Skip This
एभरेस्ट महिला भलिबल लिग : चम्किएका विदेशी खेलाडी 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १९ शनिबार
  • Saturday, 05 October, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ असोज १९ शनिबार ११:o५:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एभरेस्ट महिला भलिबल लिग : चम्किएका विदेशी खेलाडी 

Read Time : > 3 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १९ शनिबार ११:o५:oo

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा चलिरहेको पहिलो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा सहभागी ६ टोलीले स्वदेशी र विदेशी खेलाडीका साथ प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरूले तीनदेखि चारजना विदेशी खेलाडीलाई समावेश गरेका छन् । भारतबाट लिग खेल्न सर्वाधिक चार खेलाडी आएका छन् । ग्रिस, थाइल्यान्ड र टर्कीका समान तीन खेलाडीले लिग खेलिरहेका छन् । अमेरिका, बुल्गेरिया, ट्युनिसिया, काजकिस्तानबाट एक–एक खेलाडी छन् । कर्णालीले ग्रिस र टर्कीका नाम चलेका खेलाडी भित्र्याउँदै उपाधि दाबेदारका रूपमा आफूलाई उभ्याएको छ । विदेशी खेलाडी लिगमा हाबी देखिएका छन् । काठमाडौंका प्रशिक्षक जगदीश भट्टले विदेशी खेलाडीको लिगमा प्रभाव परेको बताएका छन् । ‘पहिलोपटक आयोजना भएको लिगमा विदेशी खेलाडीको प्रभाव देखिन्छ,’ भट्टले भने ।  एक खेल पनि नजितेको मधेश युनाइटेडका प्रशिक्षक भरत यादवले विदेशी खेलाडीबाट सोचेजस्तो प्रदर्शन भएको बताए । लिगमा आबद्ध १९ विदेशीमध्ये राम्रो प्रदर्शन गरेका नौ खेलाडीमाथि नयाँ पत्रिकाका रमेश सुवेदीको विश्लेषण: 

वारन्या श्रीलोङ (आउटसाइड हिटर) आबद्ध : ललितपुर क्विन्स, देश : थाइल्यान्ड

थाइल्यान्डकी वारन्या श्रीलोङले पहिलो सहभागितामै प्रभावशाली प्रदर्शन गर्न सफल भएकी छिन् । ललितपुर क्विन्सबाट खेलिरहेकी श्रीलोङले काठमाडौं स्पाइकर्सविरुद्ध ललितपुरलाई जित दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । यसै प्रदर्शनका कारण उनी पहिलो खेलमै प्लेयर अफ दी म्याच भइन् । आउटसाइट हिटर पोसेसनबाट खेल्ने उनले अन्तिम खेलमा पनि चितवनविरुद्ध सानदार प्रदर्शन गरेकी थिइन् । लिगमा ललितपुरले खेलेको पाँचै खेलमा उनले निरन्तर स्थान बनाउन सफल भइन् । थाइल्यान्डको घरेलु प्रतियोगितामा समेत उनी चर्चित महिलाखेलाडीमा पर्छिन् । 

ग्याब्रिएल बेन्डा (सेटर) आबद्ध : कर्णाली यस्भिस, देश : अमेरिका 
एभरेस्टर महिला लिगको पहिलो संस्करणमा अमेरिकादेखिका खेलाडी आएका छन् । कर्णालीले सुरुवातका लगातार चार खेल जित्दा सेटर ग्याब्रिएल बेन्डाले उत्कृष्ट प्रदर्शन गरेकी छिन् । कर्णालीले बेन्डा मात्र नभएर युरोपियन राष्ट्रका राम्रा खेलाडीलाई अनुबन्ध गरेको छ । यसै कारण कर्णालीमाथि अन्य टोली हाबी हुन सकेका छैनन् । सहभागी टोलीमध्ये सबै पक्षमा सन्तुलित कर्णाली नै हो । राष्ट्रिय टोली मिडब्लकर सुमित्रा रेग्मी मार्की रहेको कर्णालीका लागि बेन्डा एकपटक प्लेयर अफ दी म्याच भइन् । ५.१० फिट अग्ली बेन्डाले टोलीले खेलेका सबै प्रतिस्पर्धामा आफ्नो तर्फबाट उत्कृष्ट देखाइन् । उनको प्रदर्शनले प्रशिक्षक कुमार राईलाई राहत मिलेको छ । 

एथानासिया लियाग्की (अपोजिट हिटर) आबद्ध : कर्णाली, देश : ग्रिस 
कर्णाली पहिलो संस्करणको लिगमा राम्रा विदेशी खेलाडी अनुबन्ध गर्ने क्रममा ग्रिसकी लियाग्कीलाई भित्र्याएको छ । चालू लिगमा विदेशीमध्ये लियाग्की अहिलेसम्मकै नाम चलेकी खेलाडी हुन् । उनीसँग युरोप मात्र नभएर एसियन लेभको फ्रेन्चाइज लिग खेलेको अनुभव छ । यसै अनुभवले अहिले उनले दशरथ रंगशालाको कभर्ड हलमा कर्णालीलाई बाँडेकी छिन् । अपोजिट हिटर लियाग्कीले कोर्टमा आफ्ना साथीहरूको मनोबल घट्न नदिने र आत्मबल बढाउन काम गरिरहेकी छिन् । मार्कीको जिम्मेवारी सुमित्रा रेग्मीले पाए पनि लियाग्कीले सबैजसो निर्णय लिने गरेकी छिन् ।

पेलिन एरोक्टी (अपोजिट हिटर) आबद्ध : काठमाडौं स्पाइकर्स, देश : टर्की

काठमाडौंले शीर्ष दुई स्थान हात पार्ने लक्ष्यका साथ विदेशी भित्र्याएको थियो । यसमध्ये टर्कीकी अपोजिट हिटर एरोक्टीलाई काठमाडौंले अनुबन्ध गर्न सफल भयो । एरोक्टी मात्र नभएर काठमाडौंले टर्कीका फुलडेन उराल र बुल्गेरियाका एन्ड्रिया स्भेतानोभालाई अनुबन्ध गरी टिम बलियो बनायो । काठमाडौंका विदेशी खेलाडीमध्ये प्रभावशाली प्रदर्शन एरोक्टीले गरेकी छिन् । काठमाडौंमा नेपाली राष्ट्रिय भलिबल टोलीकै महत्वपूर्ण खेलाडीद्वय उषा भण्डारी र आरती सुवेदी छन् । यी दुवै खेलाडीको एरोक्टीले गतिलो साथ पाएकी छिन् । एरोक्टीको आगमनले प्रशिक्षक जगदीश भट्टलाई समेत रणनीति बनाउन सहज भएको थियो । फाइनलसम्म पुग्दा एरोक्टीले सानदार प्रदर्शन गरेकी थिइन् ।

जिनी कोभात (सेटर) आबद्ध : मधेश युनाइटेड,  देश : भारत
लिग सुरु हुनुअघि मधेशले विदेशी खेलाडीको नाम सार्वजनिक गर्दा राम्रो टोली बन्ने छाँट देखिएको थियो । तर, लिगको खेल अगाडि बढ्दा आबद्ध विदेशी खेलाडीले आफ्नो स्तरअनुसार प्रदर्शन गर्न सकेनन् । यद्यपि, यसमध्ये भारतकी जिनीले दर्शकलाई रोमाञ्चक बनाएकी थिइन् । चालू लिगमा उनी चौथो खेलाडीका रूपमा आबद्ध भएकी हुन् । सेटर पोसेसनबाट खेल्ने जिनीले टोलीका अन्य खेलाडी चल्न नसक्दा राम्रो प्रदर्शन गरेकी थिइन् । 

जिनेप आउट्रन (आउटसाइड हिटर) आबद्ध : कर्णाली यस्भिस, देश : टर्की
टर्कीकी जिनेप आउट्रनले लिगमा बलियो टोली कर्णालीबाट प्रतिस्पर्धा गरिरहेकी छिन् । ६.३ फिट अग्ली जिनेपको विशेषता नै आउटसाइड हिटर हो । यस पोसेसनबाट उनको प्रदर्शनमा केही कमजोरी देखिएको छैन । सुमित्रा रेग्मी मार्की रहेको टोलीमा जिनेप एकपटक प्लेयर अफ दी म्याच घोषित भएकी थिइन् । 

एलिसा ट्युबक (अपोजिट हिटर) आबद्ध : गण्डकी  थन्डर्स, देश : रुस
पहिलो संस्करणमा गण्डकीले राम्रो प्रदर्शन गर्न सकेन । गण्डकीले उपाधि जित्ने लक्ष्यका साथ तयारी गरेको थियो । यस क्रममा गण्डकीले रसियाकै चर्चित महिला खेलाडी एलिसालाई अनुबन्ध गरेको थियो । ६ फिटकी अपोजिट हिटर एलिसाको प्रदर्शन औसत रह्यो । नेपाल राष्ट्रिय टोलीकी स्पाइकर सरस्वती चौधरी मार्की रहेको गण्डकीले फाइनलमा स्थान बनाउन सकेन । तर, एलिसाले प्राप्त अवसरमा आफूलाई अन्य विदेशी खेलाडीभन्दा राम्रो बनाउने कोसिस गरेकी थिइन् । उनले गण्डकीबाट पाँचै खेल खेलेकी थिइन् ।   

सूर्या सरसुरी (मिडब्लकर) आबद्ध :  चितवन, देश : भारत
राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही मार्की रहेको चितवनले दुई भारतीय खेलाडी अनुबन्ध गर्दा सूर्या सरसुरीलाई पनि टोलीमा समावेश गर्‍यो । सूर्या पनि नेपालको भलिबलमा परिचित नाम हो । नेपाल भलिबल संघले आयोजना गरेको एनभिए लिगमा उनले चितवनबाट प्रतिस्पर्धा गरेकी थिइन् । चितवनले अनुश्री र सूर्यालाई अनुबन्ध गरी राम्रो टिम बनाएको थियो । यी दुई खेलाडीबिच राम्रो तालमेल मिल्थ्यो । मिडब्लकर सूर्या भारतको राष्ट्रिय टोलीकी खेलाडी पनि हुन् । 

केपी अनुश्री (आउटसाइड हिटर) आबद्धः चितवन शक्ति, देश : भारत
भारतीय राष्ट्रिय महिला टोलीकी सदस्य अनुश्रीसँग नेपालको कोटसँग राम्रो अनुभव छ । नेपाली भलिबलमा उनी चर्चित विदेशी खेलाडीमा पर्छिन् । राखेपको कभर्ड हलमा दुईपटक आयोजना भएको एनभिए लिगमा उनले चितवन एभरेस्ट क्लबबाट प्रतिस्पर्धा गरेकी थिइन् । नेपाली खेलाडीसँग राम्रोसँग हेलमेल भएकी अनुश्रीको पोसेसन आउटसाइट हिटर हो । उनले एक खेलमा प्लेयर अफ दी म्याच अवार्ड पाएकी थिइन् । 

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका