अपिहिमाल गाउँपालिका–३ मा पर्ने पाथा गाउँ भौगोलिक विकटताले निकै टाढा छ। अपिहिमाल गाउँपालिका केन्द्रसम्म अझै सडक पहुँच पुगेको छैन। अपिहिमालबाट पनि टाढा रहेको पाथामा लटरम्मै स्याउ फले पनि सडक नहुँदा बारीमै कुहिने अवस्था छ।
स्थानीय कृषक कपुरसिंह धामीको बारीमा अहिले प्रशस्तै स्याउ उत्पादन भएको छ। धामी भन्छन्, ‘गाउँमा स्याउ फलाउने रहर र बजारमा बेच्ने ठुलो इच्छाले स्याउ लगाएँ। फलेको पनि छ। तर, सडक सुविधा नहुँदा बारीमा फलेको १० क्विन्टलभन्दा बढी स्याउ गोदाममै थन्किएको छ।’
गाउँमा स्याउ धेरै फलेको, तर सडक अभावमा बाहिरबाट व्यवसायी आएर किन्ने अवस्था नरहेको किसानहरू बताउँछन्। ‘यो वर्ष स्याउ उत्पादन पनि राम्रो भयो। धेरै स्याउ अहिले पनि बारीमै कुहिए। बचेको स्याउ चिस्यानमा राखिएको छ,’ धामीले सुनाए, ‘सुरुका वर्ष केही बोटमा मात्र फल्यो, अघिल्लो वर्ष जेनतेन खेर फाल्नुपरेन। यो वर्ष त सबै बोटमा राताम्यै स्याउ फलेको थियो। बेच्न नपाएर यसै खेर जान्छ कि भन्ने पिर लागेको छ।’
क्विन्टलका क्विन्टल स्याउ डोकोमा बोकेर बजार झार्न पनि सजिलो छैन। गाउँपालिका केन्द्र खण्डेश्वरीसम्म डोकोमा बोकेर लैजान पनि ४ घण्टाभन्दा बढी हिँड्नुपर्छ। गाडी भएको ठाउँसम्म पुर्याउन थप ३ घण्टा लाग्छ। स्याउ प्याकिङ गर्ने सामान पनि छैन। ‘अहिले कोल्ड स्टोर बनाएर राख्नुपरेको छ। गाउँमा प्रतिकिलो १०० रुपैयाँमा पनि बिक्री हुन मुस्किल छ,’ उनले सुनाए।
पाथाकै अर्का किसान जनकसिंह कार्की गाउँमा स्याउ धेरै लगाएर अर्थ नभएको सुनाउँछन्। ‘खानलाई एक–दुई बोट ठिकै छ। बढी स्याउ कहाँ लगेर बिक्री गर्ने?’ उनले प्रश्न गरे। गाउँमा फुजी, गोल्डेन, रेड डेलिसियस जातका स्याउ फलेका छन्। स्याउ फलाउनमा स्याउ जोन दार्चुलाबाट पनि सहयोग भएको हो।