१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024
रासस म्याग्दी
२o८१ कार्तिक ६ मंगलबार १६:३o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दसैँपछि घोडेपानी र पुनहिलमा पर्यटक बढे

Read Time : > 1 मिनेट
रासस, म्याग्दी
नयाँ पत्रिका
२o८१ कार्तिक ६ मंगलबार १६:३o:oo

चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ मा रहेको प्रसिद्ध पर्यटकीय स्थल घोडेपानी र पुनहिलमा दसैँपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ।

हिमशृंखला र सूर्योदयको मनोरम दृश्यावलोकनका लागि अहिले आन्तरिक तथा बाह्य पर्यटकको भिड लागेको घोडेपानीका होटेल व्यवसायीहरूले बताएका छन्। दसैँको समयमा घोप्टेखर्कमा पहिरोले अवरुद्ध बनाएको सडक मर्मत गरेर पोखरेबगर–घोडेपानी सडकमा जिप र मोटरसाइकल सञ्चालन गर्न मिल्ने बनाएपछि घोडेपानी तथा पुनहिलमा पर्यटकको आगमन बढेको घोडेपानी टोल सुधार समितिकी उपाध्यक्ष जुली ठकुरी पुनले बताइन्।

उनका अनुसार तिहार र छठ पर्वका अवसरमा घोडेपानी घुम्न आउने आन्तरिक पर्यटकलाई यहाँका सबै होटेल तथा लजले खाजा, खाना र आवासमा १० प्रतिशतसम्म छुट दिएका छन्। म्याग्दीको सदरमुकाम बेनीबाट सवारीसाधनमार्फत दैनिक एक सयको हाराहारीमा आन्तरिक पर्यटक घोडेपानी आएका छन् भने कास्कीको उल्लेरी, घान्द्रुक, म्याग्दीको मोहरेडाँडा, पर्वतको भुक देउराली हुँदै पैदल यात्रा गरेर आउने पर्यटकको संख्या पनि उल्लेख्य रहेको होटेल व्यवसायीहरूले बताएका छन्।

दसैँपछि धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे हिमाल हेर्न आन्तरिक तथा बाह्य पर्यटकको भिड लागेको होटेल सञ्चालक बिरेन पुनले बताए। पुनहिलबाट आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको दूरीमा पर्ने झन्डै २० भन्दा बढी हिमचुचुरालाई नजिकबाट नियाल्न सकिन्छ।

धेरैजसो पर्यटक घान्द्रुक एवं अन्नपूर्ण बेसक्याम्प (एबिसी)बाट फर्कने तथा पोखराबाट घोरेपानी आएर घान्द्रुक र एबिसीतिर जाने गरेका होटेल व्यवसायी पुनले जानकारी दिए। विश्वप्रसिद्ध चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको घोरेपानी र पुनहिल क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेपछि होटेल व्यवसायी उत्साहित भएको उनको भनाइ छ। चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने पुनहिलबाट हिमशृंखला र सूर्योदयको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । घोरेपानीदेखि पुनहिलसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ।

समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा अवस्थित घोडेपानीमा रहेका २६ सानाठुला सुविधायुक्त होटेलमा दैनिक एक हजार दुई सयजना पाहुना वास बस्ने क्षमता रहेको छ। प्याकेजमा प्रतिव्यक्ति रु. एक हजार पाँच सयदेखि रु. पाँच हजारसम्मका सुविधायुक्त कोठामा वास बस्न सकिन्छ।

हिमाल, पहाडी भूूगोल, सूर्योदय र गुराँसको जंगल अवलोकनका लागि म्याग्दीको अन्नपूूर्ण– ६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र उपयुक्त गन्तव्य हो। समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रीय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। म्याग्दी, मुस्ताङ, कास्की, लमजुङ र मनाङलाई समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र भ्रमण गर्न पछिल्लो समय सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति रु. एक हजार र तेस्रो मुलुकका पर्यटकलाई प्रतिव्यक्ति रु. तीन हजार शुल्क लिने गरिएको छ।

घोडेपानी पुगेका धेरै पर्यटक हिमालपारिको पर्यटकीय जिल्ला मुस्ताङको प्रवेशद्वारका रूपमा चिनिएको म्याग्दीमा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, अन्नपूर्ण धौलागिरि, धौलागिरि सेञ्चुरी, धौलागिरि चक्रीय, धौलागिरि आइसफल, टोड्के, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनी बजारलगायत विभिन्न धार्मिक, प्राकृतिक र ऐतिहासिक स्थलको भ्रमणमा पुग्ने गर्छन्।