१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १ बिहीबार
  • Thursday, 17 October, 2024
२o८१ कार्तिक १ बिहीबार o८:४२:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मेसीको प्रभावशाली प्रदर्शन

३७ वर्षीय कप्तान लियोनल मेसीले बोलिभियाविरुद्ध ह्याट्रिकसहित दुई असिस्ट गर्दै अर्जेन्टिनालाई सहज जित दिलाए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १ बिहीबार o८:४२:oo

कप्तान लियोनल मेसीको ह्याट्रिकप्रेरित विश्वविजेता अर्जेन्टिनाले फिफा विश्वकप, २०२६ छनोट खेलमा बोलिभियालाई ६–० ले हराएको छ । ३७ वर्षीय खेलाडीले खेलमा ह्याट्रिकसँगै दुई असिस्ट गरेका थिए । घरेलु मैदानमा एकपक्षीय दबाब बनाएको अर्जेन्टिनाले दुवै हाफमा समान तीन गोल गरेको थियो । अमेरिकामा व्यावसायिक फुटबल खेलिरहेका मेसीले खेलको १९, ८४ र ८६औँ मिनेटमा गोल गरेका थिए । लौटारो मार्टिनेज, जुलियन अल्भारेज र थिअगो अल्माडाको नाममा समान एक गोल रह्यो । 

मेसीले मार्टिनेज र अल्भारेजको गोलमा असिस्ट गरेका थिए । दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना शीर्ष स्थानमा छ । १० खेलमा सात जित निकालेको अर्जेन्टिनाको २२ अंक छ । समान खेलबाट १९ अंक जोडेको कोलम्बिया दोस्रो स्थानमा रहँदा १२ अंक जोडेको बोलिभिया सातौँ स्थानमा छ । मेसीकै कप्तानीमा अर्जेन्टिनाले सन् २०२२ को कतार फिफा विश्वकप जितेको थियो । त्यस्तै, कोपा अमेरिकाको उपाधि लगातार दोस्रोपटक जितेको छ ।

घरेलु मैदानमा मेसीले १९औँ मिनेटमै अग्रता दिलाए । मार्टिनेजकै पासमा मेसीले बक्सभित्रबाट सहज गोल गरेका हुन् । मेसीकै पासमा मार्टिनेजले ४३औँ मिनेटमा अग्रता २–० को बनाए । मेसीले नै पहिलो हाफको इन्जुरी समयमा अल्भारेजलाई अर्काे पास उपलब्ध गराएपछि अर्जेन्टिना ३–० ले अघि बढ्यो । ६९औँ मिनेटमा थिअगोले चौथो गोल गरे । मेसीले ८४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । ८६औँ मिनेटमा निको पाजको पासको सदुपयोग गर्दै ह्याट्रिक पूरा गरेका हुन् । 

लयमा ब्राजिल
निरन्तर खराब प्रदर्शन गरेको ब्राजिल पेरुविरुद्ध ४–० को सहज जित निकाल्दै लयमा देखिएको छ । एरिना बिआरबी माने गारिन्चा रंगशालामा घरेलु टोलीलाई जित दिलाउन राफिन्हाले दुई गोल गरे । आन्द्रेस परेरा र लुइस हेनरिकले समान एक गोल गरेका थिए । जितसँगै १० खेलबाट १६ अंक जोडेको ब्राजिल चौथो स्थानमा उक्लियो । पराजित पेरु समान खेलबाट ६ अंकका साथ नवौँ स्थानमा छ । खेलको ३८औँ मिनेटमा राफिन्हाले पहिलो गोल गरे । ५४औँ मिनेटमा राफिन्हाले पेनाल्टीमै दोस्रो गोल गरेका हुन् । परेराले ७१औँ मिनेटमा तेस्रो तथा चार मिनेटपछि नै हेनरिकले गोल गर्दै ब्राजिललाई ४–० को सहज जित दिलाएका हुन् ।