१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १ बिहीबार
  • Thursday, 17 October, 2024
२o८१ कार्तिक १ बिहीबार o८:१८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

डडेल्धुरामा बस दुर्घटना : अस्पतालबाट फर्किँदै गरेका एकै परिवारका तीनसहित पाँचजनाको मृत्यु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १ बिहीबार o८:१८:oo

फूलपातीका दिन गाउँमा दसैँको चहलपहल थियो । तर, सुत्केरी हुने दिन नजिक आएपछि पुरचौँडी नगरपालिका– ३ तोलीगाउँका २२ वर्षीय सहदेव बोहरा श्रीमतीलाई राम्रो अस्पताल लग्ने भन्दै २४ असोजमा धनगढी हिँडेका थिए । धनगढीको सेती अस्पतालमा सहदेवकी २१ वर्षीया श्रीमती कमलाले २८ असोजमा नवजात शिशुको जन्म दिइन् ।

अघिल्लो दिन जन्मेको शिशुलाई बोकेर बोहरादम्पती मंगलबार धनगढीबाट बैतडी, पुरचौँडीका लागि हिँडे । छोरो जन्मिएको खबर घरमा पठाएर खुसियाली मनाउन फर्किएका उनीहरू घर नपुग्दै राति दुर्घटनामा परेर अस्ताए । दुर्घटनामा दुईदिने नवजात शिशु र सुत्केरी स्याहार्न साथमै हिँडेकी कमलाकी ४५ वर्षीया आमा जैमती बोहराको पनि मृत्यु भयो । छोरीको घर नजिकै रहेकाले गर्भवती अवस्थामा सधैँ स्याहार गर्ने जैमतीले छोरीज्वाइँसँगै संसार छाडिन् । 

बोहराको घरबाट चार घण्टा पैदल हिँडेर बस भेटिने ठाउँ पुरचौँडी नगरपालिकाको केन्द्र हाँट पुगिन्छ । त्यहाँबाट आठ–नौ घण्टाको यात्रापछि उनीहरू कैलालीको सेती प्रादेशिक अस्पताल पुगेका थिए । फर्किने वेला बस दुर्घटनामा परेर एकै घरका चारजनाको मृत्यु भएपछि पुरचौँडी नगरपालिका– ३ तोलीगाउँ शोकमा डुबेको वडाध्यक्ष खगेन्द्र बोहराले बताए ।

दुर्घटनामा मृत्यु भएका बोहरा भारतको बैंलोर गएर घर खर्च जुटाउँथे । उनले दुई वर्षअघि बिहे गरेर श्रीमतीलाई पनि साथमै लगेका थिए । श्रीमती गर्भवती भएपछि चार महिनाअघि उनी घर फर्किएको वडाध्यक्ष बोहराले बताए । ‘गाउँमा नयाँ घर बनाउने भन्दै एक तला उठाएको थियो,’ उनले भने, ‘नयाँ घरमा सन्तान हुर्काउने भन्थ्यो, घर नपुग्दै दुर्घटनामा परेछ ।’ मृतक बोहराका आमाबुबा छैनन् भने परिवारमा दुईजना दाजु छन् । पोस्टमार्टम गरेर डडेल्धुरा अस्पतालमा राखिएको शव बुझ्न दाजु करन बोहरालगायत आफन्तहरू बुधबार दिउँसो डडेल्धुरा अस्पताल पुगेका छन् । मंगलबार बेलुका घर फर्किने भन्दै फोनमा कुरा गरेका भाइको राति दुर्घटनामा परेर मृत्यु भएको खबर सुनेपछि पुरचौँडीबाट डडेल्धुरा आएको करनले बताए । ‘आफ्नो ससुरालाई फोन गरेर घर फर्किन लागेको खबर पठाएको थियो, घर नपुग्दै पत्याउनै नसकिने दुर्घटना भएछ,’ उनले भने । 

मंगलबार राति अमरगढी नगरपालिका– ८ खस्रेखानमा पवनदूत यातायातको ना.८ख १०७८ नम्बरको रात्रिबस दुर्घटना हुँदा बोहरा परिवारका चारजनासहित पाँचजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा पुरचौँडी नगरपालिका– १० की ६० वर्षीया गोवडी महरा छन् । उनको शव बुधबार बिहान ११ बजे घटनास्थलमा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताए ।

दुर्घटनाग्रस्त गाडीको छततिरको भग रुखमा अड्किएको र त्यसैमा शव फेला परेको उनले जानकारी दिए । दुर्घटनाग्रस्त बस कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुरचौँडीका लागि आउँदै थियो । डडेल्धुरा प्रहरीका अनुसार बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ ।

दुर्घटनामा चालकसहित अन्य १२ जना रहेको र उनीहरूको थप उपचारका लागि डडेल्धुराबाट धनगढी पठाइएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ । दुर्घटनाको कारण अझै खुलिनसकेको प्रहरीले जनाएको छ । ‘ब्रेक फेला वा चालक निदाएको हुन सक्ने भनिएको छ, चालकको मापसे पनि गर्दै छौँ,’ डिएसपी श्रेष्ठले भने ।