यसपटकको भोटेकोशी–त्रिशूली बाढीले विनाशको भयावह तस्बिर देखायो । २०७२ सालयता मात्रै नेपालमा दुई हजार तीन सय ९६ वटा बाढीका घटना भएका छन् । ती घटनामा ६ सय ६२ जनाले ज्यान गुमाएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण प्राधिकरणको ‘नेपाल विपत् जोखिम न्यूनीकरण पोर्टल’मा अद्यावधिक भएको छ । बाढीबाट भएको भौतिक क्षतिको आकार झनै ठुलो छ । पछिल्लो भोटकोशी–त्रिशूली बाढीका कारण करिब १४ सयजनाको मृत्यु भइसकेको छ । ६ हजारजना अझै बेपत्ता छन् । क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन ।
नेपालमा बाढीपहिरो नयाँ घटना होइन, तर पछिल्ला वर्षमा बढ्दै गएको विपत्को संख्या र आकारका कारण यसलाई प्राकृतिक दुर्घटनाका रूपमा मात्र बुझेर पुग्दैन । जलवायु परिवर्तन, हिमाली क्षेत्रमा भइरहेको तापक्रम वृद्धि, प्रकृतिमाथिको बढ्दो मानवीय हस्तक्षेप र विकासको ढाँचाले विपत्को जोखिमलाई बदलिरहेको विज्ञले भनिरहेका छन् ।
यस्ता विपत्ले समाजको सम्पूर्ण क्षेत्रलाई चिन्तित बनाएको छ । यो चिन्ताबाट साहित्य क्षेत्र अलग हुनै सक्दैन । विश्व साहित्यमा पर्यावरण विनाश र त्यसमा मानवीय भूमिकाबारे लामो समयदेखि चर्चा हुँदै आएको छ । सन् १९३० को दशकमा रोबिन्सन जेफर्सदेखि ग्यारी स्नाइडर र रिचल कार्सनसम्मका रचनामा प्रकृतिमाथिको मानवीय हस्तक्षेपप्रति गम्भीर चिन्ता व्यक्त भएको पाइन्छ । नेपाली साहित्यमा पनि प्रकृति र पर्यावरणको प्रश्न नयाँ होइन, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे र विजय मल्लका रचनामा प्रकृति चेतनाका विभिन्न रूप देखिन्छन् ।
४० को दशकपछि केही कविले पर्यावरण संरक्षणलाई नै आफ्नो लेखनको विषय र अभियान बनाउन थाले । ४० कै दशकदेखि त्रिविअन्तर्गत अंग्रेजी विभागको पाठ्यक्रममा पर्यावरणीय चेतनाका पाठ, सिद्धान्त र विशेषगरी कविता, निबन्धबारे अध्ययन सुरु भयो ।
संरक्षण कविता आन्दोलनअन्तर्गत प्रकाशित संरक्षण कविता यात्रा (२०५३) यस अभियानको महत्वपूर्ण दस्ताबेज हो । सरुभक्त, रमेश श्रेष्ठ, भूपिन, हरिदेवी कोइरालालगायत कविका कविता समेटिएको उक्त संग्रहले प्रकृति संरक्षणको चेतनालाई साहित्यसँग जोडेको थियो । अविनाश श्रेष्ठको ‘करोडौँ सूर्यको अन्धकार’ (२०६०) पर्यावरणीय चेतनामा केन्द्रित कवितासंग्रह हो । सुमन पोखरेलको ‘शून्यमुटुको धड्कनभित्र’ (२०५६) का अधिकांश कवितामा पनि पर्यावरणीय चिन्ता भेटिन्छ । ०८० मा नेपाली पर्या–साहित्य प्रतिष्ठान स्थापना गरेरै केही साहित्यकार लागिपरेका छन् ।
प्रकृतिको सौन्दर्य लेख्दै आएको नेपाली साहित्यले प्रकृतिको संकटलाई पनि विषय बनाउँदै आएको छ । लेखनाथ पौड्यालदेखि संरक्षण कविता आन्दोलनसम्म आइपुग्दा प्रकृति संरक्षणको चेतना नेपाली साहित्यमा विभिन्न रूपमा अभिव्यक्त भएका छन् । प्रकृतिको विनाशलाई देखेर लेख्ने मात्र कि त्यस विनाशका कारणमाथि पनि प्रश्न गर्ने ? भन्ने बहसले एउटा गति लिँदै थियो । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको पछिल्लो विनाशले यो प्रश्नलाई फेरि सतहमा ल्याएको छ । बाढीले मानिस, बस्ती र संरचना बगाएको छ, त्यससँगै विकासको हाम्रो दृष्टि, प्रकृतिसँगको सम्बन्ध र भविष्यप्रतिको हाम्रो तयारीमाथि पनि प्रश्न उठाएको छ । यही प्रश्नको वरिपरि नेपाली कवि, लेखकको चिन्ता देखिन्छ, विपत्को अभिलेख मात्र होइन, त्यसको कारण र चेतावनी पनि साहित्यमा लेखिनुपर्ने कविहरूको भनाइ छ ।
गम्भीर विमर्शको खाँचो
साहित्यका थुप्रै विधा छन् । त्यसमध्ये पर्यावरणीय साहित्य एक हो । ५० को दशकमा कवि तथा लेखक सरुभक्तको अगुवाइमा प्रकृति तथा पर्यावरण संरक्षणको चेतना फैलाउने उद्देश्यले ‘संरक्षण कविता यात्रा’ अघि बढाइएको थियो । गाउँगाउँ पुगेर स्थानीय परिवेश बुझ्ने, त्यहाँको प्रकृतिसँग साक्षात्कार गर्ने र त्यही परिवेशमा कविता लेखेर स्थानीय मानिसलाई सुनाउने अभियानले साहित्यलाई प्रत्यक्ष सामाजिक सरोकारसँग जोडेको थियो । अहिलेको भोटेकोशी–त्रिशूली विपत्लाई नजिकबाट नियालिरेका उनी यो विपत्ले गम्भीर प्रश्न उठाएको भन्दै यो विषयमा अझै गम्भीर विमर्श हुनुपर्ने बताउँछन् । ‘भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीले गम्भीर प्रश्न उठाएको छ । ठुलो संख्यामा नेपाली तथा विदेशी नागरिकको मृत्यु हुनु, भौतिक संरचना आँखैअगाडि तहसनहस हुनु र बस्ती तथा भूगोल नै प्रभावित हुनु सामान्य घटना होइन,’ कवि तथा लेखक सरुभक्त भन्छन्, ‘यो एउटा अत्यन्त ठुलो विनाश हो । यो राष्ट्रिय शोक नै हो । विश्व पर्यावरणबारे लेख्दै आएको लेखकका रूपमा यस्तो दुर्घटनापछि यो विषयमा अझ गम्भीर विमर्श हुनुपर्ने आवश्यकता महसुस गरिरहेको छु ।’
विपत्का वेला कवि–लेखकको दायित्व के हो ? नागरिकका रूपमा हरेक व्यक्तिको भूमिका हुन्छ, तर साहित्यकारले आफ्नो लेखनको माध्यमबाट जनचेतना निर्माण गर्न सक्ने उनको तर्क छ । ‘कवि–लेखकले यस्ता घटनाबारे बढी चिन्तन गर्ने, लेख्ने र जनचेतना जगाउने काम गर्न सक्छन् । कविता, नाटकलगायत विभिन्न विधामार्फत जागरण ल्याउन सकिन्छ,’ उनी भन्छन् । विपत्पछि धेरै कवि, लेखकले राहत तथा सहयोगका लागि पनि सक्रियता देखाएको उनले बताए ।
पर्यावरणीय साहित्यमा विद्यावारिधि गरेकी कवि तथा लेखक डा. गीता त्रिपाठीका लागि पछिल्लो विपत् लेखकका शब्दमाथि नै पुनर्विचार गर्ने समय हो । ‘लेखक हुनुका नाताले मात्र होइन, पर्यावरण संरक्षण चेतनाका लागि साहित्य लेखन र अनुसन्धान गरिरहेका नाताले पनि आफ्ना शक्तिहीन शब्दप्रति गम खाइरहेकी छु,’ उनी भन्छिन् । उनका अनुसार यस्ता घटनाले साहित्यकारलाई नयाँ शब्द र नयाँ हस्तक्षेपको खोजी गर्न बाध्य बनाउँछन् । दोस्रो विश्वयुद्धपछि प्रकृति र मानव सम्बन्धलाई विभिन्न कोणबाट हेर्दै प्रकृतिप्रति मानिसको नैतिक दायित्वबारे विश्वस्तरमा विमर्श हुँदै आएको उनी बताउँछिन् । वैज्ञानिक अध्ययनले सम्भावित संकटबारे चेतावनी दिइरहेको र साहित्यकारले पनि आफ्ना रचनामार्फत संरक्षणको चेतना फैलाउँदै आएको उनको भनाइ छ ।
डा. त्रिपाठीका अनुसार अहिलेको प्राथमिकता पीडितलाई तत्काल सहयोग गर्नु हो । कवि, लेखकहरू राहत संकलनमा जुटिरहेका छन् भने कतिपयले कविता, निबन्ध र अन्य सिर्जनामार्फत सहयोग जुटाउने प्रयास गरेका छन् । दीर्घकालमा भने जलवायु परिवर्तन र विपत्का कारणबारे सामूहिक आवाज उठाउन सरकारसहित सबै पक्षको सहभागिता आवश्यक भएको उनको बुझाइ छ । बाढीले घर, खेत र सडक मात्र बगाउँदैन, मानिसको स्मृति, सम्बन्ध र भूगोल पनि बदलिदिन्छ । यस्तो विस्थापनलाई साहित्यले कसरी अभिलेख गर्ने भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण भएको उनी बताउँछिन् । त्रिपाठीका अनुसार नदी सभ्यतामाथि आएको विनाशले मानिस र पानीबिचको सम्बन्धबारे नै पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना गरेको छ । ‘के हामी जल र वायुसँग अलग रहेर जीवन रक्षा गर्न सक्छौँ ?’ उनी प्रश्न गर्छिन् । उनका अनुसार विस्थापनको बदलिँदो स्वरूपलाई बुझ्न सतही लेखन पर्याप्त हुँदैन । टिमुरे, वेत्रावती र त्रिशूली क्षेत्रको नदी सभ्यतामाथि परेको प्रभावलाई भौगोलिक विनाशका रूपमा हेर्न नहुने उनको धारणा छ । पर्या–साहित्यको सम्बन्ध अब मनोविज्ञान र समाजशास्त्रसँग पनि जोडिनुपर्ने उनी बताउँछिन् ।
कवि तथा लेखक भूपिनका लागि पछिल्लो विपत् लामो समयदेखि दिइँदै आएको चेतावनीको अर्को रूप हो । ‘यो वार्निङ कल हो । यसपछि पनि यस्ता घटना हुन सक्छन् । अब यसबाट पाठ सिकेर बस्ती विस्तारको योजना बनाउनुपर्छ,’ उनी भन्छन्, ‘नदी तथा तटीय क्षेत्रमा बसोवास गर्ने मानिसलाई सुरक्षित राख्ने उपाय अपनाउनुपर्छ ।’ नेपालको सबैभन्दा ठुलो सम्पत्तिमध्ये हिमाल प्रमुख भएको बताउँदै उनी हिमाली क्षेत्रमा देखिएका परिवर्तनलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउँछन् । ‘यस्तो विपत्को सम्भावना पहिल्यै कल्पना गरिएको थियो । तर, मानिसले कल्पना गरेकोभन्दा ठुलो क्षति भयो । यसबाट पाठ सिक्नुपर्छ,’ उनी भन्छन् । उनका अनुसार विज्ञानले तथ्य र सिद्धान्त दिन्छ, तर ती कुरा जनजीवनसम्म पुर्याउने काम साहित्य र कलाले गर्न सक्छ । सरुभक्तको समूहमा रहेर उनी पनि मानवकेन्द्रित सोचलाई अस्वीकार गर्दै संरक्षण कविता आन्दोलनमा होमिएका थिए ।
कवि तथा वातावरणविज्ञ डा. रोशन शेरचनका अनुसार पछिल्लो विपत्लाई जलवायु परिवर्तनसँग अलग गरेर हेर्न मिल्दैन । उनका अनुसार अहिलेको विपत्को जरो आधुनिक अर्थतन्त्रले पछ्याइरहेको निरन्तर आर्थिक वृद्धि र अत्यधिक उत्पादन, उपभोगको संरचनासँग जोडिएको छ । ‘पुँजीवादी अर्थतन्त्रमा बढीभन्दा बढी उत्पादन र उपभोगबाट कुल गार्हस्थ उत्पादन बढाउने सोच हुन्छ । तर, त्यसले वातावरणमाथि पार्ने भारलाई त्यही अनुपातमा मूल्यांकन गरिँदैन,’ उनी भन्छन् ।
प्रकृतिमाथि नाफामुखी दृष्टिकोणको परिणाम
कवि सरुभक्तका अनुसार विश्वव्यापी तापक्रम वृद्धिले हिमाली क्षेत्रमा गम्भीर असर पारिरहेको छ । ठुला औद्योगिक राष्ट्रबाट हुने कार्बन उत्सर्जनको असर नेपालजस्ता मुलुकले पनि भोग्नुपरेको उनको तर्क छ । हिमालको हिउँ पग्लनु, नदीनालाको स्वरूप परिवर्तन हुनु र नयाँ–नयाँ पर्यावरणीय समस्या देखिनु यसैसँग जोडिएको उनी बताउँछन् । ‘विश्वव्यापी तापक्रम वृद्धिका कारण यस्ता विपत् बढिरहेका छन् । यसका लागि जिम्मेवार राष्ट्रहरू को–को हुन् ? यसबाट जोगिन हामीले के गर्नुपर्छ ? भन्ने विषयमा विश्वस्तरमै सोच्नुपर्ने वेला आएको छ,’ उनी भन्छन् । उनका अनुसार जलवायुजन्य विपत् कुनै एक देशको मात्र समस्या नभएकाले यसको समाधानका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा साझा पहल आवश्यक छ ।
डा. त्रिपाठीका अनुसार शक्ति राष्ट्रको अहंकार र स्वार्थका कारण हाम्रा बस्तीहरू हेर्दाहेर्दै बगरमा परिणत भएका छन् । यसलाई आकस्मिक घटना भनेर पन्छाउन मिल्दैन । ‘यसको पछाडि मानवीय गतिविधिको भूमिका छ भन्नुपर्दा दुःख लाग्छ,’ उनी भन्छिन् । प्राकृतिक विपत्लाई प्राकृतिक घटना मानेर साहित्यमा चित्रण गर्ने कि त्यसका सामाजिक, आर्थिक कारणसमेत खोज्ने ? त्रिपाठीको दृष्टिमा अहिलेको साहित्यले यो प्रश्नबाट भाग्न हुँदैन । उनी भन्छिन्, ‘प्रकृतिले मानव क्रियाकलापविरुद्ध प्रतिरोध सुरु गरिसकेको छ । पुँजीवादी आर्थिक नीति र चरम उपभोक्तावादी संस्कारले हामीलाई भौगोलिक मात्र होइन, सांस्कृतिक रूपमा पनि प्रभावित बनाएको छ । कवि, लेखक र अनुसन्धाताले यस विषयमा रचनामार्फत गम्भीर प्रतिरोध गर्नुपर्छ ।’
कवि लक्ष्मी रुम्बा अहिलेको विपत्लाई प्राकृतिक प्रकोप मात्र भनेर बुझ्नु पर्याप्त नहुने बताउँछिन् । उनको विचारमा पुँजीवादी व्यवस्थाले प्रकृतिसहित हरेक वस्तुलाई नाफा र बजारको दृष्टिले हेर्दा त्यसको असर विकासोन्मुख देशले बढी भोगिरहेका छन् । ‘पुँजीवादी व्यवस्थाले हरेक कुरालाई निजीकरणको तराजुमा राखेर मोलमोलाइ गर्छ । विकसित देशबाट प्रकृतिमाथि परेको नाफामुखी दृष्टिकोणको मार विकासोन्मुख देशले सहनुपरेको छ,’ उनी भन्छिन् । प्रकृतिमाथिको मानवीय दोहनले जलवायु परिवर्तनलाई तीव्र बनाइरहेको कवि तथा लेखक भुपिनको तर्क छ ।
अब यो विषय एजेन्डा बन्नुपर्छ
सरुभक्तका अनुसार अब पर्यावरणलाई साहित्यको नियमित विषय मात्र नभई सामाजिक र राष्ट्रिय एजेन्डाका रूपमा अघि बढाउन आवश्यक छ । ‘०५३ सालमा मेरो संयोजनमा संरक्षण कविता यात्रा र ०५५ सालमा संरक्षण कविता आन्दोलन सञ्चालन गरेका थियौँ । गाउँगाउँ जाने, प्रकृतिको नजिक पुग्ने, त्यहाँको वस्तुस्थिति बुझ्ने र कविता लेखेर स्थानीय मानिसलाई सुनाउने काम गर्यौँ । अन्नपूर्ण बेसक्याम्पदेखि मुक्तिनाथसम्म पुग्यौँ, मधेशका विभिन्न जिल्लामा पनि गयौँ,’ उनी सम्झन्छन् । विगतका ती प्रयासले मात्र नपुग्ने निष्कर्षमा उनी पुगेका छन् । उनका अनुसार यो घटनाले हामीले गरेका ती गतिविधिले मात्र पर्याप्त भएन भन्ने देखाएको छ । उनी भन्छन्, ‘अब जनस्तरमा अझ प्रभावकारी ढंगले चेतना बढाउनुपर्छ । गाउँघर, हिमाल र पहाडको पर्यावरणलाई सकेसम्म प्राकृतिक रूपमै संरक्षण गर्नुपर्छ भन्ने सन्देश साहित्यले अझ बलियो रूपमा दिनुपर्छ ।’
त्रिपाठीका अनुसार यस्ता विपत्बारे अब योजनाबद्ध लेखन आवश्यक छ । विपत्ले मानिसको चेतन र अवचेतनमा लामो प्रभाव छाड्ने भएकाले त्यसको स्मृति सुरक्षित राख्नु साहित्यको दायित्व पनि हो । ‘यस दुःखलाई लेखनका माध्यमबाट सम्झाइरहनु हाम्रो जिम्मेवारी हो । नेपालभित्र र बाहिर रहेका कवि–लेखकले मिलेर पर्या–लेखनलाई अभियानकै रूपमा अघि बढाउनुपर्छ,’ उनी भन्छिन् । विश्वविद्यालयमा पर्या–साहित्यको अध्ययन विस्तार हुँदै गएको उल्लेख गर्दै उनी अहिलेको लेखन भविष्यका लागि महत्वपूर्ण दस्ताबेज बन्न सक्ने बताउँछिन् । त्यसका लागि घटनालाई इमानदारीपूर्वक र गम्भीरताका साथ अभिलेख गर्नुपर्नेमा उनको जोड छ ।
विपत्का कारण र त्यसको आर्थिक–राजनीतिक पाटोलाई साहित्यमा गहिराइका साथ उठाउनुपर्ने कवि रुम्बाको मत छ । ‘यो महाविपत्लाई प्राकृतिक प्रकोप मात्रै भनेर होइन, यसको कारक तत्वको खोजी गर्दै पुँजीवादी अर्थव्यवस्थाका आयाम, असर र चुनौतीलाई लेखनमा उतार्नुपर्छ,’ उनी भन्छिन् ।
कवि भुपिन अब पर्यावरण संरक्षणलाई साहित्यको विषय मात्र नभई राज्यको नीति र राजनीतिक एजेन्डासँग पनि जोड्नुपर्ने बताउँछन् । ‘प्रकृतिलाई केन्द्रमा राख्ने नीति संसारले नै अनुसरण गर्नुपर्छ । स्रष्टाको काम आवाज उठाउने हो, त्यो काम हामीले गर्दै आएका छौँ । गरिनै रहनेछौँ । अब यसलाई मूल नीतिमा ल्याउने दर्शन र चिन्तन आवश्यक छ,’ उनी भन्छन् । कवि तथा लेखक शेरचन पनि कवि, लेखक र साहित्यकारले जलवायु न्यायको आवाजलाई सिर्जनात्मक रूपमा समाजसम्म पुर्याउनुपर्ने बताउँछन् ।
साक्षी कि प्रश्नकर्ता ?
नेपालमा प्रकृति र पर्यावरणबारे लेखिँदै आएको इतिहास पुरानो छ । तर, पछिल्लो बाढीपहिरोले साहित्यलाई प्रकृतिको सौन्दर्य वर्णनभन्दा अगाडि बढेर प्रकृतिमाथिको हस्तक्षेप, जलवायु परिवर्तन, विस्थापन, विकासको मोडेल, उपभोगको संस्कृति र जलवायु न्यायका प्रश्नसँग जोडिनुपर्ने चुनौती दिएको छ । बाढीले बस्ती बगाउँदा साहित्यले त्यसको पीडा अभिलेख गर्न सक्छ । त्यसभन्दा अगाडि बढेर त्यो बस्ती किन त्यहाँ थियो ?, नदीको बाटो किन फेरियो ?, प्रकृतिमाथि कस्तो हस्तक्षेप भयो ?, विपद्को भार कसले बढी बोक्यो ? र यसको जिम्मेवारी कसको हो ? भन्ने प्रश्न पनि उठाउन सक्छ । त्यसैले, अबको पर्या–साहित्य प्रकृतिको सुन्दरता वर्णन गर्ने मात्र होइन, प्रकृतिसँग मानिसको सम्बन्ध, त्यस सम्बन्धमा आएको संकट र त्यसका सामाजिक–आर्थिक कारणको साक्षी बन्ने साहित्य हुनुपर्ने देखिएको साहित्यकारको बुझाइ छ ।
प्रा.डा. गोविन्दराज भट्टराई समकालीन वातावरणबारे लेख्दा वैज्ञानिक कारणको अध्ययन नगरी भावुकता मात्र लेखेर नहुने तर्क गर्छन् । प्रथम नेपाली पर्या निबन्ध संग्रहको सम्पादकीयमा उनले लेखेका छन्, ‘अब हामीलाई रचेल कार्सनको साइलेन्ट स्प्रिङ, अलन वेइजम्यानको द वर्ल्ड विदवाउट अस्, सल्मानको डेजर्ट सोलिच्युड, नेल्सनको अदर टु अन्टार्कटिका जस्ता आख्यानेत्तर गद्य कृति पढ्ने र आफ्नो देशको स्थितिबारे लेख्ने पुस्ता चाहिएको छ ।’