गाउँमा हराउँदै सामूहिकता

शनिबार, २१ कार्तिक, २०८३
प्रिन्ट संस्करण
  • गाउँमै पर्याप्त रोजगारीका अवसर नहुँदा युवापुस्ता सहर तथा विदेशतर्फ आकर्षित भएका छन् । अध्ययनका लागि पनि धेरै युवायुवती घरबाट टाढा छन् ।

कुनै समय दसैँ–तिहार आउनुअघि नै लमजुङका गाउँघरमा छुट्टै चहलपहल सुरु हुन्थ्यो । गाउँका बाटाघाटा सफा गरिन्थे, घरआँगन लिपपोत गरिन्थ्यो र पिङ हाल्ने तयारी हुन्थ्यो । परदेश गएका आफन्त घर फर्किने खबरले गाउँमा उत्साह थपिन्थ्यो । टाढाटाढाबाट आफन्त आउने, छिमेकी एकअर्काको घरमा पुग्ने र गाउँलेहरू सामूहिक रूपमा चाडपर्व मनाउने दृश्य सामान्यजस्तै थियो । तर, अहिले समय फेरिएको छ । गाउँ उही छन्, घर र आँगन पनि उस्तै छन्, तर त्यहाँ देखिने मानिसको भिड घट्दै गएको छ । चाडपर्व उही भए पनि पहिलेको जस्तो रौनकता हराउँदै गएको छ ।

रोजगारी, अध्ययन र अवसरको खोजीमा युवापुस्ता सहर तथा विदेशतिर लागेपछि गाउँमा वृद्धवृद्धाको संख्या बढी देखिन थालेको छ । यसले चाडपर्वमा देखिने सामूहिकता र गाउँको सामाजिक जीवनमा प्रत्यक्ष असर पारेको स्थानीय बताउँछन् ।

बेँसीसहर नगरपालिका– ११ का स्थानीय भावदत्त कमलीका अनुसार केही वर्षअघिसम्म चाडपर्व भनेको गाउँका सबै मानिस एकै ठाउँमा भेला हुने अवसर थियो । अहिले गाउँमा मानिसको संख्या घट्दै गएपछि सामूहिक रूपमा चाड मनाउने परम्परा पनि कमजोर हुँदै गएको छ ।

‘पहिले दसैँ–तिहार आउँदा गाउँमा छुट्टै उत्साह हुन्थ्यो । आफन्तहरू आउने, छिमेकीहरू भेला हुने र रमाइलो गरिन्थ्यो,’ कमलीले भने, ‘अहिले धेरै युवा विदेशमा छन् । कोही सहरमा छन् । घरमा भएका वृद्धवृद्धाले मात्र चाडपर्व धान्नुपर्ने अवस्था छ । त्यसैले पहिलेको जस्तो रमाइलो र सामूहिकता देखिँदैन ।’

कमलीका अनुसार चाडपर्व टीका, जमरा र नयाँ लुगा लगाउने अवसर मात्र थिएनन् । ती आफन्तसँग भेटघाट गर्ने, एक–अर्काको सुख–दुःखमा सहभागी हुने र सामाजिक सम्बन्ध बलियो बनाउने माध्यम पनि थिए । अहिले यस्ता सम्बन्ध बिस्तारै कमजोर हुँदै गएको उनको अनुभव छ ।

बेँसीसहर नगरपालिका– १०, बजाखेतका दिनेशराज विष्ट पनि गाउँमा चाडपर्वको पुरानो रौनकता हराउँदै गएको बताउँछन् । उनका अनुसार युवाहरू गाउँमा नहुँदा चाडपर्वको सामाजिक पक्ष कमजोर बनेको छ ।

‘पहिले दसैँ आउनुअघि नै गाउँमा कसको घरमा को आयो, को परदेशबाट फर्कियो भन्ने चर्चा हुन्थ्यो । सबैका घरमा चहलपहल हुन्थ्यो । अहिले धेरै घर सुनसान छन्’ विष्टले भने, ‘युवापुस्ता गाउँमा छैन । रोजगारीका लागि विदेश जाने क्रम बढेको छ । कतिपय पढ्नका लागि सहर गएका छन् । त्यसैले चाडपर्व आए पनि पहिलेको जस्तो गाउँ नै जाग्ने अवस्था छैन ।’

विष्टका अनुसार पहिले दसैँलाई लक्षित गरेर गाउँका बाटाघाटा सफा गर्ने, चौतारा सरसफाइ गर्ने र सार्वजनिकस्थल मर्मत गर्ने चलन थियो । गाउँलेहरू व्यक्तिगत कामभन्दा माथि उठेर सामूहिक काममा जुट्थे । अहिले यस्ता गतिविधि क्रमशः हराउँदै गएका छन् ।

बेँसीसहर नगरपालिका– ११ की सरिता श्रेष्ठलाई पनि अहिले गाउँमा दसैँ–तिहार आएजस्तो महसुस हुनछाडेको छ । उनका लागि चाडपर्वसँग जोडिएको सबैभन्दा ठुलो सम्झना सामूहिकता हो । गाउँलेहरू एक–अर्काको घरमा जाने, ठुलाबडाको हातबाट टीका लगाउने, बालबालिकालाई आशीर्वाद दिने, पिङ खेल्ने र साँझपख रमाइलो गर्ने समय अहिले सम्झनामा सीमित हुँदै गएको उनी बताउँछिन् ।

गाउँमै पर्याप्त रोजगारीका अवसर नहुँदा युवापुस्ता सहर तथा विदेशतर्फ आकर्षित भएको छ । अध्ययनका लागि पनि धेरै युवायुवती घरबाट टाढा छन् । यसको आर्थिक प्रभावसँगै सामाजिक र सांस्कृतिक अवसरसमेत देखिन थालेको गुल्मीको मालिका गाउँपालिका– ७, घमिरका ८६ वर्षीय शिवबहादुर थापाको भनाइ छ ।

युवा गाउँमा हुँदा चाडपर्वको तयारीदेखि सामूहिक कार्यक्रमसम्म उनीहरूको भूमिका महत्वपूर्ण हुन्थ्यो । पिङ हाल्ने, बाटो सफा गर्ने, सांस्कृतिक कार्यक्रम आयोजना गर्ने, देउसीभैलो खेल्ने तथा सार्वजनिकस्थलको सरसफाइ गर्ने काममा युवाहरू अग्रसर हुन्थे । अहिले यस्ता गतिविधिमा सहभागी हुने जनशक्ति नै कम भएको छ ।

पिङ छ, खेल्ने मान्छे छैनन्
दसैँ–तिहारको अर्को महत्वपूर्ण पहिचान पिङ पनि हो । दसैँ–तिहारमा बालबालिकादेखि युवासम्म पिङ खेल्न तँछाडमछाड गर्थे । पिङवरिपरि मानिसको भिड लाग्थ्यो र गाउँमा उत्सवको वातावरण बन्थ्यो । तर, अहिले कतिपय गाउँमा पिङ हाल्ने चलनसमेत कमजोर हुँदै गएको छ । पिङ हाल्ने युवा नहुँदा, खेल्ने समूह घट्दा र परम्परालाई निरन्तरता दिने जनशक्ति कम हुँदा यसको रौनकता पनि हराउँदै गएको गुल्मीको मालिका गाउँपालिका– ७, घमिरका स्थानीय भीमसेन थापा बताउँछन् । देउसीभैलो, सामूहिक नाचगान, सांस्कृतिक कार्यक्रम र सामूहिक भोजजस्ता गतिविधि पनि पहिलेको तुलनामा सीमित हुँदै गएका छन् । यस्ता गतिविधि मनोरञ्जनका साधन मात्र नभई गाउँलेबिच आत्मीयता र एकता बढाउने माध्यमसमेत थिए ।

कमजोर बन्दै सामूहिक श्रम संस्कृति
लमजुङ र गुल्मीका ग्रामीण बस्तीमा चाडपर्व सामाजिक एकताको मात्र नभई सामूहिक श्रम संस्कृतिको पनि महत्वपूर्ण हिस्सा थिए । गाउँको बाटो बिग्रिए सबै मिलेर मर्मत गर्ने, सार्वजनिक धारा तथा चौतारा सफा गर्ने र मन्दिर तथा सामुदायिकस्थलको संरक्षण गर्ने काममा गाउँलेहरू एकजुट हुन्थे ।

दसैँ–तिहारजस्ता ठुला चाड आउँदा यस्ता कामले थप गति लिन्थे । तर, गाउँबाट मानिसको पलायन बढ्दै जाँदा सामूहिक श्रमको परम्परा पनि कमजोर हुँदै गएको स्थानीयको अनुभव छ ।

पहिले ‘मेरो घर’भन्दा ‘हाम्रो गाउँ’ भन्ने भावना बलियो रहेको स्थानीय बताउँछन् । अहिले मानिसहरू परिवार र व्यक्तिगत आवश्यकतामा बढी केन्द्रित हुन थालेका छन् । प्रविधि र सामाजिक सञ्जालले टाढा रहेका मानिसलाई सम्पर्कमा राखे पनि गाउँमा प्रत्यक्ष झेटघाट र सामाजिक अन्तर्त्रिया घट्दै गएको उनीहरूको बुझाइ छ ।

स्थानीय अगुवाहरूका अनुसार समयसँगै चाडपर्व मनाउने शैली परिवर्तन भए पनि गाउँको मौलिक संस्कृति र सामूहिक भावना जोगाउनु आवश्यक छ । युवालाई गाउँसँग जोड्ने कार्यक्रम, स्थानीयस्तरमा रोजगारी सिर्जना, सामुदायिक सांस्कृतिक कार्यक्रम तथा खेलकुद गतिविधिमार्फत नयाँ पुस्तालाई गाउँसँग जोड्न सकिन्छ ।

चाडपर्वलाई व्यक्तिगत वा पारिवारिक उत्सवमा मात्र सीमित नराखी सामाजिक एकता बलियो बनाउने अवसरका रूपमा विकास गर्नुपर्ने आवश्यकता देखिएको छ । विदेशमा रहेका युवालाई चाडपर्वका वेला गाउँ फर्किन सहज हुने वातावरण बनाउनु र गाउँमा सामुदायिक कार्यक्रमलाई निरन्तरता दिनु पनि महत्वपूर्ण हुने स्थानीयको भनाइ छ । 

सुझावित समाचार