- विश्वप्रकाश शर्मा नेविसंघको सभापति हुँदा गगन थापा उपसभापति थिए, अहिले गगन पार्टी सभापति भइसक्दा पनि वरिष्ठ उपसभापति विश्वलाई आदरणीय नेता मान्छन्
‘यात्राको सुरुवात हो, लक्ष्यको प्राप्ति होइन ! हिँड्नु धेरै छ हामीले, गन्तव्यमा पुर्याउनु छ देशलाई । अफ्ठ्यारा आउँछन्, सामना गर्नु छ संयमले । जोड्नु छ भिन्न मत र मनहरू । पछ्याउनु छ विगतका गौरव, सच्याउनु छ कमजोरी । इमानदार रहनु छ इतिहासप्रति, सम्भव तुल्याउनु छ समुन्नति । हामीले ‘सक्नुपर्छ र सक्नेछौँ’ । अपार विश्वास र दृढ साथका साथ, उभिएको छु साथमा, लामबद्ध छौँ साथमा । लु ब्रदर– बलियो कमान्डका लागि शुभकामना !’ कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछि सर्वसम्मत वरिष्ठ उपसभापति चयन भएका विश्वप्रकाश शर्माले शुभकामना दिँदै सामाजिक सञ्जालमा लेखेका पंक्ति हुन् यी । गगन र विश्वको सम्बन्ध विद्यार्थी राजनीतिदेखिकै हो । तर, उनीहरूको पोजिसन भने अहिलेको भन्दा ठिक उल्टो थियो ।
सभापति निर्वाचित भएपछि २४ असोजमा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा गगनले भने, ‘मेरो छेउमा आदरणीय नेता विश्वप्रकाश शर्मा हुनुहुन्छ । म अघिल्लो महाधिवेशनबाट महामन्त्री निर्वाचित भइसकेपछि घरमा थिएँ । मलाई अहिले पनि याद छ, निर्वाचनको परिणामपछाडि विश्वप्रकाश शर्मा झापामा हुनुहुन्थ्यो । त्यसपछि मेरो घरमा आउनुभयो । मेरो बुबा र आमालाई भेट्नुभयो र आशीर्वाद लिनुभयो । त्यसपछि मेरो बुबा र आमालाई राखेर विश्वप्रकाशले भन्नुभएको थियो– म पनि महामन्त्री हुँ, गगन पनि महामन्त्री हो । म कुनै वेला गगनको नेविसंघको सभापति थिएँ । तर, आज मैले महामन्त्रीको रूपमा गगन थापालाई बधाई दिन मात्र आएको होइन, योभन्दा अगाडिको यात्रामा एकपटक नेपाली कांग्रेसको सभापति गगन थापालाई बनाउने हो र गगनको नेतृत्वमा नेपाली कांग्रेस पार्टीलाई नयाँ ढंगले लिएर जाने हो । बुबा र आमाको अगाडि यो भन्छु’ भनेर भन्नुभएको थियो । मैले यो कुरालाई सँधैभरि सम्झिएँ ।’
गगनले थपे, ‘कतिपय साथीहरू कहिलेकाहीँ के भन्नुहुन्थ्यो भने तपाईंहरूले भन्ने मात्रै हो । तपाईंहरूको भित्रभित्रै प्रतिस्पर्धा हुन्छ । एक–अर्कालाई भित्रभित्रै छुरा हान्नुहुन्छ । मैले साथीहरूलाई भन्थेँ– हामीले धेरै कुरा नयाँ स्थापित गर्नुपर्नेछ । हामीभन्दा अगाडिका पुस्ताका नेताले एक–अर्कासँगको सम्बन्ध व्यक्तिगत जीवनमा, राजनीतिक जीवनमा संघर्षको लामो यात्रा सँगै गर्नुभयो । तर, पार्टीको जिम्मेवारी लिने वेलामा र देशको जिम्मेवारी लिने वेलामा एक–अर्काको लडाइँले वर्षौँदेखिको सम्बन्ध विच्छेद भएर सडकमा आयो । गगन र विश्वप्रकाशको सम्बन्धले त्यो परिभाषालाई पनि बदल्छ भन्ने विश्वास हाम्रो सम्बन्धले राखेको छ । र, भविश्यमा पनि राख्छ भन्ने विश्वास पनि राख्छु र आदरणीय नेता विश्वप्रकाश शर्माप्रति हृदयबाटै आभार र सम्मान पनि प्रकट गर्न चाहन्छु ।
विसं २०५७ मा विश्व नेविसंघको सभापति थिए भने गगन उपसभापति । दुवैको गुट एउटै थियो– संस्थापन अर्थात् कोइराला पक्ष । त्यतिवेला कांग्रेसमा मुख्य दुई गुट थिए, एउटा कोइराला पक्ष र अर्को कृष्णप्रसाद भट्टराई–शेरबहादुर देउवा पक्ष ।
गोविन्द भट्टराई नेतृत्वको नेविसंघमा विश्व उपसभापति थिए । उक्त कार्यसमिति तीन वर्ष चलेपछि विघटन भयो र भट्टराईकै नेतृत्वमा तदर्थ समिति बन्यो । चितवनमा ०५७ मा नेविसंघको आठौँ महाधिवेशनमा पार्टीको गुटअनुसार नै नेविसंघमा दुई प्यानल खडा भए ।
गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, कृष्ण सिटौलालगायतका गुटबाट विश्व सभापतिका उम्मेदवार बने भने भट्टराई, देउवा पक्षबाट किशोरसिंह राठोर । विश्व सभापतिमा निर्वाचित भए । विश्व नेतृत्वकै प्यानलमा गगन तत्कालीन मध्यमाञ्चल क्षेत्रबाट उपसभापतिमा निर्वाचित भए भने महामन्त्रीमा यादव पण्डित । बहुसंख्यक पदाधिकारी र केन्द्रीय सदस्य पनि विश्व प्यानलबाटै निर्वाचित भए । कोइराला पक्षमै रहेका विकास कोइराला पनि गगनसँग प्रतिस्पर्धामा थिए । चितवनमै महाधिवेशन भएकाले विकासलाई चिढ्याउने पक्षमा विश्व थिएनन् । १५औँ महाधिवेशनमा जस्तै गगन र विकासको सवालमा नेतृत्व मौन बस्यो । भित्री सपोर्ट भने गगनलाई नै रहेको नेताहरू बताउँछन् ।
‘कांग्रेसमा त्यतिवेला दुई गुट थियो । नेविसंघमा पनि दुइटै गुट भयो । हामीले निर्वाचन जित्यौँ । अर्को पक्षका धेरै साथी पराजित हुनुभयो ।’ तत्कालीन महामन्त्री पण्डित स्मरण गर्छन् । पण्डितका अनुसार त्यही क्रममा कांग्रेस विभाजन भयो । अधिकांश भातृ संगठनको नेतृत्व देउवा पक्षतिर लाग्दा नेविसंघ भने अपवाद बन्यो । महाधिवेशनमा पराजित किशोरसिंह राठोरको नेतृत्वमा देउवा पक्षले अर्को कमिटी बनायो । देउवा पक्षबाट निर्वाचित भएका पदाधिकारी र केन्द्रीय सदस्यहरू राठोरको कमिटीमा आबद्ध भए । त्यसपछि सभापति शर्माले १२ जनालाई मनोनीत गरे । सहमहामन्त्रीको जिम्मेवारी पाए प्रदीप पौडेल र गुरुराज घिमिरेले । देउवा पक्ष निस्किएपछि नेविसंघमा फेरि बलिया दुई गुट देखिए ।
नेविसंघमा कार्यालयमै झगडासमेत हुन्थ्यो । विश्व–गगन एकैतिर हुन्थे । झगडा भए पनि व्यक्तिगत रूपमा भने रिसइबी राख्ने काम कहिल्यै नभएको पण्डित स्मरण गर्छन् ।
दुई वर्षमा ०५९ मा वीरगञ्जमा नवौँ महाधिवेशन भयो । वीरगञ्ज महाधिवेशनमा पुग्दा एउटा गुटको नेतृत्व सभापति विश्वले गरे भने अर्को गुटको नेतृत्व महामन्त्री यादवले । कांग्रेस संस्थापनको तर्फबाट गुरुराज घिमिरे सभापतिको उम्मेदवार बने भने पण्डित पनि सभापतिमै भिडे । विश्वले गुरुलाई सभापतिमा अघि सारे, त्यसमा पार्टीको पनि समर्थन थियो । जसमा कोइराला परिवारका साथै पार्टीले विद्यार्थी हेर्ने गरी खटाएका नेता कृष्ण सिटौलासहित अर्जुननरसिंह केसीलगायतको साथ थियो । अर्को टिमको नेतृत्व यादव पण्डितले गरे । पण्डित पक्षलाई पूर्वअध्यक्ष गोविन्द भट्टराई, सरिता प्रसाईं, महादेव गुरुङलगायतको समर्थन थियो ।
पण्डितलाई पराजित गर्दै घिमिरे सभापतिमा निर्वाचित भए । घिमिरेले थापालाई महामन्त्रीमा मनोनीत गरे । त्यसअघि महामन्त्री निर्वाचित हुने व्यवस्था भए पनि वीरगञ्ज महाधिवेशनमा मनोनीतको व्यवस्था गरिएको थियो ।
‘पार्टी विभाजन नभएको अवस्थामा नेविसंघमा दुई गुटको प्रभाव थियो । त्यो अवस्थामा हामी एउटै गुटमा भयौँ । पार्टी विभाजन भएपछि फरक अवस्था बन्यो,’ पण्डित स्मरण गर्छन्, ‘महाधिवेशनसम्म पुग्दा विश्व–गगनको एउटा र हाम्रो अर्को समूह बन्यो । अहिलेको जस्तो सभापतिलाई डोमिनेट गर्ने अवस्था थिएन । सिस्टमेटिक रूपमा नै कमिटी चल्यो । पार्टी विभाजनपछि नेविसंघमा नयाँ गुट बन्यो । विश्व, गगन, गुरु, प्रदीप, बद्री एकातिर भए भने वासु कोइराला, केदार कार्की, रञ्जित कर्ण, केशव सिंहलगायत अर्कोतिर ।’ पूर्वअध्यक्ष धनराज गुरुङ, पूर्वमहामन्त्री चन्द्र भण्डारीहरूको सहयोग विश्व–गगनलाई भएको उनी सम्झिन्छन् । भन्छन्, ‘नेविसंघका हामी बराबरीकै स्थितिमा थियौँ । तर, पार्टीले उहाँहरूलाई बोकेपछि हामी पराजित भयौँ । कांग्रेसमा विशेष महाधिवेशन गर्नेहरू वीरगञ्ज गुटकै हुनुहुन्छ । तत्कालीन पार्टीले च्यापेको हुनाले त्यो गुट बलियो बन्दै गयो ।’
विश्वको नेतृत्वमा दुई वर्षमै नेविसंघको अधिवेशन सम्पन्न भएको थियो । गगन भने नेविसंघको नेतृत्वमा पुग्न सकेनन् । गुरुराज घिमिरे र प्रदीप पौडेलले पनि नेविसंघको नेतृत्व सम्हाले ।
विश्व–गगनको सम्बन्ध जहिल्यै सुमधुर रहेको गुरुराज घिमिरे स्मरण गर्छन् । घिमिरेले विद्यार्थीदेखि पार्टीको पदाधिकारीसम्म सँगै काम गरेका छन् । ‘उहाँहरूबिच जहिल्यै सुमधुर सम्बन्ध देख्छु,’ घिमिरे भन्छन् ।
विद्यार्थी राजनीतिबाट स्थापित गगन–विश्व दुवैजना ०७२ को १३औँ महाधिवेशनबाट कांग्रेस केन्द्रीय कार्यसमितिमा विजयी भए । १४औँ महाधिवेशनमा गगन महामन्त्रीको प्रत्यासी बने । तर, पराजित भए । तत्कालीन सभापति शेरबहादुर देउवाले गगनलाई केन्द्रीय समितिमा मनोनीत गरे । गगनभन्दा ६ वर्षले जेठा विश्व पनि केन्द्रीय सदस्यमै सीमित भए ।
१४औँ महाधिवेशनमा गगन र विश्व दुवै महामन्त्रीका उम्मेदवार बने र दुवै विजयी भए । तर, उनीहरूको प्यानल फरक–फरक थियो । गगन शेखर कोइराला प्यानलबाट र विश्व प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीका उम्मेदवार थिए । विश्वभन्दा एक हजार बढी मतले गगन निर्वाचित भए । तत्कालीन निर्वाचित सभापति देउवा प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका दुवैजना प्रकाशशरण महत र प्रदीप पौडेल पराजित भएका थिए ।
१५औँ महाधिवेशन हुन नपाउँदै २३–२४ भदौ २०८२ मा जेन–जी आन्दोलन भयो । त्यसपछि गगन–विश्वको नेतृत्वमा विशेष महाधिवेशन भयो । आफूभन्दा ६ वर्ष कान्छा, विद्यार्थी आन्दोलनका कार्यकर्ता तथा समान हैसियतका महामन्त्री गगनलाई विश्वले सभापतिमा सहजै स्वीकार गरे । ०५१ मा गगन त्रिचन्द्र कलेजको स्ववियू सदस्य र त्यसको चार वर्षपछि स्ववियू सभापति बनेका थिए । त्यतिवेला विश्वले गगनलाई साथ दिएको निकट नेताहरू स्मरण गर्छन् ।
राजनीतिमा दरबारको हस्तक्षेप बढ्दै जाँदा विद्यार्थी आन्दोलन चर्किएको थियो । गगन आन्दोलनको अग्रमोर्चामा थिए । २०६२/६३ को जनआन्दोलनमा कांग्रेसले निर्णय नगर्दै नेविसंघले गणतन्त्रको नारा लगाएको थियो ।
गगन पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक सांसद बने । दोस्रो संविधान निर्वाचनमा काठमाडौंबाट निर्वाचित भए । त्यसपछि ०७४ र ०७९ मा पनि गगन सांसद निर्वाचित भए । संसदीय समितिको सभापति र स्वास्थ्यमन्त्रीको जिम्मेवारी पनि सम्हाले ।
गगन दोस्रो प्रयासमा महामन्त्री निर्वाचित हुँदा शर्मा पहिलो प्रयासमै महामन्त्रीमा निर्वाचित भए । विश्व ०७९ को निर्वाचनमा सांसद निर्वाचित भए पनि मन्त्रीको जिम्मेवारी सम्हालेका छैनन् । विश्वले १३औँ महाधिवेशनपछि देउवा सभापति बन्दा कांग्रेस प्रवक्ताको जिम्मेवारी पनि सम्हालेका थिए । १४औँ महाधिवेशनमा देउवा समूहबाट पदाधिकारीमा नपरेपछि विश्वले प्रकाशमान प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए । पहिलो प्रयासमै उनी महामन्त्रीमा निर्वाचित भए । उक्त प्यानलबाट विश्व मात्रै निर्वाचित भएका थिए ।
०७४ सालको संसदीय निर्वाचनअघि नै विश्वले गगनको तस्बिर ट्विट गर्दै भनेका थिए–कांग्रेसमा आधुनिक पुस्ताको अध्याय प्रारम्भ ! गगन पनि विश्वको चुनावी कार्यक्रममा सम्बोधन गर्न झापा पुगेका थिए । समान हैसियतको महामन्त्री र सांसद भए पनि झापामा आयोजित एक कार्यक्रममा विश्वले गगनलाई ‘भावी प्रधानमन्त्री’ भनेका थिए । हाल पनि विश्वले गगनलाई सोही सम्बोधन दोहोर्याउने गरेका छन् । हाल दुवै सांसद छैनन् । गगन सर्लाहीबाट पराजित भए भने विश्व सांसदको उम्मेदवार नै बनेनन् ।
गगन–विश्वको राजनीतिक यात्रा
विश्वप्रकाश शर्माको राजनीतिक यात्रा गगनभन्दा केही वर्षअघि सुरु भएको थियो । ०४१ मा नेविसंघको विद्यालय एकाइबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेका शर्मा मेची क्याम्पस पुगेपछि संगठनको नेतृत्वमा आए । ०४३ देखि ०४५ सम्म मेची क्याम्पसको नेविसंघ सभापति भए । त्यसपछि नेविसंघको केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति हुँदै ०५७ मा केन्द्रीय सभापति बने । राजनीतिमा स्थायी पद सोपान हुँदैन । विश्वपछि गुरुराज घिमिरे नेविसंघको सभापति बने । गुरुले गगनलाई महामन्त्रीमा मनोनीत गरे । अहिले सबैको नेताका रूपमा गगन सभापतिमा स्थापित भएका छन् ।
दुई फरक समूहबाट महामन्त्रीमा निर्वाचित भए पनि गगन–विश्वको सहकार्य घनिष्ठ बन्यो । कांग्रेसभित्र पुस्तान्तरण, संगठन सुधार र नेतृत्व परिवर्तनको बहसमा उनीहरू एकै ठाउँमा उभिए ।
गगन ०५१ मा त्रिचन्द्र कलेजको स्ववियू सदस्य, त्यसपछि सचिव हुँदै २०५५ मा स्ववियू सभापति बने । ०५७ मा नेविसंघको उपसभापति, ०५९ मा महामन्त्री बने । दोस्रो जनआन्दोलनमा अग्रमोर्चामा उभिएका गगन चर्चाको शिखरमा पुगे । गगनमाथि राजद्रोहको मुद्दासमेत लाग्यो । तर, नेविसंघको सभापति बन्न सकेनन् । उपसभापति, महामन्त्री हुँदै नेविसंघबाट बिदा भए र पार्टी राजनीतिमा सक्रिय बने ।
वीरगञ्ज महाधिवेशनमा मुख्य निर्वाचन अधिकृत भएर खटिएका चीनकाजी श्रेष्ठ गगन–विश्वको सम्बन्धमा दरार र फाटो नदेखेको बताउँछन् । ‘एउटा पक्षबाट गुरु घिमिरे र अर्को पक्षबाट यादव पण्डित सभापतिको उम्मेदवार हुनुहुन्थ्यो । तर, मनोनीत हुने महामन्त्रीहरूको चार्म बढी देखिन्थ्यो । गुरुको टिमबाट गगन र यादवको टिमबाट वासु कोइराला महामन्त्रीको घोषित उम्मेदवार थिए । आफ्नो पक्षमा माहोल क्रियट गर्ने काम गगन र वासुले गरेका थिए । निर्वाचित केन्द्रीय कार्यसमितिको बहुमतले महामन्त्री मनोनीत गर्नुपर्ने भए पनि महाधिवेशनमै महामन्त्री घोषणा गरिएको थियो,’ श्रेष्ठ स्मरण गर्छन्, ‘आफ्नो समूहमा गगनको पकड राम्रो थियो ।’ पार्टीको तर्फबाट कृष्ण सिटौला, अर्जुननरसिंह केसी, गोविन्दराज जोशीहरू खटिएका थिए ।
जिल्लाजिल्लाबाट आउने प्रतिनिधिको विषयमा विवाद थियो । गगन र विश्व एकातिर थिए भने यादव र वासु अर्को पक्षमा देखिन्थे । विश्वले नेविसंघ छाडेपछि पनि गगनसँगको सम्बन्ध सुमधुर नै थियो ।
०६२/६३ को आन्दोलनको योजना बनाउने वेलामा पनि गगन–विश्व सँगै हुन्थे । ‘जनआन्दोलनका वेलामा ज्वागलमा गगन–विश्व मेरो घरमा सँगै आउनुभएको थियो । खाना पकाउनुस् हामी आउँछौँ भन्नुभएको थियो । गगन–विश्वले ४०/५० जना कार्यकर्ता लिएर मेरो घरमा आउनुभएको थियो । यसले विश्वले नेविसंघ छाडेपछि पनि गगनसँगको सम्बन्ध देखाउँछ,’ श्रेष्ठ स्मरण गर्छन् ।
राजनीतिक विश्लेषक एवं त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक माधव न्यौपाने नयाँ नेतृत्व चयनसँगै कांग्रेसमा नेतृत्व पुस्तान्तरण भएको बताउँछन् । ‘जेन–जी आन्दोलनपछिको बदलिँदो सिनारियोअनुरूप पार्टीलाई अघि बढाउने प्रतिबद्धतासाथ नयाँ टिम आएको छ,’ उनी भन्छन्, ‘पार्टीमा लामो समयदेखि पुस्तान्तरणको आवाज उठ्दै आएको भए पनि यो महाधिवेशनले पार्टीमा वास्तविक रूपमै पुस्तान्तरण गराएको छ । युवा जोस, जाँगर, उत्साह तथा उनीहरूको शिक्षा र सोचलाई पार्टी संगठनमा खर्चिने वातावरण बनेको छ ।’