Skip This
एरिकाको लक्ष्य १३औँ  विश्व कराँते च्याम्पियनसिप 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १९ शनिबार
  • Saturday, 05 October, 2024
२o८१ असोज १९ शनिबार o८:o२:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एरिकाको लक्ष्य १३औँ  विश्व कराँते च्याम्पियनसिप 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १९ शनिबार o८:o२:oo

अहिलेसम्म पाँच अन्तर्राष्ट्रियमा समग्रमा आठ पदक जितेकी एरिका गुरुङले २३–२७ असोजसम्म इटालीको भेनिस सहरमा हुने १३औँ विश्व कराँते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

पछिल्लो डेढ वर्ष कराँतेकी एरिका गुरुङ आफू सहभागी अन्तर्राष्ट्रिय प्रतियोगिताबाट खाली हात फर्केकी छैनन् । उनले लगातार पाँच अन्तर्राष्ट्रिय कराँतेमा भाग लिँदा नेपाललाई पदक दिलाएकी छिन् । गत वर्ष इन्डोनेसियामा आयोजना भएको विश्व सितेरियो कराँतेमा डेब्यु गरेको खेलमा उनले स्वर्ण जित्न सफल भइन् । अहिलेसम्म उनले राष्ट्रलाई समग्रमा आठ अन्तर्राष्ट्रिय पदक दिलाएकी छिन् । यसमा चार स्वर्ण, तीन रजत र एक कांस्य समावेश छन् । कराँतेको एरिनामा एकपछि अर्को सफलता चुमिरहेकी एरिकाको अब लक्ष्य १३औँ विश्व कराँते च्याम्पिनसिप हो ।

२३–२७ असोजसम्म इटालीको भेनिस सहरमा हुने च्याम्पियनसिपमा उनले पदकसाथ फर्कने विश्वास दिलाएकी छिन् । विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने उनी मात्र एक्ली खेलाडी हुन् । यसै महिना चीनको हाङझाउमा भएको एसियन कराँते च्याम्पियनसिपमा उनले ऐतिहासिक रजत जितेकी थिइन् । एसियन कराँतेमा नेपाललाई रजत दिलाउने उनी एक मात्र नेपाली खेलाडी हुन् । स्वर्ण पदकबाट थोरै अंकले चुकेकी एरिकाले विश्व च्याम्पियनसिपमा पदक जित्ने लक्ष्य रहेको बताएकी थिइन् । ‘मेरो लक्ष्य इटालीमा हुने प्रतियोगितामा पदक जित्ने हो,’ एरिकाले भनिन्, ‘यसका लागि मैले राम्रो तयारी गरेकी छु ।’ 

एरिकाका प्रशिक्षक कुशल श्रेष्ठ पनि इटालीमा ऐतिहासिक प्रदर्शन गर्ने विश्वास राख्छन् । ‘तयारी र अनुभवका आधारमा एरिकाले विश्व च्याम्पियनसिपमा पदक जित्ने विश्वास छ,’ शुक्रबार बिदाइ कार्यक्रममा उनले भने, ‘हाङझाउमा प्राप्त गर्न नसकेको स्वर्ण इटालीमा जित्ने लक्ष्यका साथ जाँदै छु ।’ 

यू–२१ उमेर समूहमा प्रतिस्पर्धा
भेनिस सहरमा एरिकाले यू–२१ उमेरसमूहअन्तर्गत महिला ६८ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् । उनको खेल २३ असोजमा रहेको छ । यो स्पर्धाको सेमिफाइनल र फाइनल २७ असोजमा हुनेछ । प्रतियोगितामा क्याडेट र जुनियरको पनि प्रतिस्पर्धा समावेश रहेका छन् । प्रतियोगितामा एक सय १३ राष्ट्रका एक हजार नौ सय ९५ खेलाडीको सहभागिता रहने प्रशिक्षक श्रेष्ठले बताए । उनी १०औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता हुन् । एरिकाले अन्तर्राष्ट्रिय कराँतेमा अहिलेसम्म जति पनि सफलता चुमेकी छिन्, त्यसमा प्रशिक्षकको भूमिका श्रेष्ठले नै निर्वाह गरेका थिए । 

छैटौँ अन्तर्राष्ट्रिय प्रतियोगिता
एरिकाको यो समग्रमा छैटौँ अन्तर्राष्ट्रिय प्रतियोगिता हो । उनले पहिलोपटक गत वर्ष इन्डोनेसियाको जकार्तामा भएको १०औँ विश्व सितेरियो कराँते च्याम्पियनसिपमा भाग लिएकी थिइन् । पहिलो अन्तर्राष्ट्रिय सहभागितामै उनले स्वर्ण र कांस्य जितिन् । चीनको हाङझाउमा भएको १९औँ एसियाली खेलकुदमा उनले रजत जितिन् । एसियाडमा नेपालले सन् १९९८ पछि एकल विधामा रजत जितेको रेकर्ड एरिकाले राखिन् । 

त्यसपछि एरिकाले अमेरिकाको टेक्सासमा भएको युएस ओपन कराँतेमा स्वर्ण र रजत जितिन् । भुटानको थिम्पुमा भएको आठौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा उनले राष्ट्रलाई स्वर्ण दिलाइन् । उनले २०औँ एसियाली सिनियर कराँते च्याम्पियनसिपमा रजत जितेकी छिन् । एसियाली खेलकुद र एसियाली सिनियर कराँतेमा एरिकाले जितेको रजत नेपाली कराँतेको इतिहासमा हालसम्म कुनै पनि खेलाडीले जित्न सकेका छैनन् ।

राखेपले सहयोग गर्ने
एकपछि अर्को सफलता चुमिरहेकी एरिकाले सहभागी हुने कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता र प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद्ले सहयोग गर्ने भएको छ । नेपाली टोलीको बिदाइ गर्दै राखेपमा सदस्यसचिव टंकलाल घिसिङले रणनीतिक तयारीअन्तर्गत एरिका सहभागी हुने अन्तर्राष्ट्रिय प्रतियोगिता र तालिमका लागि सहयोग गर्ने प्रतिबद्धता दिलाएका हुन् । नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामाले कराँतेले एसियालीस्तरमा नेपालले पदक जितेर इतिहास रचिसकेको बताउँदै विश्व च्याम्पियनसिपमा नजितेको पदक एरिकाबाट सम्भव हुने जनाए ।