१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १५ मंगलबार
  • Tuesday, 01 October, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ असोज १५ मंगलबार १४:५५:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

बेलडाँडीका निजी स्रोतका शिक्षक आन्दोलित

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ असोज १५ मंगलबार १४:५५:oo

कञ्चनपुर बेलडाँडीका निजी स्रोतका शिक्षक आन्दोलित भएका छन्। स्थानीय सरकारले विभेद गरेको भन्दै बेलडाँडी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक धर्नामा बसेका हुन्।

निजी स्रोत शिक्षक संघर्ष समितिले तीन सूत्रीय माग अघि सारेर आन्दोलन सुरु गरेको छ। सामुदायिक विद्यालयका लागि अनुदान कार्यविधि, २०८० तत्काल संशोधन गरिनुपर्ने, निजी स्रोतका शिक्षकमाथिको विभेद पूर्ण हटाउनुपर्ने, निजी स्रोतका शिक्षकको तहगत तलब कायम गर्नुपर्ने माग अघि सारेर धर्नामा बसेका हुन्।

निजी स्रोतका शिक्षक कर्मचारीहरूले तीन दिनदेखि स्थानीय सरकारविरुद्ध पालिका कार्यालयमा धर्ना दिइरहेका छन्। निजी स्रोतका शिक्षक अगुवा जानकी महराले पालिकाले शिक्षक, कर्मचारीको तलब, भत्ता दिने विषयमा विभेद गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिएको बताइन्। ‘समान कामका लागि पालिकाबाट हामीमाथि विभेद भएको छ,’ उनले भनिन्, ‘बाध्य भएर आफ्नो अधिकारका लागि आन्दोलित भएका छौँ।’

बेलडाँडी गाउँपालिकास्तरीय निजी स्रोतका शिक्षक संघर्ष समितिकी सचिव महेश्वरी बमले स्थानीय सरकारले आफूहरूमाथि विभेद र अन्याय गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिएको बताइन्। ‘सरकारी संस्थामै कार्यरत हुँदा पालिकाबाटै यस्तो विभेद अन्याय खेप्नुपर्ने भयो,’ उनले भने, ‘अन्यायविरुद्धमा हामी बाध्य भएर आन्दोलनमा आएका छौँ।’

माग पूरा नहुँदासम्म धर्ना निरन्तर जारी राख्ने उनीहरूको चेतावनी छ। बेलडाँडी गाउँपालिकाले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा दसैँभत्तासहित निजी स्रोतका शिक्षक कर्मचारीबाहेक अन्य स्थायी, राहत, करार, अनुदान, बाल विकास एवं विद्यालय कर्मचारीको तलब सीधै बैंक खातामा भुक्तानी गरेको थियो। तर, निजी स्रोतका शिक्षक, कर्मचारीको भुक्तानी नगरिएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

बेलडाँडी गाउँपालिकाले निजी स्रोतका शिक्षक कर्मचारीहरूको मागको हकमा छलफल गरेर अघि बढ्ने जनाएको छ। बेलडाँडीका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐरले यसअघि निर्माण भएको कार्यविधिअनुरूप आधारभूत साबिक प्रावि १४ हजार, निमावि १६ हजार, मावि १८ हजारका दरले तलब निर्धारण गरिएको बताए।

‘उक्त कार्यविधिप्रति उहाँहरूको असन्तुष्टि छ,’ उनले भने, ‘कार्यविधि संशोधनको मागबारे सरोकारवालाबिच छलफल गरेर अघि बढ्छौँ ।’ निजी स्रोतका शिक्षकहरूसँग लिखित रूपमै माग पेस गर्नसमेत उनले आग्रह गरेका छन्।