१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १ बिहीबार
  • Thursday, 17 October, 2024
२o८१ कार्तिक १ बिहीबार o८:३२:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पुस्तान्तरण नहुँदा संकटमा सरायँ नाच

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १ बिहीबार o८:३२:oo

मालिका गाउँपालिका– ६ का ६२ वर्षीय डिलबहादुर परियारले २० वर्षको उमेरबाट सरायँ खेल्न थालेका हुन् । उमेरमा डिलबहादुरले फुकेको नर्सिंगा र कर्नालले फूलबारी थर्किन्थ्यो । पूर्वबाट पूर्णिमाको जुनले जब डाँडो टेक्थ्यो, तब सरायँ हेर्ने र खेल्नेले फूलबारी भरिन्थ्यो । जुनेली रात छिप्पँदै जाँदा सरायँमय हुन्थ्यो अर्जे फूलबारी । उनका तीन पुस्ता एकै ठाउँमा सरायँ खेल्थे । 

बहुदल आएको केही वर्षपछि दिउँसोमा सरायँ हुन थाल्यो । बुबा रेशमबहादुरसँगै डिलबहादुरले पनि बाजा बजाउन र सरायँ खेल्न सिके । डिलबहादुरका अनुसार सरायँ खेल्दा प्रत्येक दुई मिनेटमा नर्सिंगा र कर्नाल फुक्नुपर्छ । सरायँका लागि नर्सिंगा र कर्नालसहित सनाई, दमाह र झ्याली दुई–दुई सेट बाजा आवश्यक पर्छ । कम्तीमा आधा घण्टामा पालो दिने मान्छे हुनुपर्छ । डिलबहादुर अझै पनि नर्सिंगा र कर्नाल फुक्छन् । 

अचेल सरायँ नाचमा पाको पुस्ता दुर्लभ बनेका छन् । युवा पुस्तामा टिकेर खेल्ने र मर्म बुझेका निकै कम छन् । त्यो मात्रै नभएर बाजा बजाउनेको पुस्तामा पनि उरन्ठ्यौलोपन भित्रिएको छ । ‘बाजा बिगारे बा–हजुरबाले पिट्थे । अहिलेका पुस्ताले झम्झाएको राम्रो मान्दैनन्,’ स्थानीय मीनबहादुर परियार भन्छन्, ‘अहिले बाजा र सरायँको लयभन्दा देखावटी बढ्दै गयो ।’ अर्जे पश्चिम गुल्मीको सबैभन्दा व्यवस्थित सरायँ हुने ठाउँ हो । पहिले दसैँको पूर्णिमाको दिन रातमा सरायँ खेल्ने चलन थियो ।

स्थानीयका अनुसार पचासको दशकअघि ३० हजारभन्दा बढीले मेलाको अवलोकन गर्थे । सरायँमा पाको र नयाँ पुस्ताको जम्को हुन्थ्यो । तर, अहिले सरायँ न्यास्रो बनेकोमा आफूहरू पनि चिन्तित भएको मालिका गाउँपालिका– ६ का पूर्ववडाध्यक्ष शोभाखर गिरीले बताए । गुल्मीको इस्मा गाउँपालिका– २ को देवीस्थान मन्दिरपरिसर ताल्तुङमा सरायँ नाच्दै गर्दा भेटिएका राजेन्द्रविक्रम कँुवर पुस्तान्तरण नहुँदा यो नाच संकटमा परेको बताउँछन् । 

ऐतिहासिक सरायँ नाच गुल्मी, अर्घाखाँची, प्युठान र पाल्पाका शक्तिपीठमा दसैँको भोलिपल्टबाट खेल्ने परम्परा छ । गुल्मीमा मन्दिरमा भक्तजनले चढाएका खुकुरी, तरवार, खुँडा, खड्ग आदि हतियार एकआपसमा ठोक्याउँदै ‘वाख्खै वा’ को भाषामा सराय खेलिन्छ । केही समय पहिले हतियार नै नचाएर सरायँ खेलिन्थ्यो । पछिल्लो सयम सबै ठाउँमा त्यो देखिन्न । हतियार प्रदर्शन गर्दा दुर्घटना हुने डर बढी हुने भएकाले पछिल्लो समय छोडिएको इस्माका अगुवा रामबहादुर विष्टले जानकारी दिए । अहिले काठका हतियार, रुमाल, मजुरका प्वाँख र फूल छोपेर सरायँ खेल्ने गरिन्छ । केही स्थानमा खुकुरी र तरबार नचाउने गरिएको छ । 

गुल्मीमा विशेष गरेर छत्रकोटको चोयँगा, मालिकाको अर्जे, घमिर, छापहिले, इस्माको मैदान, राङदल, ठाढुंगा, हस्तीचौरमा सरायँ नाच हुँदै आएको छ । धुर्कोटका जैसीथोक, रजस्थल, वाग्ला तथा मुसिकोटको कोट, थाम, वामीलगायत स्थानमा सरायँ नाचिन्छ ।