१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ६ मंगलबार १८:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेले जग्गा दान लिनु कानुनी, नैतिक र राजनीतिक दृष्टिकोणले गलत : कांग्रेस नेता विश्वकर्मा

‘यो गठबन्धन भत्काएर कांग्रेस अन्त जाने पक्षमा छैन’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ६ मंगलबार १८:२१:oo

नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले वर्तमान सत्तागठबन्धनलाई ०७९ को निर्वाचनपछि ०८४ सम्मका लागि बनेको सबैभन्दा ‘उत्कृष्ट गठबन्धन’को संज्ञा दिएका छन्। मंगलबार रिपोर्टस् क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्कालीन प्रधानमन्त्री प्रचण्डको अस्थिर मनस्थिति र चुलबुले उत्ताउलोपनाका कारण कांग्रेस–एमालेसहितको गठबन्धन बनेको बताए।

वर्तमान सत्तागठबन्धन बन्नुमा प्रचण्डको देन रहेको तर्क गर्दै विश्वकर्माले यो गठबन्धन भत्काउने खेलमा नलाग्न आग्रह गरे। ‘अहिले हामी यो गठबन्धनको विकल्प खोज्ने अथवा केही शर्मा ओलीलाई असहयोग गर्ने, कांग्रेस यो गठबन्धन भत्काएर अन्त जाने पक्षमा छैन,’ उनले भने।

यद्यपि, एमालेले व्यवसायी मीनबहादुर गुरुङसँग जग्गा लिनु गलत रहेको उनको टिप्पणी छ। सरकारवादी मुद्दा खेपिराखेका गुरुङसँग एमालेले जग्गा दान लिँदा दलहरूप्रति जनतामा नकारात्मक सन्देश गएको उल्लेख गर्दै विश्वकर्माले एमालेले गुरुङसँग जग्गा लिँदा कानुनी, राजनीतिक र नैतिक दृष्टिकोणले पनि गलत रहेको उनको भनाइ छ।

‘जो व्यक्ति जग्गासम्बन्धी, अनियमिततासम्बन्धी सरकारवादी मुद्दा बोकिराखेका छन्, आमने-सामने मीनबहादुर गुरुङ र नेपाल सरकारको बिचमा झैझगडा छ, मुद्दा मामिला छ। तर, सरकारवादी मुद्दा बोक्ने सरकारले नै मीनबहादुर गुरुङसँग अत्यन्त ठुलो रकमबराबरको जग्गा प्राप्त गर्नु भनेको कानुनी दृष्टिकोण, राजनीतिक दृष्टिकोण र नैतिक दृष्टिकोणबाट पनि यो मिल्ने कुरा होइन। यो हाम्रो पार्टीको धारणा हो, मेरो धारणा हो। यो गलत काम हो, यो गर्न हुँदैन। यसले दलहरूप्रति थप नकारात्मक धारणा बनाएको छ,’ उनले भने।