१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३० बुधबार
  • Thursday, 17 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ३० बुधबार o७:२२:oo
Read Time : > 2 मिनेट
खेलकुद डिजिटल संस्करण

एक साताभित्र एनपिएलको नाम परिवर्तन गर्न क्यानलाई चेतावनी

नेपाली क्रिकेटको सर्वोच्च निकायले आयोजना गर्ने प्रतियोगिता दर्ता गर्नु नपर्ने क्यानको भनाइ तर, कम्पनी रजिस्ट्रार कार्यालयमा नेपाल प्रिमियर लिग आफ्नो नाममा दर्ता भएको पूर्वक्रिकेटर आमिर अख्तरको दाबी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ३० बुधबार o७:२२:oo

नेपाल क्रिकेट संघ (क्यान)ले आगामी १६ मंसिर ६ पुससम्म नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आयोजना गर्दै छ । क्यानले लिग आयोजना गर्न आठ टोली, मार्की खेलाडी र अक्सनसमेत गरिसकेको छ । क्यानले एनपिएलको तयारी तीव्र गरिरहँदा पूर्वक्रिकेटर आमिर अख्तरले नेपाल प्रिमियर लिग आफ्नो स्वामित्वमा रहेको दाबी गरेका छन् । 

अख्तरले आफूले कम्पनी रजिस्ट्रार कार्यालयमा नेपाल प्रिमियर लिग नाममा दर्ता गराएको जनाएका छन् । उनले ०७० चैत १९ मा उद्योग मन्त्रालयअन्तर्गत कम्पनी रजिस्ट्रार कार्यालयमा नेपाल प्रिमियर लिग दर्ता गरेको प्रमाण प्रस्तुत गरेका छन् । क्यानले सात दिनभित्र नेपाल प्रिमियर लिगको नाम परिवर्तन गर्न उनले आग्रह गरेका छन् । क्यानसँग सहमति भएमा आफू नेपाल प्रिमियर लिगको स्वामित्व क्यानलाई हस्तान्तरण गर्न तयार रहेको अख्तरले बताएका छन् । 

‘क्यानले मसँग आपसी सहमति र सम्झौता समन्वय गरेमा मात्रै मेरो कम्पनी नेपाल प्रिमियर लिग नेपालको प्रचलित कानुनबमोजिम ट्रान्सफर तथा नामसारी दर्ता गर्नेछु,’ अख्तरले मंगलबार क्यानलाई लेखेको पत्रमा उल्लेख गरेका छन्, ‘एक साताभित्र सम्झौता वा नामसारी नभए कानुनी उपचार खोज्न बाध्य हुनेछु ।’ उनले राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय, कम्पनी रजिस्ट्रारको कार्यालय र एनपिएलमा सहभागी आठवटै क्लबलाई बोधार्थ दिएका छन् । 

अख्तरले ०७१ मा धनगढीमा नेपाल प्रिमियर लिग आयोजना गरेका थिए । ‘मैले १० वर्षअघि क्यानकै सहमतिमा एनपिएलको पहिलो संस्करण सञ्चालन गरेको थिएँ, क्यानलाई यस सम्वम्धमा ध्यानाकर्षण गराउन चाहन्छु, नेपाल प्रिमियर लिग प्रालिको एकल सेयरधनीका रूपमा मैले कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता गराएको छु,’ अख्तरले मंगलबार क्यानलाई लेखेको पत्रमा भनेका छन् । 

एनपिएलको ट्रेडमार्क क्यानको नाममा
क्यानका प्रवक्ता लामाले एनपिएलको ट्रेडमार्क क्यानको नाममा भएको दाबी गरेका छन् । ‘एनपिएलको ट्रेडमार्क क्यानको नाममा छ, त्यसैले यो विषयमा विवाद झिकिराख्नुपर्ने कारण देख्दिनँ,’ उनले भने । सन् २०१४ मा भएको एनपिएलको विवादित पृष्ठभूमिको कुरा उठाउँदै एनपिएललाई पनि विवादित बनाउन खोज्नु दुःखद भएको उनको भनाइ छ । एनपिएलको आयोजना गर्ने अधिकार केवल क्यानसँग मात्र भएको उनले बताए । 

‘विश्वभरि नै आधिकारिक फ्रेन्चाइज क्रिकेट लिग क्रिकेटको गभर्नर बडीले गर्छ, त्यसबाहेक निजी कम्पनीले गर्न पाउँदैन,’ लामाले भने, ‘नेपालको एक मात्र अन्तर्राष्ट्रिय मान्यताप्राप्त फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग हो, जुन क्यानले मात्र गर्न पाउँछ ।’ आइसिसीले समेत यसको मान्यता क्यानलाई दिइसकेका कारण अरूको दाबी नठहरिने उनको भनाइ छ । 

‘जोहरा इन्टरनेसनल प्रालिले इपिएल आयोजना गरेको छ, उनीहरूले नेपाल प्रिमियर लिगमाथि दाबी गर्नु भनेको हास्यास्पदजस्तो लाग्छ,’ उनले भने, ‘यो समयमा एनपिएल लिगमा विवाद निकाल्नु भनेको अवरोध सिर्जना गर्नु हो । सन् २०१९ मा आइसिसीको फुकुवापछि क्यानले एनपिएलको स्वामित्व लिएको थियो । यसअघि निजी कम्पनी जोहराले एनपिएल आयोजना गरेको थियो । एनपिएल छाडेर जोहराले तीन वर्षसम्म एभरेस्ट प्रिमियर लिग आयोजना गर्‍यो । 

क्यान नियमनकारी संस्था 
क्रिकेट सर्वोच्च संस्था क्यानले भने अख्तरको दाबी अस्वीकार गरेको प्रवक्ता छुम्बी लामाले बताए । ‘नेपालभित्र क्रिकेटको गभर्नर बडी क्यान मात्र हो, क्रिकेट गतिविधि सञ्चालनको अधिकार क्यानसँग छ, निजी कम्पनीले जुन नामबाट पनि दर्ता गर्न सक्छन्, तर प्राइभेट कम्पनीले दर्ता गरेको नामको कुनै अर्थ छैन,’ लामाले भने, ‘क्यान आफैँले एनपिएल आयोजना गर्ने भएकाले कम्पनीमा दर्ता गरिराख्नु आवश्यक छैन ।’ राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको नियमनकारी संस्था क्यान रहेकाले नेपालमा हुने सबै क्रिकेटका गतिविधि क्यानअन्तर्गत हुने लामाको भनाइ छ । 

‘नेपालमा जति पनि क्रिकेट गतिविधि हुन्छन्, त्यसको नियमनकारी क्यान हो, तसर्थ प्रतियोगिता आयोजना गर्न क्यानले कम्पनीमा दर्ता गर्नुपर्ने आवश्यक छैन,’ उनले भने, ‘एनपिएललाई असफल बनाउन अहिले विवाद निकाल्न प्रयास भइरहेको छ ।’ अख्तरले आफ्नो स्वामित्वमा दर्ता रहेको नामबाट प्रतियोगिता आयोजना गर्नु कानुनविपरीत हुने जनाए । उनले क्यानलाई आफूसँग सहमति गरे मात्र नेपाल प्रिमियर लिगको नाममा प्रतियोगिता सञ्चालन गर्न आग्रह गरेका छन् । 

 धनगढीमा भएको थियो एनपिएल 
जोहरा इन्टरनेसनल प्रालिले व्यावसायिक क्रिकेट लिगका रूपमा २०७१ सालमा नेपाल प्रिमियर लिग आयोजना गरेको थियो । जोहराले क्यानसँग तीन वर्षसम्मका लागि आयोजना गर्न सम्झौता थियो । पहिलो संस्करणको एनपिएल लिग धगगढीमा ३१ वैशाख देखि १० जेठ ०७१ सम्म भएको थियो । प्रतियोगिता टी–२०, ५० ओभर तथा द्विदिवसीय ढाँचामा भएको थियो । समूहबाट राउन्ड रोबिन लिगमा खेलाएको थियो ।

पञ्चकन्या तेजले जगदम्बा जायन्ट्सलाई ९६ रनले हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिगको ट्रफी हात पारेको थियो । त्यसवेला विजेताले दुई लाख र उपविजेताले एक लाख पाएका थिए । १० वर्षअघि भएको लिगमा विशाल ग्रुप वारियर्सका पारस खड्का, कलर्स एक्स फ्याक्टरका ज्ञानेन्द्र मल्ल, जगदम्बा जायन्ट्सका शक्ति गौचन, पञ्चकन्याका शरद भेषवाकर, कान्तिपुर गोर्खाजका वसन्त रेग्मी र सगरमाथा लिजेन्ड्सका विनोद भण्डारी कप्तान थिए ।