१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
डा. ध्रुव बी. खड्का
२o८१ जेठ ८ मंगलबार १o:२९:oo
Read Time : > 3 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

अंग्रेजी शिक्षा अमृत कि गुलियो विष ?

Read Time : > 3 मिनेट
डा. ध्रुव बी. खड्का
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १o:२९:oo

विज्ञान र प्रविधिको दरिलो जगमा उभिएका देशहरूको आर्थिक गतिशीलता र सामरिक महत्व बढ्दो छ । विज्ञान र प्रविधिमा युरोप र अमेरिकाको एकछत्र प्रभुत्वमा पछिल्लो समय एसियाका जापान, कोरिया र चीनजस्ता देशहरूले जबरजस्त उपस्थिति देखाउँदै लगेका छन् । एसियाका यी देशहरू छोटो समयमा विकसित पश्चिमी देशहरूको हाराहारीमा कसरी पुगे ? हाम्रो जस्तो देशले गहिरिएर केलाउनुपर्ने विषय हो ।

सीधा हेर्दा यी देशले विज्ञान र प्रविधिमा धेरै लगानी गरेकाले भन्ने लाग्छ । तर, यी देशहरूले सुरुवाती चरणबाट नै ठूलो संख्यामा प्राविधिक जनशक्ति मात्र होइन, विज्ञान र प्रविधिका अत्यन्त जटिल सिद्धान्त बुझेर थप नयाँ प्रविधिको विकास गर्न सक्ने उच्चस्तरको प्राज्ञिक जनशक्ति कसरी निर्माण गरे ? यसले विज्ञान र प्रविधिका विविध क्षेत्रमा अनुसन्धानरतहरूलाई घोत्लिन बाध्य बनाउँछ । 

उच्चशिक्षा अध्ययनका क्रममा यी देशका वैज्ञानिक, प्राध्यापक र विद्यार्थीहरूसँग विश्वविद्यालय तथा वैज्ञानिक सम्मेलनहरूमा अन्तरक्रिया गर्दा पंक्तिकारलाई आश्चर्य लागेको पक्ष हो, उनीहरूको कमजोर अंग्रेजी । यति कमजोर अंग्रेजी भाषा भएकाले अंग्रेजीमा लेखिएका विज्ञान र प्रविधिका पुस्तक कसरी बुझ्छन् भन्ने थप जिज्ञासाले पंक्तिकारको मानसपटल लामो समय गिजोलिरह्यो । किनकि, हाम्रो शैक्षिक संरचनामा कमजोर अंग्रेजी भएकाले उच्च शिक्षामा विज्ञान÷प्रविधि संकायमा पढ्न असम्भवप्रायः छ ।

अहिले अंग्रेजी भाषा विश्वभर विज्ञानको भाषाका रूपमा स्थापित छ । त्यसो त अंग्रेजी भाषाभन्दा पहिले विज्ञानमा जर्मन भाषाको दबदबा थियो । भौतिकशास्त्रका आइन्स्टाइन, हाइजेन्वर्ग र बोरजस्ता विश्वविख्यात वैज्ञानिकहरू जर्मनीकै उत्पादन हुन् । अहिले पनि जर्मन, फ्रेन्चलगायतका अन्य धेरै युरोपेली भाषामा विज्ञानको दरिलो जग छ । एक अध्ययनका अनुसार, पछिल्लो समयमा ८०–९० प्रतिशत वैज्ञानिक अध्ययन, अनुसन्धान तथा विश्वविद्यालयका उत्कृष्ट पाठ्यपुस्तकहरू पनि अंग्रेजी भाषामै प्रकाशित हुन्छन् । जसले गर्दा वर्तमान परिवेशमा विज्ञान/प्रविधि क्षेत्रको उत्कृष्ट जनशक्तिका लागि अंग्रेजी भाषाको शिक्षा प्रभावकारी र अन्तर्राष्ट्रियस्तरको हुन्छ भन्ने आमबुझाइ छ । 

तर, ठीक विपरीत एसियाली आइकन जापान, कोरिया र चीनमा विज्ञान/प्रविधिका विषयहरूको अध्ययन–अध्यापन आफ्नै भाषामा गरिन्छ । अझ चाखलाग्दो, त्यहाँका विश्वविद्यालयमा आफ्नो भाषामा अनुवाद गरिएका उत्कृष्ट पुस्तकहरू पढाइने मात्र होइन, परीक्षा पनि आफ्नै भाषामा दिने गर्छन् । जसकारण, विज्ञान/प्रविधिको दरिलो जग आफ्नै भाषामा स्थापित हुन पुगेको छ । यसै सन्दर्भमा जापानी प्राध्यापक केन कावासाकीले (कावासाकी, १९९६) जापानको औद्योगिक समाज निर्माणमा उन्नाइसौँ शताब्दीको मध्यतिर जापानले आफ्नो भाषामा स्थापित गरेको विज्ञान शिक्षाको जगलाई मुख्य कडी उल्लेख गरेका छन् ।

उनका अनुसार जापानी विज्ञानको आफ्नै धरातल बनाउन पश्चिमा विज्ञानलाई जापानी भाषामा अनुदित गरिएको थियो । यतिसम्म कि तत्वहरूको नामसमेत आफ्नै भाषामा बुझिने गरी जापानीकरण गरिएको थियो । अहिले पनि त्यही नै पढाइ हुन्छ । जापानभन्दा धेरै पछि विज्ञानमा गति लिएका कोरिया र चीनले पनि लगभग यस्तै रणनीति अवलम्बन गरेका छन् । अझ रोचक त यी देशले अनुसन्धान लेखहरू पनि आफ्नै भाषामा प्रकाशित गर्ने गर्छन् ।

जापानमा त सुरुवाती चरणमा पनि अनुसन्धान लेखहरूको ठूलो हिस्सा जापानी भाषामै प्रकाशित हुन्थे । आफ्नै भाषाको जगमा उभ्याइएको जापानको विज्ञान यति प्रभावकारी भयो कि यहिलेसम्मका २८ जना नोवेल पुरस्कार पाएका जापानीमध्ये २५ जना त विज्ञान क्षेत्रका मात्र छन्, जुन विश्वको पाँचौँ र एसियाको पहिलो स्थान हो । अझ पहिलो पुस्ताका कतिपय जापानी वैज्ञानिकको त्यस स्तरको योगदान हुँदाहुँदै पनि भाषिक कारणले गर्दा नोवेल पुरस्कार नपाएको चर्चा वेलाबखत हुने गर्छ ।

पछिल्लो समयमा अंग्रेजीमा अनुसन्धान लेख लेख्ने प्रचलन भए पनि लगभग ९९.५ प्रतिशत अनुसन्धान कोषका लागि रिसर्च प्रपोजल तथा आन्तरिक रिपोर्टहरू भने जापानी भाषामै लेख्नुपर्ने अनिवार्य प्रावधान छ ।यसका अलावा यी देशले आफ्नै भाषामा लेखिएका वा पूरै अंग्रेजीमा लेखिए पनि सारांशचाहिँ आफ्नो र अंग्रेजी दुवै भाषामा लेखिएका जर्नलहरू पनि प्रकाशित गर्छन् । भूमण्डलीकरणका बाबजुद यी देशले नयाँ पुस्तालाई आफ्नो देशको भाषामा विज्ञानको समानान्तर जग बसाइरहेका छन् ।

जुन भाषिक अस्तित्वका लागि पनि अनुकरणीय छ । यहाँ मननीय पक्ष के हो भने यी देशले विज्ञान÷प्रविधिको अध्ययन–अध्यापन तथा अनुसन्धानका लागि अंग्रेजी भाषा मात्र प्रभावकारी हुन्छ भन्ने आममान्यतालाई तोडेका छन् । आफ्नै भाषामा विज्ञान÷प्रविधिको अध्ययन–अध्यापन गर्दा सिकाइ बढी प्रभावकारी हुने र नवीनतम् ज्ञानको खोज तथा नयाँ आविष्कारमा विद्यार्थीलाई उद्वेलित गराउन सकिन्छ भन्ने तथ्य त्यहाँका नीतिनिर्माताले सुरुवाती चरणमा नै मनन गरेको देखिन्छ ।

पछिल्लो समय अंग्रेजी माध्यमको शिक्षामा आकर्षण झनै बढ्दो छ । जसले आफ्नै जगको वैज्ञानिक खोजमा मात्र होइन, भाषाको विकासलाई समेत कुपोषित गरिरहेको छ । 

फलस्वरूप, विज्ञान तथा प्रविधिलाई आफ्नो भाषामा अध्ययन–अध्यापनको जग बसाले । अंग्रेजी भाषाको प्रखरता नभए पनि ठूलो संख्यामा विद्यार्थीलाई विज्ञान तथा प्रविधिका क्षेत्रमा प्राथमिकताका साथ लगानी गर्दै अध्ययनको अवसर दिन सके । नयाँ पुस्तालाई आफ्नै भाषाको विज्ञान तथा प्रविधिको शिक्षामा हुर्काए ।

जुन यति प्रभावकारी भयो कि अहिले अंग्रेजी कमजोर भए पनि यी देशका प्राज्ञिक तथा प्राविधिक जनशक्ति विज्ञान तथा प्रविधिको केन्द्र मानिएका अमेरिका तथा युरोपका जनशक्तिसँग प्रतिस्पर्धामा खरो उत्रिन सकेका छन् । विज्ञान तथा प्रविधिका क्षेत्रमा यी मुलुक अब्बल साबित छन् । साइन्स तथा नेचरजस्ता बहुप्रतिष्ठित जर्नलमा अनुसन्धान लेखहरू उल्लेखीय संख्यामा प्रकाशित हुने गर्छन् । यसको थप पुष्टि उत्कृष्ट विश्वविद्यालयहरूको अन्तर्राष्ट्रिय सूचीमा यी देशका विश्वविद्यालयहरूको बढ्दो संख्या र उक्लँदो स्तरले पनि गर्छ । 

हाम्रोमा भने विज्ञान/प्रविधि क्षेत्रको उच्चशिक्षा अध्ययनमा अंग्रेजी अनिवार्य मात्र होइन, प्रवेश परीक्षाको कसी नै बनाइएको छ । जसले मुख्यतः विज्ञान/प्रविधिको क्षेत्रमा अध्ययनमा प्रतिभावान् हुँदाहुँदै पनि अंग्रेजी भाषामा दख्खल नभएका विद्यार्थीहरू प्रतिस्पर्धामा पछि पर्छन् । यहाँ मनन गर्नुपर्ने के छ भने विज्ञान–प्रविधि–इन्जिनियरिङ–गणितमा राम्रो गर्न सक्ने प्रतिभाहरू अंग्रेजी भाषामा पनि दक्ष हुन्छन् भन्ने छैन ।

पंक्तिकारको आफ्नै अनुभवमा, भक्तपुरको ख्वपः कलेजमा अध्यापन गर्दा हुम्ला, कालिकोटबाट आएका विद्यार्थीहरूको गणित राम्रो हुने तर अंग्रेजीमा पढ्न र लेख्नुपर्ने भएकाले विज्ञानका विषयहरूमा नतिजा कमजोर हुन्थ्यो । यसर्थ, हाम्रो जस्तो ग्रामीण बाहुल्य मुलुकमा कमजोर अंग्रेजी भाषाको कारण विज्ञान÷प्रविधिको अध्ययनबाट कैयौँ प्रतिभा विमुख हुनुपरेको छ । मोफसलका विद्यार्थीले रोबर्ट, हेलिकोप्टर, ड्रोनजस्ता कैयौँ प्रविधिसम्बन्धी आविष्कारहरूको प्रोटोटाइप बनाएको खबर पढ्न पाइन्छ । राज्यले देशका कुनाकन्दरामा रहेका यस्ता प्रतिभावान् विद्यार्थीहरूलाई भाषिक छेकाबार हटाउँदै विज्ञान÷प्रविधिको विकास तथा खोजमा समाहित गराउन आवश्यक छ ।  

के अंग्रेजी माध्यमको शिक्षाले विद्यार्थीको सिकाइ प्रभावकारी भएको छ त ? विज्ञान तथा प्रविधिको विकासको होडबाजीमा अंग्रेजी माध्यमको शिक्षाबाट हाम्रा विद्यार्थीहरूको त्यसअनुरूपको प्रतिभा प्रस्फूटन हुन सकेको छ त ? यथार्थमा अहिले हामीले न विज्ञान/प्रविधिका नवीनतम् ज्ञानलाई आफ्नो भाषामा आत्मसात् गर्न सकेका छौँ, न त आफ्नो सभ्यताको जगमा विकास भएको ज्ञानलाई आधुनिक विज्ञानसँग जोड्न पछिल्लो समय अंग्रेजी माध्यमको शिक्षामा आकर्षण झनै बढ्दो छ । जसले आफ्नै जगको वैज्ञानिक खोजमा मात्र होइन, भाषाको विकासलाई समेत कुपोषित गरिरहेको छ । यस अर्थमा हाम्रो जस्तो देशमा अंग्रेजी भाषाको जगमा उभिएको विज्ञान/प्रविधि शिक्षा अमृत कि गुलियो विष ? प्रश्न गर्ने वेला आएको छ ।  
(खड्का जापानस्थित नेसनल इन्स्टिच्युट फर मटेरियल्स साइन्सका स्टाफ वैज्ञानिक हुन्) 
 

ad
ad