- देवता र राक्षसको युद्ध, मध्यरातसम्म गुम्बामा गुञ्जेको मन्त्र र धार्मिक अनुष्ठान। ताप्लेजुङ जिल्लाको उत्तरी हिमाली बस्ती ओलाङचुङगोलामा मनाइने फुटुक पर्व केवल धार्मिक उत्सव मात्र होइन, वालुङ समुदायको इतिहास, पहिचान र संस्कृति पुस्तान्तरण गर्ने जीवित परम्परा पनि हो। पर्यटनको नयाँ सम्भावना बोकेको यो पर्व अझै देशव्यापी परिचयको पर्खाइमा छ।
ताप्लेजुङ । दसैँ र तिहारको बिचमा ताप्लेजुङको उत्तरी हिमाली बस्ती ओलाङचुङगोला लामाहरूको मन्त्रले गुञ्जिन्छ । पर्यटकीय बस्तीमा गाउँलेहरू गुम्बामा भेला हुन्छन्। कसैले देवताको त कसैले राक्षसको मुखुन्डाे लगाउँछन्। धार्मिक मन्त्र गुञ्जिरहँदा मुखुन्डाे लगाएका लामाहरू युद्धको अभिनय गर्दै नाच्छन्। नौ दिनसम्म चल्ने यो पर्वमा रात बित्दै जान्छ, तर गुम्बाको धार्मिक अनुष्ठान र सांस्कृतिक गतिविधि रोकिँदैन।
ताप्लेजुङको ओलाङचुङगोलामा वालुङ समुदायको मौलिक फुटुक पर्व धार्मिक आस्था, ऐतिहासिक स्मृति र सांस्कृतिक पहिचानको संगमका रूपमा मनाउने गरिन्छ। दसैँको कोजाग्रत पूर्णिमादेखि तिहारको लक्ष्मीपूजा अर्थात् नौ दिन मनाइने यस पर्वमा विशेष पूजापाठ, देव नृत्य र सामुदायिक जमघट हुन्छ। नेपालका विभिन्न ठाउँमा तिहारको रौनक तथा हर्षोल्लास भइरहँदा ओलाङचुङगोलामा भने फुटुकको आफ्नै रौनक हुन्छ। समुदायका मानिस आफ्नो पुरानो परम्परा जोगाउन एक ठाउँमा भेला हुन्छन्। पुस्ताैँदेखि चल्दै आएको धार्मिक विधि र नृत्य नयाँ पुस्तालाई देखाउने र सिकाउने अवसरका रूपमा पनि यस पर्वलाई हेरिन्छ।
यस समुदायमा जन्मिएका मानिसहरू विश्वका विभिन्न ठाउँमा गए पनि यो फुटुक पर्वमा ओलाङचुङगोलामा आइपुग्ने बताइन्छ। यस वर्ष फुटुकका लागि अमेरिका, जापान, दार्जिलिङलगायतका ठाउँबाट ७० जना व्यक्ति गोलामा आइपुगेको स्थानीयवासी तथा फक्ताङलुङ गाउँपालिका– ७, ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा बताउँछन्।
तिब्बतसँग जोडिएको वालुङको इतिहास

वालुङ समुदायको इतिहास तिब्बतसँग जोडिएको छ। फक्ताङलुङ गाउँपालिका– ७, ओलाङचुङगोलाका वडाध्यक्ष शेर्पाका अनुसार यो समुदायको उदगम स्थल तिब्बतको सिगात्सेनजिकको तानक गाउँलाई मानिन्छ। कालान्तरमा तमोर नदीको सिरानमा पर्ने ओलाङचुङगोला क्षेत्रमा बसोबास विस्तार गर्दै समुदायले आफ्नै भाषा, संस्कृति र परम्परा विकास गरेको वडाध्यक्ष शेर्पाको भनाइ छ।
लोपोन्मुख जातिका रूपमा रहेको वालुङ समुदायको मुख्य थातथलो ओलाङचुङगोला नै हो। यांमा, घुन्सा, लुङ्थुङ र लेलेआसपासका बस्तीसमेत यस क्षेत्रको सांस्कृतिक जीवनसँग जोडिएका छन्। तिब्बतसँगको पुरानो व्यापारिक सम्बन्ध, पशुपालन, गलैँचा बुनाइ र हिमाली जीवनशैली साथै कुटुम्बेली परम्पराले समुदायको पहिचान निर्माण गरेको छ।
बौद्ध धर्मसँग जोडिएको वालुङ समुदायको धार्मिक जीवनमा फुटुक विशेष महत्त्व र ठुलो पर्वको रूपमा मनाउने गरेको छ। यो पर्वले धार्मिक आस्था मात्रै व्यक्त गर्दैन, समुदायको ऐतिहासिक स्मृति र सांस्कृतिक निरन्तरतालाई पनि जोगाइरहेको छ।
मुखुन्डाेमा देवता र राक्षसको युद्ध
फुटुक पर्वको सबैभन्दा आकर्षक पक्ष देव नृत्य हो। लामाहरूले देवता र राक्षसको मुखुन्डाे लगाएर युद्धको अभिनय गर्दै नृत्य प्रस्तुत गर्दछन्। रंगीन मुखुन्डाे, विशेष पोसाक र धार्मिक तालमा प्रस्तुत गरिने नृत्यले पर्वलाई विशिष्ट बनाउँछ। यस संस्कृतिमा मक्सुम ग्याबो र थुदाम ग्याबोबिचको युद्धको दृश्य प्रदर्शन गरिने परम्परा रहेको बताइन्छ। मुखुन्डाे लगाएर प्रस्तुत गरिने नृत्यलाई मनोरञ्जनका रूपमा मात्र होइन, देवता र राक्षसबिचको द्वन्द्वले धर्म र अधर्म तथा असल र खराबबिचको संघर्षलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्दछ। धार्मिक विश्वासअनुसार खराब शक्तिमाथि असल शक्तिको विजय हुने भाव मुखुन्डाेभित्रको नृत्यले प्रस्तुत गर्ने गर्दछ।
मध्यरातसम्म पूजा, गुम्बामा घिउको आगो
फुटुक पर्वको केन्द्र ओलाङचुङगोलास्थित ऐतिहासिक दिकिछ्योलिङ गुम्बा करिब साढे चार सय वर्ष पुरानो वालुङ समुदायको धार्मिक तथा सांस्कृतिक सम्पदाका रूपमा महत्त्वपूर्ण मानिन्छ।
पर्वको अवधिभर लामाहरूले गुम्बामा विशेष पूजा, मन्त्रपाठ र धार्मिक अनुष्ठान गर्छन्। वडाध्यक्ष शेर्पाले मध्यरातदेखि समेत पूजापाठ सञ्चालन हुने गरेको बताउँछन्। गुम्बामा घिउ र तेल बालेर पूजा गर्ने परम्परा छ। त्यसबाट निस्कने धुवाँ गुम्बाको धुरीभन्दा माथि पुगे शुभ हुने धार्मिक विश्वास समुदायमा रहेको छ।
नौ दिन चल्ने यो पर्वको अन्तिम चार दिनलाई विशेष महत्त्व दिइन्छ। यी दिनमा देव नृत्य प्रस्तुत गरिन्छ र धार्मिक विधिबाट पर्व समापन गरिन्छ।
पर्यटनको सम्भावना, संरक्षणको चुनौती
ओलाङचुङगोला प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले भरिएको हिमाली बस्ती हो। परम्परागत घर, ऐतिहासिक गुम्बा, हिमाली भूगोल, तमोर नदी र वालुङ समुदायको जीवनशैलीले यस क्षेत्रलाई पर्यटनको सम्भावनायुक्त गन्तव्य बनाएको छ।
फुटुक पर्वलाई व्यवस्थित रूपमा पर्यटनसँग जोड्न सके स्थानीय होटेल, होमस्टे, स्थानीय परिकार, हस्तकला र गाइड सेवाबाट समुदायले आम्दानी गर्न सक्छ। पर्वको समयमा सांस्कृतिक अवलोकन, स्थानीय उत्पादनको प्रदर्शनी र वालुङ समुदायको इतिहासबारे जानकारी दिने कार्यक्रम सञ्चालन गर्न सकिन्छ।
ओलाङचुङगोलाको फुटुक पर्वले नेपालको सांस्कृतिक विविधताको एउटा विशिष्ट पक्ष उजागर गरेको छ। मुखुन्डाेभित्र लुकेको इतिहास, नृत्यमा व्यक्त आस्था र गुम्बाको जीवित परम्पराले यो पर्वलाई विशेष बनाएको छ। यसको संरक्षण गर्न सके वालुङ समुदायको पहिचान मात्रै जोगिनेछैन, नेपालको हिमाली पर्यटनमा पनि नयाँ आकर्षण थपिने स्थानीय विज्ञहरूको भनाइ रहेको छ।