१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १ बिहीबार
  • Thursday, 17 October, 2024
रामकृष्ण थापा सिन्धुपाल्चाेक
२o८१ कार्तिक १ बिहीबार ११:१२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दसैँअघि खासा आइपुगेको फलफूल तुइनबाट तारेर तातोपानी भन्सार ल्याइँदै

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चाेक
नयाँ पत्रिका
२o८१ कार्तिक १ बिहीबार ११:१२:oo

दसैँअघि चीन स्वशासित तिब्बतको खासा आइपुगेको फलफूल लिपिङ खोलामा तुइनबाट र पहिरोमा मानिसले बोकेर सुक्खा बन्दरगाह तातोपानी भन्सार ल्याउन थालिएको छ । ११ र १२ असोजको बाढीपहिरोले सडक अवरुद्ध भएसँगै चिनियाँ भन्सार पास गरी नेपालतर्फ आएका फलफूलवाहक ५४ कन्टेनर मितेरी पुलपारि खासा क्षेत्रमा अड्किएका थिए । तातोपानी भन्सार कार्यालयका सूचना अधिकृत सूर्यप्रसाद काफ्लेका अनुसार चिनियाँ क्षेत्रमा रहेका कन्टेनर अहिले लिपिङपट्टि आइपुगेका छन् । ४० फुटे कन्टेनरमा २१ टनजति स्याउ, ओखर, किबी, ड्रागनफ्रुट, लसुनलगायत फलफूल रहेको काफ्लेले जानकारी दिए । 

‘बाढीपहिरोले लिपिङ खोलाको पक्की पुल बगाएपछि अहिले सो स्थानमा तुइन प्रयोग गरेर फलफूल वारि पठाइएको छ । त्यहाँबाट कोदारी पहिरोसम्म बोलेरो र त्यसपछि भरियाले तातोपानीसम्म बोकेर लाने गर्छन्,’ काफ्लेले भने, ‘धेरै ठाउँको जोखिम मोलेर सामान ढुवानी गरिएको छ ।’ 

तुइन र ठाउँ–ठाउँमा भरियाले बोक्दा स्याउको मूल्य बढ्ने लामो समयदेखि चिनियाँ बजारबाट स्याउ आयात गर्दै आएका नेपाल हिमालय सीमापार वाणिज्य संघका सदस्यसमेत रहेका व्यापारी शारदाप्रसाद पराजुलीले बताए । ‘हामीले भरियाको समूह तयार पारेर पुल नभएको ठाउँमा तुइनबाट र पहिरो गएको ठाउँमा भरियाले बोकेर फलफूल ढुवानी गरिरहेका छौँ,’ उनले भने । 

यता, तातोपानी नाकातर्फ लिपिङपुलका लागि बेलिब्रिज लार्चा आइपुगेको छ । तर, कोदारी पहिरो पन्छाउन अझै केही दिन लाग्ने र पहिरो पन्छाईकन बेलिब्रिज पु¥याए पनि कसरी फिट गर्ने भन्ने समस्या भएको सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख अमित श्रेष्ठले बताए । ‘लिपिङ पुल बनाउन पहिले कोदारीको बाटो खुल्नुपर्छ । बाटो नखुल्दा गिटी–बालुवा मान्छेले बोकेर लैजानुपर्ने अवस्था आउँछ, जुन निकै गाह्रो छ,’ उनले भने । 

दसैँ–तिहारका लागि ल्याइएका करिब साढे चार सय कन्टेनर फलफूल सडक अवरुद्ध भएपछि न्यालम, केरुङ, सिगात्से, मिम्बु र रिकार्चेमा अड्किएका छन् । साथै, जाडोका लागि आयात गरिने रेडिमेड सामान पनि चिनियाँ सहरका विभिन्न गोदाममा अड्किएको काफ्लेको भनाइ छ ।