- रसियाको एल्ब्रस हिमाल पहिले हिउँले ढाकिएको हुन्थ्यो, अहिले चट्टानमा परिणत हुँदै गएको छ, यसकारण आरोहणको प्रकृति पनि बदलिँदै गएको छ
गत २७ अगस्टको बिहान ६:३० बजे । मौसम सफा थियो । रसियाको सर्वोच्च शिखर माउन्ट एल्ब्रस (५,६४२ मिटर)मा बिहानको घाम उदाइसकेको थियो । सुन्दर र सफा मौसममा पर्वतारोही चतुर तामाङले दुई सय सातौँपटक पाइला टेके । सगरमाथा नौपटक आरोहण गरिसकेका चतुर एल्ब्रस चढ्दै गर्दा सोही दिन खराब मौसमका कारण सातजना विदेशी आरोहीले ज्यान गुमाएका थिए ।
चतुरका लागि त्यो ऐतिहासिक बिहान बन्यो । प्रतिकूल परिस्थितिका बाबजुद उनी एल्ब्रसको शिखर पुगे । उनी भन्छन्, ‘मौसम एकदमै खराब थियो । हावाहुरी र कालो बादलका कारण अन्धकारमय अवस्था थियो । ती सबैको बाबजुद दुई सय सातपटक एल्ब्रस पुग्न सफल भएँ ।’
चतुरले शिखरबाट फर्कँदै गर्दा बाटो बिराएका दुई–तीनजना रुसी आरोहीको समेत उद्धार गरे । किनभने उनका लागि त्यो बाटो अपरिचित थिएन । एल्ब्रसमा पटक–पटकको आरोहणले कुन दिशाबाट फर्कने ? कुन भूभागमा कस्तो जोखिम हुन सक्छ ? भन्ने अनुभव उनले बटुलिसकेका थिए । उनले ती आरोहीलाई आफूलाई पछ्याउन भने । उनको बाटो पछ्याउँदै उनीहरू सुरक्षित फर्कन सफल भए । ‘एल्ब्रसको करिब पाँच हजार तीन सय मिटर उचाइमा रहेको होचो भाग (स्याडल) क्षेत्र आरोहीका लागि विशेष जोखिमपूर्ण मानिन्छ । त्यहाँ ह्वाइटआउट भयो भने वरिपरि केही देखिँदैन । आँखै चिम्लिएर हिँडेजस्तो हुन्छ,’ उनी भन्छन्, ‘हावाहुरी, कालो बादल र हिमपातले पहिले बनेका पदचिह्न समेत मेटिदिन्छ । जीपीएस र वाकीटकीले समेत साथ दिँदैन । अन्धकारमय अवस्था हुँदा अनुभवी आरोहीसमेत बाटो बिराउन सक्छन् ।’
चतुरका अनुसार तीन/चार पटक एल्ब्रस चढिसकेका अनुभवी आरोहीसमेत पाँच हजार तीन सय ५० मिटर आसपासमै ज्यान गुमाएका उदाहरण धेरै छन् । ‘जोखिम त हिमालमा सधैँ हुन्छ । सानो वा ठुलो जे भए पनि हिमाल भनेको हिमाल नै हो,’ उनी भन्छन् ।
एल्ब्रसको दुई सय सातपटक आरोहण चतुरका लागि अर्को कारणले पनि महत्वपूर्ण थियो । उनले यसअघि नै सार्वजनिक रूपमा दुई सयपटक एल्ब्रस चढ्ने घोषणा गरेका थिए । घोषणा गरेपछि त्यसलाई पूरा गर्नुपर्ने जिम्मेवारीले पनि उनलाई निरन्तर अघि बढाइरहेको थियो । ‘एल्ब्रस दुई सयपटक चढ्छु भनेर सार्वजनिक रूपमै घोषणा गरेको थिएँ । त्यसैले पनि चढ्नैपर्ने थियो,’ उनी भन्छन् । एल्ब्रस उनका लागि आरोहणको संख्या पूरा गर्ने हिमाल मात्र थिएन, यो नेपालको पहिचान बोकेर हिँड्ने एउटा माध्यम पनि थियो । ‘मेरो मुख्य उद्देश्य नै नेपाललाई चिनाउने हो । नेपालीहरू पनि विदेशका हिमालमा यति धेरैपटक चढेका छन् भन्ने सन्देश दिनका लागि पटक–पटक एल्ब्रस गएको थिएँ,’ उनी भन्छन् ।
हिमालमा पाँच घण्टा हराएँ
चतुरको अनुभवमा एल्ब्रसको मौसम अप्रत्याशित किसिमको छ । यहीकारण उनले एल्ब्रसमा आरोहण गर्दा प्राविधिक कठिनाइभन्दा मौसमलाई ठुलो चुनौतीका रूपमा देखे । सन् २००६ मा एल्ब्रसमा करिब २८ जनाको मृत्यु भएको घटना चतुरलाई अझै सम्झना छ । एल्ब्रसको जोखिम चतुरले अरूको कथाबाट बुझेका होइनन् । उनी आफैँ भुक्तभोगी हुन् । सन् २०१६ को एउटा घटना उनको स्मृतिमा अझै ताजा छ । ह्वाइटआउटका कारण उनीसहित आठजनाको टोली बाटो बिराएर करिब चार घण्टासम्म हराएका थिए । त्यसमाथि टोलीका एक सदस्यलाई चट्याङले समेत हानेको थियो । शिखर पुग्नै लाग्दा उनी करिब पाँच मिनेट बेहोस भएका थिए । ‘त्यतिवेला दृश्य पूर्ण रूपमा शून्य थियो । करिव पाँच घण्टासम्म टोली यताउता भौँतारिइरह्यौँ । बाटो पहिचान गर्ने कुनै आधार थिएन । शरीर थाकिसकेको थियो । मनमा डर बढ्दै गएको थियो,’ त्यो समय सम्झँदै उनी भन्छन्, ‘घाँटीसमेत सुकेर अब कसरी मर्ने होला ? जस्तो भएको थियो ।’
वर्षौंँको अनुभवले चतुरलाई साथ दियो । कुन दिशातर्फ जानुपर्छ भन्ने अनुमान गर्न उनको अनुभवले सहयोग गर्यो । अन्ततः उनी आफ्नो टोलीलाई सुरक्षित निकाल्न सफल भए । ‘म नभएको भए त्यो टिमका सबैजना त्यहीँ रहन सक्थे । अवस्था निकै जटिल थियो । धेरैपटक चढेपछि दिमागले कुन साइड जाने भनेर काम गर्यो,’ उनी भन्छन् ।
दुई दशकअघि सुरु भएको एल्ब्रस यात्रा
रुससँग चतुरको सम्बन्ध सन् २००२ बाट सुरु भयो । त्यसको अर्को वर्ष अर्थात् सन् २००३ मा उनले पहिलो पटक एल्ब्रस चढे । त्यो आरोहण उनको अहिलेको अनुभवको तुलनामा निकै फरक थियो । अप्रिल एल्ब्रसको कठिन समयमध्ये एक हो, तीव्र हावाले हिउँ उडाउँदा कतिपय ठाउँमा हिउँ नै हटेर ‘ब्लु आइस’ देखिन्छ । अत्यधिक चिसोमा क््रयाम्पोन (जुत्तामा जडान गरिने उपकरण)ले समेत अपेक्षाअनुसार काम नगर्न सक्छ । ‘सबैभन्दा डरलाग्दो समयमा मैले पहिलोपटक एल्ब्रस चढेको थिएँ,’ उनी भन्छन् ।
सुरुमा चतुर आफैँ आरोहीका रूपमा एल्ब्रस जान्थे । अनुभव बढ्दै गएपछि रुसका विभिन्न पर्वतारोहण कम्पनीसँग पथप्रदर्शकका रूपमा काम गर्न थाले । त्यसपछि स्थानीय, रुसी नागरिक र अन्य पथप्रदर्शकसँग उनको सम्बन्ध पनि गहिरिँदै गयो । जुन, जुलाई र अगस्ट एल्ब्रसको मुख्य आरोहण सिजन मानिए पनि चतुरको यात्रा यी तीन महिनामा मात्र सीमित छैन । जनवरी, फेब्रुअरी, मार्च, अप्रिल र मेमा समेत उनले आरोहण गरेका छन् । समूह लिएर जाँदा उनी पथप्रदर्शकको जिम्मेवारीसमेत सम्हाल्छन् । एल्ब्रस मात्र होइन, उनले कञ्चनजंघा, ल्होत्से, मनास्लु, सगरमाथा, चोयुलगायत आठ हजार मिटरभन्दा अग्ला हिमाल पनि २२ पटक आरोहण गरिसकेका छन् ।
सगरमाथादेखि एल्ब्रससम्म
चतुर सगरमाथाको काख, सोलुखुम्बुमा जन्मिए । बाल्यकाल त्यहीँ उकाली–ओराली गर्दै बिताए । त्यही जीवनशैलीले अहिले आफू शारीरिक रूपमा फिट रहन सहयोग गरेको उनी ठान्छन् । सात दाजुभाइ र दुई दिदीबहिनीको कृषिमा आश्रित ठुलो परिवार थियो । परिवार ठुलो भए पनि सबैजना एकैपटक विद्यालय जान सक्ने अवस्था थिएन । ‘आज म स्कुल गए, भोलि अर्को, पर्सि अर्को गरेर विद्यालय जान्थ्यौँ,’ उनी बाल्यकाल सम्झन्छन् । गाई, भैँसी, भेडा र बाख्रा चराउनेदेखि खेतीपातीसम्मका काम उनको दैनिक जीवनको हिस्सा थियो । बिहानै जंगल जानुपर्थ्यो ।
आज संसारका अग्ला हिमालमा पथप्रदर्शकका रूपमा काम गरिरहेका चतुरको सुरुवात भने किचन ब्वाईका रूपमा सुरु भएको थियो । उनका दाइ पर्वतारोहणसम्बन्धी कम्पनीमा काम गर्थे । दाइकै कारण उनी काठमाडौं आएका थिए । एसएलसी उत्तीर्ण गरिसकेका थिए, तर पर्वतारोहणको सिप थिएन । त्यसैले सुरुमा भरिया वा किचन हेल्परका रूपमा हिमालतिर जानुपर्ने भयो । सोलुखुम्बुका चिनजानका दाइ कुकका रूपमा काम गर्थे । उनकै माध्यमबाट चतुरले किचन ब्वाईको काम पाए ।
सन् १९९५ तिर चतुरले साना हिमालमा जाने अवसर पाए । जाडोमा काम कम हुने भएकाले कम्पनीको पर्यटक बोक्ने गाडीमा केही समय सहचालकका रूपमा पनि काम गरे । चालक नभएको वेला गाडीसमेत चलाउन थाले । एक दिन अचानक भएको सानो दुर्घटनापछि कम्पनीबाट निकालिए । केही पैसा लिएर उनी फेरि सोलुखुम्बु नै फर्किए । आमाबुबालाई सहयोग गर्दै बसे । त्यसपछि उनको यात्रा लुक्लातर्फ मोडियो । त्यहाँ उनले एक होटेलमा व्यवस्थापकको जिम्मेवारी पाए । व्यवस्थापक भनिए पनि उनले भाँडा माझ्ने, पैसा उठाउने, खाना बनाउने, सरसफाइ गर्ने, सबै काम गर्नुपर्यो ।
सोलुखुम्बुमै चतुरको पथप्रदर्शकका रूपमा काम गर्ने एक दाइसँग चिनजान थियो । ती दाइ भारतको लद्दाख र जम्मु–कस्मिरसम्म पर्यटक लिएर जान्थे । उनलाई पनि नयाँ ठाउँ हेर्ने र हिमाल बुझ्ने इच्छा थियो । आफूसँग भएको करिब १५ सय रुपैयाँबराबरको घडी दिएर उनी भारत गए । ‘पैसा कमाउनुभन्दा अनुभव बटुल्नु थियो,’ उनी भन्छन् ।
चतुरले भारतमा एक सिजनमा करिब चार महिना सहयोगीका रूपमा काम गरे । करिब पाँच हजार पाँच सय मिटरआसपासका पासहरू पार गर्ने अवसर पाए । त्यही अनुभवले उनलाई हेल्परबाट पथप्रदर्शकतर्फ धकेल्यो । त्यसपछि सन् १९९६ ताका उनी पर्यटकलाई हिमालको आधार शिविरसम्म पुर्याउने काम गर्न थाले । त्यहीवेला उनको मनमा भने हिमाल चढ्ने इच्छा बलियो हुँदै गइरहेको थियो अवसर पाइसकेका थिएनन् ।
त्यही वर्ष एकजना पाहुना बिरामी परेपछि आरोहणमा जान सकेनन् । उनले प्रयोग गरेका आरोहणका अधिकांश सामान चतुरलाई मिल्ने भयो । आफू शारीरिक र मानसिक रूपमा सक्षम रहेको विश्वासका आधारमा उनले हिमाल चढ्ने निर्णय गरे । यही निर्णयले उनको जीवनको दिशा बदलिदियो । पहिलो आरोहणको सुरुवातमा उनको यात्रा योजनाबद्ध थिएन । उनले ६ हजार मिटरको कान्जी पिक आरोहण गरे । उकालो चढ्न खासै कठिन भएन । तर, फर्किन गाह्रो भयो । ओरालो झर्ने तरिका जानकारी थिएन । ‘उकालो खासै गाह्रो थिएन । ओरालो फर्कँदा अरूले नै तयारी गरेको डोरी समातेर आएको हो । तैपनि तरिकाबारे जानकारी नभएकाले मलाई ओरालो झर्न गाह्रो भएको थियो,’ उनी भन्छन् ।
विनायोजना हिमाल चढेपछि चतुरलाई अर्को सिजनमा प्रशिक्षणमा पठाइयो । तर, प्रशिक्षणअघि नै उनले ६ हजार मिटरभन्दा माथिका ५–६ वटा हिमाल चढिसकेका थिए । नेपालमा पनि मेरा पिक, लबुचे र आइसल्यान्ड पिकलगायत हिमाल उनले प्रशिक्षणविनै चढे । सन् २००१ मा दार्जिलिङबाट पर्वतारोहणसम्बन्धी आधारभूत तालिम लिए । सन् २००२ मा त्यहीँबाट एड्भान्स तालिम लिए । पथप्रदर्शकसम्बन्धी अन्य तालिम पनि लिएपछि उनले व्यावसायिक पथप्रदर्शकका रूपमा काम गर्न थाले ।
त्यसपछि उनको यात्रा उचाइतर्फ निरन्तर अघि बढ्यो । सन् २००७ मा बरुन्चे, २००९ मा चोयु र २०१२ मा विश्वकै सर्वोच्व शिखर सगरमाथा आरोहण गरे । पाँच, छ, सात र आठ हजार मिटरका हिमाल पार गर्दै उनी संसारकै अग्लो हिमालको चुचुरोसम्म पुगे ।
सगरमाथाका लागि चतुरले लामो अभ्यास गरेका थिए । ७५ किलोग्रामसम्मको भारी बोकेर हिँडेका थिए । त्यसैले शिखर आरोहण अपेक्षा गरेभन्दा सहज भएको उनी सम्झन्छन् । शिखरमा पुगेपछि आएको भावनालाई उनी शब्दमा व्यक्त गर्न सक्दैनन् । उनी भन्छन्, ‘शिखरमा पुग्दा एकदमै खुसी भएँ । शून्य भएँ । जब बेसक्याम्प आइपुगेँ, मेरो नाम पनि इतिहासमा रहने भयो भनेर धेरै रोएँ ।’
मृत्यु सहयात्रीजस्तै
पर्वतारोहणले चतुरलाई शिखरको खुसी मात्र दिएको छैन, बारम्बार मृत्यु पनि देखाएको छ । सन् २००९ मा चोयु आरोहणका क्रममा शिखर पुगेर फर्किएपछि उनीहरूले एकजना अमेरिकी आरोहीको मृत्यु देखे । सन् २०१२ मा सगरमाथा आरोहणका क्रममा पनि उनीहरूले बाटोमा जीवनको अन्तिम अवस्थामा पुगेका आरोहीहरू देखे । कतिपय अवस्थामा मृत शरीर नाघेरै अघि बढे । कतिपय अवस्थामा जीवितै भए पनि अन्तिम अवस्थामा पुगेका आरोहीलाई भेटे । एकपटक उनी र उनका साथीले अक्सिजन दिएर एक आरोहीलाई बचाउने प्रयाससमेत गरे । तर, सफल हुन सकेनन् । ‘सुरु–सुरुमा बाटोमा त्यस्ता मृत शरीर देख्दा डर लाग्थ्यो । विस्तारै मान्छे जन्मेपछि मृत्यु ग्यारेन्टी हुन्छ । मृत्यु नै अन्तिम सत्य भन्ने भएपछि डर कम लाग्न थाल्यो,’ उनी भन्छन् ।
आरोहणमा उनी असफल पनि भएका छन् । कहिले मौसमले साथ दिएन, कहिले पाहुना हिँड्न सकेनन्, कहिले बिरामी परे । एल्ब्रसमा पनि धेरैपटक असफल भएका छन् । आठ हजार मिटरभन्दा अग्ला हिमालमा तीन–चारपटक असफल भएका छन् । सन् २०२२ मा सगरमाथा आरोहणकै क्रममा पनि उनी क्याम्प ३ बाट फर्किनुपर्यो ।
कालो हुँदै हिमाल
अहिले चतुरलाई सबैभन्दा बढी चिन्ता आफ्नै आरोहणको सफलताले भन्दा हिमालको बदलिँदो स्वरूपले दिनथालेको छ । सन् २००३ मा एल्ब्रस चढ्दा उनले करिब दुई हजार आठ सय मिटर उचाइसम्म टमक्क हिउँ देखेका थिए । अहिले करिब चार हजार मिटरआसपाससम्म पनि हिउँ नदेखिने अवस्था आएको उनको अनुभव छ । ‘पछिपछि त सबै हिमालमा हिउँ नै हुन्न होलाजस्तो छ,’ उनी भन्छन् ।
चतुरको अनुभव एल्ब्रसमा मात्र सीमित छैन, अर्जेन्टिनाका हिमालहरूमा पनि हिउँ घट्दै गएको देखेका छन् । सात हजार मिटरआसपासका हिमालका चुचुरासमेत कतिपय ठाउँमा खाली र कालो देखिन थालेको उनी बताउँछन् । सगरमाथा क्षेत्रमा पनि परिवर्तन भइरहेको देखेका छन् । आधार शिविरबाट देखिने वरिपरिका भित्ताहरूमा हिउँको ठाउँमा पहाड र चट्टान बढी देखिन थालेको उनको अनुभव छ ।
आइसल्यान्ड पिकको अवस्था चतुरलाई अझ स्पष्ट लाग्छ । सन् २००४ ताका उनी त्यहाँ जाँदा चारैतिर हिउँ मात्र देखिन्थ्यो । अहिले कालो चट्टान र ढुंगा धेरै देखिन थालेको छ । हिउँ घट्दै जाँदा जोखिमको स्वरूप पनि फेरिएको उनको अनुभव छ । माथिबाट ढुंगा झर्ने जोखिम बढ्दै गएको छ । हिमपरिरोको घटना बढेका छन् । हिउँले ढाकिएका भूभाग चट्टानमा परिणत हुँदै गएपछि आरोहणको प्रकृति पनि बदलिँदै गएको छ ।