याङलाई हाम्रो सभ्यताले इन्द्रको बज्र प्रहार भनेर रचनात्मक सोचमा बिर्काे लगाइदियो । तर, वैज्ञानिक बेन्जामिन फ्रान्किनले चट्याङमा विद्युत् प्रवाह हुने कुरा पत्ता लगाए । विद्युत् सम्बन्धित ज्ञानहरूलाई संश्लेषण गर्दै माइकल फराडेले पत्ता लगाएको विद्युत् र चुम्बकीय शक्तिको अन्तर्सम्बन्धबाट आविष्कार भएका ‘इलेक्ट्रिक मोटर’ र ‘ट्रान्सफरमर’ले व्यावहारिक विज्ञानमा नयाँ फड्को मार्‍यो । थोमस इडिसन र निकोलस टेस्लाजस्ता बहुचर्चित आविष्कारक तथा इन्जिनियरहरूले विद्युतीय ऊर्जा उपयोग गर्ने विधिको विकासमा योगदान गरे, जसबाट वैज्ञानिक विकासले गति लियो ।    

हाम्रो वैज्ञानिक चिन्तनको धरातल : हाम्रा पुरातन सभ्यताका कैयौँ सबल पक्षहरू ओझेलमा परेका होलान् । कारण, हाम्रोमा पुरातन ज्ञानलाई प्रश्न गर्ने, परीक्षणको कसीमा राख्ने र परिष्कृत गर्नेभन्दा पनि लिसोजस्तो टासिने चिन्तकहरू हाबी भए । प्रविधि विकासमा काम गर्नेहरू सामाजिक बहिष्करणमा पारिए । नैतिक शिक्षाका प्रवचकहरूको दबदबामा समाजको सिर्जनशीलता भुत्ते भयो । यसमा राज्यले परोक्ष सहयोगीको भूमिका खेल्यो । प्राकृतिक घटना तथा रहस्यहरूलाई दैविक शक्तिको लेप घसेर पूजा–आराधना गर्ने कामले प्रश्रय पायो । दृष्टान्तका लागि, पूर्वीय सभ्यतामा रहेको गणितको ज्ञानको आधारमा थाहा हुने सूर्य–चन्द्र ग्रहणको विशेष खगोलीय अवस्थालाई आजका दिनसम्म पनि अन्धविश्वाससँग जोडिरहेका छौँ । जन्म र कर्म भाग्यले निक्र्योल गर्छ भन्ने चिन्तन अझै हाबी छ । आमूल परिवर्तन हुनुपर्ने कैयौँ क्षेत्रमा रूढीवादी शासकका चिन्तन हाबी छन् । 

हाम्रो सभ्यतामा रहेको प्राकृतिक चिकित्साको वैज्ञानीकरण हुनै सकेन । जापानले समयको गतिलाई पक्रिँदै पश्चिमा विज्ञानको कसिमा आफ्ना पुरातन पुँजीलाई परीक्षण, परिष्करण र व्यावसायीकरण गर्‍यो । उदाहरणका लागि, सन् २०१६ मा चिकित्सा विधाको नोवेल पुरस्कार पाउने जापानी वैज्ञानिक योसिनोरी ओहासुमीले मानव शरीरमा हुने प्राकृतिक स्वभक्षिक प्रक्रिया (अटोपेगी) र सोसम्बन्धी जिनबारे नयाँ ज्ञान पत्ता लगाए । आममानिसमा प्रस्तुत गर्दा त्यसलाई उपवाससँग जोडेर व्याख्या गरे । तर, विज्ञानमा खासै प्रगति नगरेका पुरातन सभ्यताका चिन्तकले यो कुरा त पाँच हजार वर्ष पहिले नै थाहा थियो भन्दै गर्वको ढोल पिटे । 

अपसोस, हाम्रो वैज्ञानिक पुस्ता पनि विज्ञान सकिएपछि आध्यात्म सुरु हुन्छ भन्ने भ्रामक ढोल पिट्न उद्यत देखिन्छ । पश्चिमा सभ्यतामा वैज्ञानिक चिन्तन हाबी भएसँगै आविष्कार तथा नवप्रवर्तनमा छलाङ मारेको वस्तुगत यथार्थतालाई कम्तीमा सचेत पुस्ताले मनन गर्नु आवश्यक छ । वैज्ञानिक चेत तथा इन्नोभेसनको नर्सरी आफ्नै माटोमा जगाउन समाजमा वैज्ञानिक चेतको उभार ल्याउनै पर्छ । 

विकसित मुलुकको ‘इन्नोभेसन नर्सरी’ र हाम्रो जमिन : विश्व इन्नोभेसन सूचांक (जिआइआई)मा स्विट्जरल्यान्ड, स्विडेन, अमेरिका, सिंगापुर र बेलायत उत्कृष्ट पाँचमा पर्छन्, जो उच्च आय भएका मुलुक हुन् । एसियामा सिंगापुर, कोरिया, चीन, जापान, र इजरायल उत्कृष्ट पाँचभित्र पर्दा सिंगापुर ६१.२ अंकसहित ‘जिआइआई’मा एसियाली मुलुकमा प्रथम स्थानमा रहेको छ । नेपाल भने १८.१ अंकसहित ‘जिआइआई’मा १०९औँ स्थानमा सीमित छ । यो सूचीमा भारत ३९औँ स्थानमा छ । सार्ककै मुलुक श्रीलंका ८९औँ पाकिस्तान ९१औँ स्थानमा छन् । 

आर्थिक सूचांकलाई नियाल्दा नोवेल पुरस्कार, ‘इन्नोभेसन सूचकांक’ र विद्यालय शिक्षाको रोडम्यापमा घनिष्ठ सम्बन्ध रहेको सहजै देख्न सकिन्छ । विज्ञानमा नोवेल पुरस्कार पाउनेमध्ये २७९ जना वैज्ञानिक अमेरिकाका छन्, जुन यस्ता नोवेल लाउरेटको कुल संख्याको ४३ प्रतिशत हुन आउँछ । बेलायत, जर्मन र फ्रान्सका क्रमशः ९२, ७४ र ३९ वैज्ञानिक विज्ञानतर्फको नोवेल पुरस्कार पाएका छन् । एसियाको वैज्ञानिक हब जापान विज्ञानमा २२ जना नोवेल पुरस्कार विजेतासहित पाँचौँ स्थानमा छ । विकसित देशहरूले प्रकृतिका रहस्य खोज्दै इन्नोभेसनको नर्सरी हुर्काए । विद्यालय शिक्षालाई वैज्ञानिक चिन्तनको नर्सरीको रूपमा विकास गरे । 

उदाहरणका लागि आर्थिक छलाङ मारेका एसियाली मुलुकका स्कुले पुस्ताले अन्तर्राष्ट्रिय विज्ञान ओलम्पियाड (आइएसओ)मा गरेको प्रगतिलाई लिन सकिन्छ । सयभन्दा बढी देशबाट आन्तरिक प्रतिस्पर्धाबाट छानिएर आउने निश्चित स्कुले विद्यार्थीहरूको सहभागिता रहने विज्ञानका विषयगत प्रश्नहरूको समाधान गर्ने अन्तर्राष्ट्रिय प्रतिस्पर्धा वार्षिक रूपमा आयोजना गरिन्छ । ‘आइएसओ’मा चीन, दक्षिण कोरिया र भियतनामजस्ता उदीयमान देशहरूले देखाइएको उत्कृष्टताको दबदबाले विज्ञान शिक्षाको गुणस्तर प्रतिबिम्बित गर्छ । 

उदाहरणका लागि विज्ञान ओलाम्पियाडमा सबैभन्दा प्रतिष्ठित मानिने अन्तर्राष्ट्रिय गणित ओलम्पियाड (आइएमओ)मा २०२३ सम्म ३९ पटकको प्रतिस्पर्धामा चीनका १८५ विद्यार्थीहरूले स्वर्ण पदक जितेर पहिलो स्थानमा छन् । जहाँ ५० प्रतिस्पर्धामा अमेरिकाले १५१ स्वर्ण, ३० प्रतिस्पर्धामा रसियाले १०६ स्वर्ण, ३७ प्रतिस्पर्धामा दक्षिण कोरियाले ९५ स्वर्ण जितेर चौथो स्थान ओगटेको छ । रोचक के भने ४८ प्रतिस्पर्धामा सहभागिता जनाएको भियतनाम ६० स्वर्ण जितेर विद्यालय शिक्षाको उत्कृष्टमा आठौँ स्थानमा रहेको छ । अर्काे उल्लेखनीय के भने, ‘आइएमओ’का १५ प्रतिस्पर्धामा चीनका सबै प्रतिस्पर्धीहरूले स्वर्ण पदक जित्न सफल भएका छन् । तीनपटक कोरियाका सबै सहभागीले स्वर्ण जितेका छन् । हालै सम्पन्न सन् २०२४ को ‘आइएमओ’ को प्रतिस्पर्धामा सोधिएका ६ वटै प्रश्नको समाधान गरेर पूर्णांक ४२ ल्याएका चीनका विद्यार्थी सर्वाेत्कृष्ट हुँदा दुई नेपाली विद्यार्थीहरूले ११ र ७ अंक ल्याएर सान्त्वना पुरस्कारसहित ४२५ र ४८७ औँ स्थान हासिल गरेका थिए । 

अर्काे बहुप्रतिष्ठित अन्तर्राष्ट्रिय फिजिक्स ओलम्पियाड (आइफो)मा पनि १४६, ८८, ८२, ८९ र ७८ स्वर्ण पदक जितेर चीन, कोरिया, रसिया, ताइवान र अमेरिका उत्कृष्ट पाँचमा रहेका छन् भने अन्य एसियाली मुलुक इन्डिया, सिंगापुर र भियतनामले ४९, ४९, ४२ वटा स्वर्ण पदक जितेर उत्कृष्ट १० भित्र परेका छन् । अपवादका कांस्य पदकबाहेक सबै  ‘आइएसओ’मा सान्त्वनामा सीमित नेपाल ठोस तयारीविना सहभागी भइरहेको छ ।

अन्य देशहरूले मिसनका साथ नयाँ पुस्तालाई रचनात्मक सिकाइमा केन्द्रित गरेका छन् । इन्नोभेसनको नर्सरीमा मलजल गरिरहेका छन् । नेपालको सन्दर्भमा रचनात्मक सिकाइको कमी मात्र होइन प्रभावकारी तयारीमा पनि चुकेका छौँ । दुःखद पक्ष, देशबाट छानिएका सम्बन्धित विषयका उत्कृष्ट विद्यार्थी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा लगातार पछि पर्दा पनि सुधारका लागि सरकारी वा निजी क्षेत्रबाट ठोस पहलको चेत खुलेको छैन ।    

अवस्थामा सुधारको रोडम्याप : इन्नोभेसनको नर्सरीका लागि विद्यालय शिक्षाको नयाँ मोडेल आवश्यक छ । सरकारी स्कुलको अवस्था बिजोक छ । बुढानीलकण्ठ, वनस्थली, गण्डकीलगायतका चर्चित स्कुल पनि गुणस्तरको ढोल पिट्नमै सीमित छन् । विज्ञान ओलम्पियाडको प्रगतिलाई एक मापदण्ड मान्ने हो भने कोरिया तथा भियतनामको परिष्कृत मोडेल अवलम्बन गर्न सकिन्छ । कोरियाले ‘आइएसओ’ मा पाएको अभूतपूर्व सफलताबारे अन्तरक्रिया गर्दा मेरा कोरियन सहपाठी डा. सोङयोङ किमले कोरियाको विशेष रोडम्यापले सम्भव भएको बताएका थिए । कोरियाले देशभरका अब्बल विद्यार्थीहरूलाई छानेर विशेष स्कुलमा पढाउने व्यवस्था गरेको रहेछ । यस्ता विद्यार्थीलाई विशिष्ट शिक्षकहरूले पढाउने मात्र होइन, विश्वविद्यालयसँगको सहकार्यमा विषयविज्ञ प्राध्यापकको सुपरिभेक्षणमा विशेष कक्षा लिने व्यवस्था रहेछ । विद्यावारिधि गर्दैगर्दा डा. किमले पनि सप्ताहन्तमा यस्ता प्रतिभाशाली विद्यार्थीलाई भौतिकशास्त्रका प्रयोगात्मक कक्षा लिने गर्दारहेछन् । कोरियाको यो मोडेलले छोटो समयमा ‘आइएसओ’ प्रतिस्पर्धामा विश्वउत्कृष्ट बन्न सफल भयो । 

भियतनामको प्रगतिको कथा पनि अनुकरणीय छ । सप्ताहन्तको एक भेटमा हाल भियतनामको विविधमा प्राध्यापनरत मेरा सहपाठी डा. गो ह्युन चिएनले ‘आइएसओ’ मा भियतनामको सफलताबारे केही मननीय तथ्य बताए । पछिल्ला दशकमा स्कुले शिक्षामा गुणात्मक फड्को मारेको भियतनामले ‘आइएसओ’लाई ध्यानमा राखेर कोरियन मोडेल अपनाएको रहेछ । साथै, नियमित अन्तर्देशीय प्रतिस्पर्धा पनि गर्दाेरहेछ । 

जापानले पनि विभिन्न नगरहरूमा विज्ञानकेन्द्रित विशेष विद्यालय स्थापना गरेको छ । मेरा जापानी मित्र डा. कोइचिरो उतोका अनुसार, जापानमा टेक कम्पनीहरूले हाई स्कुलका विद्यार्थीलक्षित विज्ञानका समस्या समाधान गर्ने विषयगत प्रतिस्पर्धा गराउने रहेछन् । यस्ता प्रतिस्पर्धाहरू ‘आइएसओ’ तयारीको नियमित पाटोजस्तै बनेका रहेछन् । सन् २०२३ मा टोकियोमा भएको फिजिक्स ओलम्पियाडमा विद्यार्थीहरू लिएर आउनुभएका मेरा गुरु भौतिकशास्त्रका प्राध्यापक डा. हरिशंकर मल्लिकसँग नेपालको अवस्था बुझ्ने मौका पाएको थिए । हाम्रोमा विश्वविद्यालयका विषयगत प्राध्यापकहरूको स्वयंसेवी पहलमा ‘आइएसओ’ को तयारी गर्नुपर्ने अवस्था रहेछ । ‘आइएसओ’ मिसन हुनुपर्नेमा राज्यले बेवास्ता गरेको छ ।

‘आइएसओ’ शैक्षिक गुणस्तरको अन्तर्राष्ट्रिय ऐना पनि भएकाले यसको उत्कृष्टता देशको लक्ष्य हुनुपर्छ । अहिलेको गोर्खे तरिकाले वैज्ञानिक युगको सिल्करोडलाई आफ्नो भूगोलमा जोड्ने पुस्ता हुर्कँदैन । कुम्भकर्ण सरकारलाई ब्युँझाउनैपर्छ । राज्यले विशेष संयन्त्रबाट प्रतिभाशाली विद्यार्थी छानेर प्रत्यक प्रदेशमा कम्तीमा एउटा विशेष शिक्षालय खोल्नुपर्छ । विद्यालय संरचनामा विशेष व्यवस्था गरेर वैज्ञानिक चिन्तनको जग निर्माण गर्न सरकारले टास्कफोर्स बनाएर काम गर्नुपर्छ । व्यावसायिक घरानालाई इन्नोभेसनको नर्सरी निर्माणमा जोड्न सञ्चार तथा नागरिक समाजले अभियान चलाउनुपर्छ । विद्यालय शिक्षाको गुणात्मक विकासका लागि सरकारले ओठे निर्देशन होइन, ठोस कार्यादेशको टिप्पणी उठाओस् ।

(खड्का भौतिक विज्ञानका अनुसन्धानकर्मी हुन्)