परिवारभित्र भाषाको संघर्ष

शनिबार, ५ मंसिर, २०८३
प्रिन्ट संस्करण
  • हजुरबा–हजुरआमा मातृभाषा बोल्छन्, बाआमा नेपाली र नातिनातिना अंग्रेजी बोल्दा ज्ञान पुस्तान्तरणको क्रम अवरुद्ध भइरहेको छ

काठमाडाैं- एउटै घर, एउटै भान्सा र एउटै परिवार तर संवाद गर्ने भाषा फरक । परिवारभित्रै हजुरबुबा/हजुरआमा मातृभाषा बोल्छन् । बुबाआमा नेपाली भाषा बोल्छन् । नातिनातिना अंग्रेजी मिसाएर बोल्छन् । परिवारभित्र भाषा प्रयोगमा विविधता त देखिन्छ, तर यसले समाजको सम्बन्धमा असर पारिरहेको छ र ज्ञान पुस्तान्तरणको क्रम अवरुद्ध बनाइरहेको छ । पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मातृभाषा आफ्नै परिवारभित्र प्रयोगविहीन बन्दै जाँदा भाषिक पहिचान र सांस्कृतिक निरन्तरतामाथि प्रश्न उठ्न थालेको छ ।

लेखक कुन्साङकी हजुरआमाले खस(नेपाली) भाषा बुझ्दिनन् । उनका आमाबुबाले नेपाली भाषा बोल्छन् । उनको गाउँ हुम्लाको नाम्खामा विद्यालय शिक्षा हासिल गर्न सदरमुकाम वा सहर छिर्नुपर्ने बाध्यता छ । त्यहाँ हुम्लाका बालबालिका खस भाषा र अंग्रेजी भाषा सिक्छन् । सहरमा अंग्रेजी सिकेर वर्षौंपछि गाउँ जाँदा नातिनातिनाले मातृभाषा बिर्सिसकेका हुन्छन् । त्यसपछि नातिनातिनी र हजुरबुबा/हजुरआमाबिच संवाद टुट्छ । परिवारभित्रै कुराकानीका लागि दोभासेको आवश्यकता पर्छ ।

‘लामो समय घर छोड्दा उनीहरू परिवारभित्रै संवाद गर्न नसक्ने अवस्थामा पुगेका छन् । यसले हाम्रो मातृभाषामा समेत संकट आउने देखिन्छ,’ कुन्साङले भनिन् । लामो समय घरबाट टाढा हुनुपर्ने, नेपाली र अंग्रेजी भाषा बोल्नुपर्ने बाध्यात्मक अवस्थाका कारण मातृभाषामा बोल्ने पछिल्लो पुस्ता हराउँदै गएको छ । यसले आदिवासी हिमाली ज्ञान, सिपको पुस्तान्तरणमा समेत संकट आउन सक्ने कुन्साङको चिन्ता छ । 

काठमाडौं जोरपाटी बस्ने रेश्मा बम्जनको सासू/ससुराको पालासम्म अलिअलि तामाङ भाषामा संवाद हुन्थ्यो । उनको पुस्तामा आइपुग्दा नेपाली भाषामा मात्र कुराकानी हुन थाल्यो । त्यसैले, उनलाई धेरथोर आउने मातृभाषा कमजोर हुँदै गयो । त्यसैले, उनी मातृभाषा बुझ्छिन् । संवाद भने गर्न सक्दिनन् । उनका छोराछोरी मातृभाषा त परको कुरा अंग्रेजी भाषामा संवाद गर्न रुचाउँछन् । छोराछोरी पढ्ने विद्यालयले अंग्रेजी राम्रो बनाउन भन्दै लवज पनि सोहीअनुसार बनाउन प्रेरित गरेका कारण करिब विदेशीले बोल्नेजस्तै लवज बनाएका छन् । ‘मलाई आउने केही तामाङ शब्द छोराछोरीलाई सिकाउँछु । उनीहरू दिदीभाइ र आफ्नो सर्कलमा भने अंग्रेजीमै कुराकानी गर्न रुचाउँछन्,’ रेश्माले भनिन् । पछिल्लो समय भने उनकी छोरीले मातृभाषा सिक्ने प्रयास गरिरहेकी छिन् । तर, उच्च शिक्षा अध्ययनका लागि बेलायत रहेको र मातृभाषामा संवाद गर्ने सर्कल नहुँदा उनले भनेजसरी सिक्न सकेकी छैनन् ।

पर्वतारोहण क्षेत्रमा सक्रिय सगरमाथा आरोही लाक्पा तेम्बा शेर्पाका बुबाआमा मातृभाषामा मात्र संवाद गर्थे । उनी पनि मातृभाषामै संवाद गर्ने प्रयास गर्छन् । उनी नेपाली र अंग्रेजी भाषामा पनि राम्रो संवाद गर्छन् । तर, उनीपछिको पुस्तालाई मातृभाषा आउँदैन । उनका छोरा सगरमाथा आरोही छिरिङ पासाङ शेर्पा धेरैजसो अंग्रेजी भाषामा संवाद गर्छन् । घरमै पनि आधा अंग्रेजी आधा नेपालीमा संवाद गर्छन् । छिरिङलाई मातृभाषा नआउँदा पुर्ख्यौली थलो सोलुखुम्बु पुग्दा अनुवादकको आवश्यकता पर्छ । ‘छोरी विदेशमा भए पनि उनले भाषा बुझ्छिन् । तर, शेर्पा भाषामै कुराकानी गर्न आउँदैन । छोरालाई चाहिँ मातृभाषा बोल्न आउँदैन,’ उनी भन्छन्, ‘सानैदेखि काठमाडौंमा होस्टल बसेर पढेकाले उनीहरूलाई भाषा बोल्न आएन ।’ 

लाक्पाका अनुसार पर्यटन व्यवसायमा रहेका शेर्पा समुदायका धेरै युवा मातृभाषाबाट टाढा हुँदै गएका छन् । मातृभाषा मात्र होइन, धेरै विदेशीसँग संवाद गर्ने पेसामा लाग्दै जाँदा नेपाली भाषालाई समेत वास्ता गर्दैनन् । ‘अहिले धेरै युवा मातृभाषा बोल्दैनन् । इच्छा पनि देखाउँदैनन् । नेपाली भाषालाई समेत वास्ता गर्न छाडिसके,’ उनी भन्छन्, ‘यसले गर्दा आफ्नो पुर्ख्यौली थलोमा रहने अघिल्लो पुस्तासँगको संवाद र आत्मीयतामा खाडल देखिँदै गएको छ ।’ मातृभाषाप्रति आकर्षण कम हुँदा शेर्पा संस्कृति, इतिहासजस्ता विषय ओझेलमा पर्न सक्ने उनको बुझाइ छ ।

तेह्रथुमका बुद्रोस लिम्बू धरान बस्छन् । उनका हजुरबुबा र बुबाआमा पुर्ख्यौली थलोमै बस्छन् । उच्च शिक्षाका लागि उनका बुबाले उनलाई काठमाडौं पठाए । काठमाडौंमा नेपाली र अंग्रेजी भाषा बोल्नुपर्ने बाध्यताका कारण उनी लामो समय मातृभाषाबाट टाढै भए । त्यसैले, उनी अहिले मातृभाषा बुझ्छन् । संवाद गर्न सक्दैनन् । ‘हजुरबुबालाई नेपाली भाषा खासै आउँदैन । उहाँसँग संवाद गर्नकै लागि मैले मातृभाषा सिकेँ । तर, अझै पनि मातृभाषामा राम्रो संवाद गर्न सक्दिनँ,’ उनले भने । बुद्रोसले मातृभाषा बोल्न नजान्दा उनको हजुरबुबासँग औपचारिक कुराकानी मात्र हुन्छ । औपचारिक संवादमा पनि हजुरबुबाले व्यक्त गर्न खोजेको भावनालाई उनी ठम्याउन सक्दैनन् । उनले भन्न खोजेको कुरा हजुरबुबाले पनि आत्मीय रूपमा बुझ्न सक्दैनन् । यसले उनीहरूबिचको आत्मीयता सोचेजस्तो छैन । अहिले बुद्रोसलाई हजुरबुबाबाट इतिहास, ज्ञानजस्ता महत्वपूर्ण विषय मातृभाषामा बुझ्न नसक्दा दुःख लाग्छ ।

यही अवस्था बुद्रोसको छोरामा पनि लागू हुन थालेको छ । पाँच वर्षीय उनको छोरा धरानमा जन्मिए । धरानामै हुर्किदै छन् । नेपाली बोल्ने समुदायको बाहुल्य, वर्षको एक–दुईपटक मात्र पुर्ख्यौली थलोमा जाने क्रमले उनको छोरा मातृभाषाबाट विमुख हुँदै गएका छन् । जसका कारण पनाति र जिजुबाजेबिच त संवाद नै हुँदैन । यो अवस्थाको निरन्तरताले संस्कृति, इतिहास, आदिवासी ज्ञानको पुस्तान्तरणमा भविष्य के होला ? कहिलेकाहीँ उनलाई पनि यो प्रश्नले पिरोल्छ ।

भोजपुरका कृष्ण चाम्लिङ राई बान्तवा बाहुल्य भएको गाउँमा जम्मिए । त्यसैले, गाउँ छँदा चाम्लिङ भाषाभन्दा बान्तवा भाषामा पकड बनाएका थिए । बिस्तारै उच्च शिक्षाका लागि धरान हुँदै काठमाडौं पसे । त्यसपछि उनी नेपाली र अंग्रेजी संवादमा ध्यान दिन थाले । मातृभाषामा संवाद हुन छाडेपछि अलिअलि आउने बान्तवा भाषा पनि भुल्दै गए । अहिले उनी बान्तवा भाषा बुझ्छन् । संवाद गर्न जान्दैनन् । चाम्लिङ भाषा त लगभग बिर्सिसके । यसले गर्दा वर्षको एकपटक पुर्ख्यौली थलो पुग्दा पनि एक्लैजस्तो हुन थालेका छन् ।

अहिले कृष्ण आफूभन्दा पुरानो पुस्तासँग संवाद गर्न र आफ्नो इतिहासबारे बुझ्न नसक्ने अवस्थामा पुगेका छन् । ‘मातृभाषामा पकड बनाउन नसक्दा पितृपूजा, उभौली, उधौलीमा त एक्लै भइन्छ नै । गाउँ जाँदा आफ्नैहरूसँग धित मर्ने गरी कुरा गर्न सकिन्न,’ उनी भन्छन् । 

मातृभाषाको क्षयीकरण
उनीहरूजस्ता धेरै परिवारभित्र भाषाको संघर्ष हुँदा मातृभाषा बोल्नेको संख्यासमेत घट्न थालेको छ । बाजेपुस्तासँग भएको ज्ञान, अनुभवजस्ता महत्वपूर्ण विषय ओझेल पर्न थालेका छन् । २०७८ को जनगणनाअनुसार नेपाली बोल्ने ४४.८६ हुँदा, मैथिली बोल्ने ११.०, भोजपुरी ६.२४, थारू ५.८८ र तामाङ बोल्ने ४.८८ प्रतिशत छन् । २०६८ को जनगणनाअनुसार नेपाली भाषा बोल्नेको संख्या ४४.६ प्रतिशत हुँदा मैथिली भाषा बोल्ने ११.७, भोजपुरी ६, थारू ५.८ र तामाङ ५.१ प्रतिशत थिए ।

परिवारभित्रै भाषाको संघर्ष सामाजिक तथा सांस्कृतिक बहसको महत्वपूर्ण विषय बन्नुपर्ने अवस्था सिर्जना भएको छ । विशेषगरी, नयाँ पुस्तामा अंग्रेजी तथा अन्य भाषाप्रतिको आकर्षण बढ्दै जाँदा परिवारमा पुस्तौँदेखि बोलिँदै आएको मातृभाषाको प्रयोग क्रमशः घट्दै गएको देखिन्छ । हजुरबुबा/हजुरआमाले आफ्नै मातृभाषामा संवाद गर्न रुचाउने भए पनि अभिभावक र बालबालिकाले नेपाली वा अंग्रेजी भाषालाई प्राथमिकता दिँदा एउटै परिवारभित्र भाषिक दूरी बढिरहेको छ । कतिपय बालबालिकाले आफ्नै मातृभाषा बुझ्न नसक्ने अवस्था सिर्जना भएको छ । कतिपयले मातृभाषा बोल्दा हीनताबोधसमेत गर्ने गरेका छन् । यसले भाषिक सञ्चारमा मात्र नभई परिवारको सांस्कृतिक पहिचान, परम्परा र पुस्तान्तरणमा समेत चुनौती थपिएको छ । यस्तो अवस्थामा परिवारभित्र मातृभाषाको प्रयोगलाई प्रोत्साहन गर्नु र नयाँ पुस्तामा भाषाप्रतिको अपनत्व विकास गर्नु आवश्यक देखिन्छ ।

भाषाविद् अमृत योञ्जन जुन वेलादेखि नेपालमा विद्यालय शिक्षा प्रणाली सुरु भयो, त्यतिवेलादेखि नै मातृभाषाको जग हल्लिन थालेको बताउँछन् । ‘नेपालमा जब विद्यालय शिक्षाको प्रारम्भ भयो । त्यसवेलादेखि नै मातृभाषाको जग हल्लिन थाल्यो । नेपालीकरणको प्रभाव बलियो हुन थाल्यो,’ उनी भन्छन्, ‘मातृभाषीहरूले आफ्ना बालबालिकालाई भाषा सिकाउनुपर्छ । मातृभाषामा जोड दिनुपर्छ भन्ने कुनै प्रयास भएन । त्यसैले, नेपाली भाषा बलियो हुँदै गयो । सहरीकरण, बजारीकरण बढ्दै जाँदा मातृभाषा झन् कमजोर हुन थाल्यो ।’ 

यो क्रम अवसर खोज्दै देश छाडेर जानेहरूमा झन् प्रभावशाली हुँदै गएको उनको ठम्याइ छ । ‘विदेशमा जाने आमाबुबा मातृभाषीबाट नेपालीभाषी भइसकेका हुन्छन् । आमाबुबा नेपाली भाषा बोल्छन् । छोराछोरीलाई त्यहाँको स्थानीय भाषा बोल्नकै लागि बल गर्छन् । स्थानीय अंग्रेजी वा अन्य भाषा बोल्न सकिएन भने भनेकोजस्तो काम नपाइने र जीवनयापनका लागि कठिन हुने अवस्था छ । त्यसैले, बिदेसिएका परिवारभित्र झनै यस्तो अवस्था देखिने रहेछ,’ उनी भन्छन् ।

आफ्ना छोराछोरीलाई मातृभाषामा पोख्त बनाउन विभिन्न रचानात्मक कार्य गर्नुपरेको स्मरण गर्दै योञ्जनले त्यस्तै गतिविधि गर्न अभिभावक सचेत हुनुपर्ने बताए । काठमाडौंमै जन्मिएर हुर्किएका उनका छोराछोरीलाई मातृभाषामा पोख्त बनाउन तामाङ भाषाको गीत, फिल्मको क्यासेट ल्याएर दिने, गाउँबाट अघिल्लो पुस्ताका ज्येष्ठ नागरिकलाई ल्याएर केही महिना राख्नेजस्ता जुक्ति अपनाएका थिए । जसका कारण उनका छोराछोरीले उनीसँग दोहोरो संवाद गर्न र मातृभाषामा पकड जमाउन सिकेका थिए । ‘नेपालमा स्वस्फूर्त रूपमा नेपाली भाषाको शक्ति देखियो । अंग्रेजीलगायत भाषाको पनि प्रभुत्व बढ्दै गएको देखिन्छ । मातृभाषा बेवास्तामा परेको देखिन्छ,’ उनी भन्छन्, ‘गाउँघरमा मातृभाषा बोलिने भयो । सहर पसेका बुबाआमा पनि छोराछोरीलाई मातृभाषा बोल्नुपर्छ भनेर सचेत हुनुपर्यो ।’

भाषाविद् योञ्जन मातृभाषा सिकाउन चाहनेहरूलाई प्रोत्साहित गर्नुपर्ने बताउँछन् । यसका लागि राज्यबाटै विशेष पहल हुनुपर्नेमा उनी जोड दिन्छन् । ‘घरटोलमा शिक्षणका लागि भत्ताको व्यवस्था गर्नुपर्छ । जसरी अस्ट्रेलियामा पाँचजना विद्यार्थीलाई शिक्षण गरेबापत भत्ता दिइन्छ, त्यसरी नै नेपालमा पनि केही व्यवस्था हुने हो भने अहिलेको अवस्थामा कमी आउने थियो,’ उनी भन्छन् ।

भाषाविद् प्रा. डा. माधव प्रसाद पोखरेल अंग्रेजी भाषालाई प्रतिष्ठित र अन्य भाषालाई कमजोर ठान्ने मानसिकताको विकासमा बिचको पुस्ताको भूमिका महत्वपूर्ण रहेको बताउँछन् । उनका अनुसार भारतमा बेलायती उपनिवेशको प्रभावका कारण अंग्रेजी भाषाको प्रयोग र त्यसप्रतिको आकर्षणलाई ऐतिहासिक तथा औपनिवेशिक चेतनासँग जोडेर हेर्न सकिन्छ । तर, नेपालमा त्यस्तो औपनिवेशिक पृष्ठभूमि नभए पनि अंग्रेजी भाषालाई प्रतिष्ठाको विषय बनाउने प्रवृत्ति विकसित भएको उनको मत छ ।

‘भारतलाई अंग्रेजहरूले उपनिवेश बनाए । त्यसैले, त्यहाँका मानिसले अंग्रेजी बोल्नु वा आफ्नो भाषामा अंग्रेजी मिसाउनुको ऐतिहासिक र औपनिवेशिक सन्दर्भ छ । तर, नेपालमा अंग्रेजी नमिसाई नहुने कुनै बाध्यता थिएन । नेपाली भाषा नजान्ने वा अंग्रेजी मिसाएर बोल्ने हो भने आफ्नो इज्जत बढ्छ भन्ने मानसिकता यहाँ विकसित भयो,’ उनी भन्छन्, ‘विशेषगरी बिचको पुस्तामा अंग्रेजी बोल्दा प्रतिष्ठा बढ्ने र आफ्नै मातृभाषा बिगार्दा आधुनिक वा सभ्य देखिने सोच हाबी भयो । यही मानसिकताबाट प्रभावित भएर नातिपुस्ताले पनि अंग्रेजी भाषालाई प्राथमिकता दिन थाले ।’

पोखरेलका अनुसार नेपाली वक्ताले अमेरिकी वा बेलायतीले जस्तै अंग्रेजी बोल्न नसक्नु स्वाभाविक भाषिक यथार्थ हो । आफ्नै भाषा र पहिचानलाई कमजोर ठान्दै छोराछोरी तथा नातिनातिनालाई अंग्रेजी बोल्न प्रेरित गर्नु भाषिक हीनताबोधको उपज भएको उनको टिप्पणी छ । उनी यसलाई आफ्नै मातृभाषाप्रतिको अवमूल्यन र भाषिक आत्मसम्मानको अभावका रूपमा व्याख्या गर्छन् ।

‘नेपालीमा अंग्रेजी भाषा बोल्न जान्दा विद्वान् भइन्छ भन्ने दरिद्र मानसिकता हाबी छ । हाम्रो आँखामा कालोपट्टी लागेको छ,’ उनी भन्छन्, ‘फ्रान्स, जर्मन, चिन, जापान विकसित छन् । उनीहरू आफ्नै भाषालाई प्राथमिकतामा राख्छन् । तर, हाम्रा विद्वान् वृत्तमा खराब विचार हाबी भयो । आफ्नो बाहेक अरू भाषा बोल्ने विद्वान् कहलिन थाले ।’

अंग्रेजी भाषालाई राज्यस्तरबाटै महत्व दिएकाले अंग्रेजी बोल्ने र अंग्रेजी भाषातर्फ आकर्षण बढेको भाषाविद् पोखरेलको बुझाइ छ । ‘हाम्रा मन्त्रालयमा समेत अंग्रेजीका ठुला साइनबोर्ड छन् । चिनतिर अंग्रेजी भाषामा साइन बोर्ड छैन । चिनियाँले आफ्नो भाषालाई प्राथमिकता दिन हुने, नेपालमा नहुने ?’ उनी भन्छन् । 

भाषाविद् पोखरेलका अनुसार नेपालमा पछिल्लो पुस्तासम्म आउँदा अंग्रेजी भाषा राम्रो बनाउने र मातृभाषा बिगार्ने होडबाजी चलेको छ । मातृभाषा संरक्षण, प्रवर्द्धन गर्न पहल गर्ने योजना बनाउनेलाई बहिष्कारजस्तै गरिन्छ । फुट ल्याउन खोज्यो भन्ने आरोप लगाउने मानसिकता छ । ‘हाम्रो बानी बिग्रिसकेको छ । त्यसैले, अहिलेको अवस्थामा सुधार ल्याउन धेरै गाह्रो छ । यसका लागि विद्यालय तहदेखि नै काम गर्नुपर्छ । अचेल विद्यालय, विश्वविद्यालयका प्राध्यापक पनि अंग्रेजीलाई नै प्राथमिकता दिन थालेका छन्,’ उनी भन्छन्, ‘अंग्रेजी भाषा बोल्यो भने स्तर बढ्ने, नेपालीमा बोल्यो भने स्तर घट्ने जस्तो गरिन्छ, यस्ता गलत मान्यता ठिक पार्न शिक्षा मन्त्रालयले नै आफ्नो मानसिकतामा परिवर्तन गर्नुपर्छ ।’

नेपाली समाजमा गढेर बसेको मानसिकतामा परिवर्तन ल्याउन व्यापक बहस, छलफल हुनुपर्ने पोखरेल बताउँछन् । ‘अहिले भइरहेको अवस्थामा परिवर्तन गर्न, सचेतता ल्याउन निकै ठुलो अभियान चलाउmन आवश्यक छ । अन्तर्त्रिया, बहस उत्तिकै गर्नुपर्ने देखिन्छ,’ उनी भन्छन्, ‘राज्यस्तरबाटै सोच बनाउने, योजना बनाउने काम भयो भने केही हुन सक्छ । मातृभाषामा शिक्षा दियो भने नेपाली भाषा कमजोर हुन्छ, फुट ल्याउँछ भनेर शंका गर्नेको जमात अझै योजना बनाउने ठाउँमा छ । त्यसैले, यसमा व्यापक बहस हुनु आवश्यक छ । भाषिक सचेतता ल्याउन निरन्तर बहस आवश्यक छ ।’

परिवारभित्रै भाषाको संघर्ष हुँदा सबैभन्दा धेरै मातृभाषाको क्षय भएको भाषाविद् डा. चतुर्भुज केवरत बताउँछन् । उच्च शिक्षा, अवसर, मातृभाषामा संवाद गर्नेमा हीनताबोध बढ्नुलगायतका कारण यस्तो अवस्था सिर्जना भएको उनको बुझाइ छ । ‘बाजेपुस्ता मातृभाषा, बुबा पेसा, व्यवसायका सन्दर्भमा नेपाली भाषा र नातिपुस्ता निजी स्कुलमा अंग्रेजीलाई प्राथमिकतामा राखेर अध्ययन गर्नतर्फ लाग्दा यस्तो अवस्था सिर्जना भयो,’ उनी भन्छन्, ‘त्यस्तो अवस्थामा मातृभाषा क्रमशः कमजोर बन्दै जाने खतरा बढ्छ । मातृभाषाको अवस्था समृद्ध बनाउन घरपरिवारमा सबैले मातृभाषामा पारस्परिक कुराकानी गर्ने वातावरण हुनु आवश्यक छ ।’

सुझावित समाचार