Skip This
एभरेस्ट महिला भलिबल लिग : कर्णाली अपराजित रहँदै च्याम्पियन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
उपाधि जितेपछि ट्रफीका साथ कर्णालीका खेलाडी । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडाैं
२o८१ असोज २० आइतबार o७:२९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एभरेस्ट महिला भलिबल लिग : कर्णाली अपराजित रहँदै च्याम्पियन

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार o७:२९:oo

अपराजित रहँदै कर्णाली यस्विज फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको फाइनलमा कर्णालीले ललितपुर क्विन्सविरुद्ध ३–२ सेटको रोमाञ्चक जित निकाल्यो । सुमित्रा रेग्मी मार्की तथा कुमार राई प्रशिक्षक रहेको कर्णालीले सुरुमा लगातार दुई सेट जितेर पनि संघर्ष गर्नुपरेको थियो । कर्णालीले खेल २५–१७, २५–२०, १२–२५, १८–२५ र १५–१३ ले जित्यो । कर्णालीले उपाधि जित्दा ग्रिसकी अपोजिट हिटर एथानासिया लियाग्की, अमेरिकाकी सेटर ग्याब्रिएल बेन्डा र टर्कीकी आउटसाइट हिटर जिनेप आउट्रनले सानदार प्रदर्शन गरेका थिए । जिनेप नै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् ।

उपाधि विजेता कर्णालीले खेलेको ६ खेल नै जित्न सफल भयो । पछिल्लो दुई वर्ष निकै चर्चामा रहेकी मार्की सुमित्राले उपाधि जित्दा खुसी भएको प्रतिक्रिया दिइन् । ‘सबै खेलाडीको मिहिनेतले उपाधि जितेका छौँ । सबैजना खुसी छौँ ।’ लिग चरणमा कर्णालीले मधेश र काठमाडौंलाई समान ३–१, गण्डकी थन्डर्स, चितवन शक्तिलाई समान ३–२ र ललितपुर क्सिन्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

रोमाञ्चक फाइनल 
पहिलोपटक भएको एभरेस्ट फ्रेन्चाइज लिगको फाइनल खेल निकै रोमाञ्चक रह्यो । कर्णालीले सुरुका दुई सेट जितेपछि तीन थाइल्यान्ड खेलाडीको साथ पाएको ललितपुरले कमब्याक गरेको थियो । तर, लिबेरो सलिना श्रेष्ठ मार्की रहेको ललितपुर निर्णायक सेटमा भने कमजोर देखियो । कर्णालीले पहिलो सेट २५–१७ र दोस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्दै २–० को अग्रता बनायो । 

निकै दबाबमा परेको ललितपुरले तेस्रो सेट २५–१२ ले जित्दै कर्णालीबाट सोझो सेटको हार टारेको थियो । चौथो सेट पनि ललितपुरले २५–१८ ले जित्दै खेल बराबर गर्न सफल रह्यो । तर, पाँचौँ तथा निर्णायक सेटमा कर्णाली १५–१३ ले विजयी हुँदै पहिलो संस्करणको उपाधि जित्न सफल भएको हो । लिग चरणमा काठमाडौं, मधेश र चितवनलाई समान ३–१ को सेटमा हराएको ललितपुरले कर्णालीसँग ३–० तथा गण्डकीसँग ३–२ को सेटमा हार व्यहोरेको थियो । विजेता कर्णालीले सात लाख नगद र उपविजेता ललितपुरले तीन लाख पुरस्कार प्राप्त गरेको छ । सवोत्कृष्ट खेलाडी जेनेपले बिस हजार पाइन् ।