मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १२ सोमबार
  • Wednesday, 12 February, 2025
२o८१ कार्तिक १२ सोमबार १४:१o:oo
Read Time : > 2 मिनेट
फिचर डिजिटल संस्करण

ढलेका गुराँसका मुढामा सिंगो सत्यवती झल्काउँदै मूर्तिकार

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १२ सोमबार १४:१o:oo

सत्यवती क्षेत्रमा सडक पुर्‍याउँदा थुप्रै गुराँसका रुख ढले। ती रुख ढलेपछि गलेर सकिन्थे वा दाउरा हुन्थे। तर, तिनै गुराँसका मुढामा मूर्तिकारले सत्यवती देखाए। जसले सत्यवती गाउँपालिका– ३ ठुलोलुम्पेकको धार्मिक तथा पर्यटकीय क्षेत्र सत्यवतीलाई थप आकर्षक बनाएको छ। प्राज्ञ वरिष्ठ मूर्तिकार सत्यवतीकै उत्पादन हुन्। उनले १० दिन लगाएर सत्यवतीको किंवदन्तीसँग सम्बन्धित लम्पसार परेको आकर्षक बाघ बनाए।

सोहि ठाउँकै प्राज्ञ परिष्ठ मूर्तिकार यामबहादुर थापाले सिंगाे सत्यवतीको पहिचान बोकेकी सत्यवती बजैको सुन्दर मूर्ति बनाएका छन्। सत्यवती बजैको अनुहार र पोसाकलाई पनि कल्पना गरेर मूर्तिमा उतार्न मुस्किल हुने भएकाले १० दिन नै लगाएर निर्माण गरेको बताए। अर्का प्राज्ञ मूर्तिकार भुवन थापा मगरले अजंगको सर्पको मूर्ति बनाएका छन्। सत्यवतीको किंवदन्तीमा कालीगण्डकीमा पुच्छर, लुम्पेककै बिचमा ढाडहरू र सत्यवतीको टुप्पोमा टाउको भएको सर्पको अवस्था देखाउन खोजिएको थापाले बताए। त्यस्तै, चित्रकार सुमित्रा राना, रिमा मिधुन मगर, सिर्जना श्रीस मगरलगायतले सत्यवती मन्दिर र ठुलोलुम्पेकको इतिहास पूर्वप्रधानपञ्च तथा गाविस अध्यक्षहरूको आकर्षक चित्र निर्माण गरेका छन्।

सुकेको गुराँसका मुढाहरूमा कुँदिएका आकर्षक मूर्तिहरूले गुल्मीको सत्यवती क्षेत्रको पर्यटकीय आकर्षण बढाएको छ। धार्मिक दृष्टिकोणले सत्यवतीको आफ्नै पहिचान र महत्त्व भए पनि पर्यटकीय सम्भावना बढाउन नवीन कामहरूको सुरुवात भएको स्थानीय अगुवा खोम तरामु मगरले बताए। ‘कलामा दम छ। ढलेको गुराँसका मुढाहरू कि कुहिन्थे कि दाउरा हुन्थे,’ उनले भने, ‘कलाकारको कलाले सिंगाे सत्यवती मुढाहरूमा प्रतिबिम्बत छ।’ सत्यवती क्षेत्रमा सत्यवती गाउँपालिकाको आयोजनामा १० दिन काष्ठ मूर्तिकला तथा चित्रकला कार्यशाला गरिएको थियो। 

धार्मिक तथा पर्यटकीय क्षेत्र सत्यवतीको प्रचारप्रसारमा टेवा पुर्‍याउने उद्देश्यले सत्यवती गाउँपालिका– ३ ठुलोलुम्पेकको सत्यवती क्षेत्रमा काष्ठ मूर्तिकला तथा चित्रकला कार्यशाला आयोजना गरिएको सत्यवती– ३ का वडाध्यक्ष जितबहादुर तरामुले जानकारी दिए। कार्यशालामा स्वदेश तथा विदेशमा ख्याति कमाएका २३ जना मूर्तिकार तथा चित्रकारहरू सहभागी थिए। गाउँपालिकाको पहिचानसँग जोडिएको सत्यवती क्षेत्रको पछिल्लो समय भौतिक विकासलाई तीव्रता दिइएको छ। ग्रामीण पर्यटन प्रवर्द्धनका लागि कार्यशालाले थप टेवा पुर्‍याउने अपेक्षा गरिएको तरामुले बताए।

मूर्तिकार तथा चित्रकारले एकजनाले एउटा मूर्ति तथा तीन–चारवटा चित्र बनाएका छन्। कलाकारहरूको संयोजन गरिरहेका प्राज्ञ वरिष्ठ मूर्तिकार यामबहादुर थापाले जंगलमा कुहिएर र सुकेर जाने गुराँसका काठहरूमा सांस्कृतिक, प्राकृतिक र धार्मिक आस्थासहित सत्यवती क्षेत्रको भावना समेटिएका आकर्षक  मूर्तिहरू कोरिएको बताए। सत्यवती गाउँपालिकाकै मूर्तिकार तथा चित्रकारहरूको अगुवाइमा निःशुल्क कार्याशाला गरिएको थियो। सत्यवती गाउँपालिकाका प्राज्ञ मूर्तिकार भुवन थापा मगर ‘बहुवी’, यामबहादुर थापा र नरेन्द्र भण्डारीले आफू र विभिन्न ठाउँका कलाकारमार्फत सत्यवती क्षेत्रको पर्यटकीय विकासका लागि निःशुल्क रूपमा मूर्ति तथा चित्रहरू तयार गरेका हुन्।

प्राज्ञ वरिष्ठ मूर्तिकार नरेन्द्र भण्डारीले मूर्ति तथा चित्रमार्फत देश तथा विदेशमा पहिचान बनाए पनि आफ्नै गाउँमा आफू र आफ्नो प्रतिभा गुमनाम भएकाले कार्यशालामार्फत जोडिन खोजेको बताए। चित्रकारहरूले सत्यवती क्षेत्रका मठ–मन्दिर तथा पूर्वप्रधानपञ्चदेखि गाविस अध्यक्षसम्मको फोटो निर्माण गरेका छन्। नेपाल सरकारका सय नयाँ पर्यटकीय गन्तव्यमध्ये सत्यवती क्षेत्र पनि पर्दछ। सत्यवती क्षेत्रको विकास गाउँपालिकाको प्राथमिकतामा परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले बताए। उनले संघ, प्रदेश र स्थानीय सरकारमार्फत विभिन्न पर्यटकीय योजनाहरूको काम गरिएको बताए। पर्यटन बोर्ड र पालिकाले गरेर दुई चरणमा ५८ लाखभन्दा बढीका संरचना निर्माण गरिएको उनले जानकारी दिए। पिकनिक स्पट, ट्रस, शौचालय, पार्कलगायतका संरचनाहरू निर्माण भएका छन्। 

सत्यवती क्षेत्रमै चिया बगान निर्माणको परीक्षण थालिएको छ भने उत्तरका हिमालहरूको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ। सत्यवती गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले आफ्नो जन्मभूमिप्रति मूर्तिकार तथा चित्रकारले देखाएका ऊर्जा र सहयोगी भावनाको उच्च प्रशंसा गरे। उनले सत्यवतीका लागि केन्द्र र प्रदेश सरकारमार्फत सोचेअनुसारको सहयोग नपाए पनि सकेको विकास गरिरहेको बताए। साथै पाण्डेले देश तथा विदेशमा कहलिएका कलाकारहरू गाउँपालिकाले चिन्न नसक्नु दुःखद पक्ष भएको बताउँदै आगामी दिनमा समन्वय र सहकार्य गरेर अगाडि बढ्ने बताए। उनले मूर्तिकार तथा चित्रकारहरूले बडो दुःखले निर्माण गरेका मूर्ति तथा चित्रहरूको संरक्षणमा गाउँपालिकालाई चुनौती थपिएको बताए।