१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १५ मंगलबार
  • Tuesday, 01 October, 2024
रामकृष्ण थापा सिन्धुपाल्चाेक
२o८१ असोज १५ मंगलबार ११:१२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चिनियाँ नाकामै अड्किए दसैँलाई फलफूल र लत्ताकपडा बोकेका २५० कन्टेनर

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चाेक
नयाँ पत्रिका
२o८१ असोज १५ मंगलबार ११:१२:oo

बाढीले उत्तरका दुई प्रमुख नाका केरुङ र तातोपानीसँगको सम्पर्क विच्छेद, चीनतर्फ पनि सडक–पुल र सुरुङमा क्षति पुगेकाले तत्कालै नाका नियमित गर्न मुस्किल

- खासामा १०० र केरुङमा १५० चिनियाँ कन्टेनर रोकिए
- केरुङ सहरमा स्याउ, अंगुर, अनार, आँप, किवी र लसुन बोकेका थप ५०० नेपाली कन्टेनर अलपत्र

अविरल वर्षापछि आएको बाढीपहिरोले छिमेकी चीनलाई जोड्ने उत्तरी नाका तातोपानी र रसुवागढी ठप्प भएको छ । दुवै नाकाको सडक र पुल भत्किएर सम्पर्क विच्छेद भएपछि दसैँका लागि फलफूल र लत्ताकपडा बोकेर आएका दुई सय ५० कन्टेनर (चिनियाँ टेलर) खासा र केरुङमा रोकिएका छन् । चिनियाँ एक टेलरमा रहेका सामान नेपालका तीन ट्रकबराबर हुन्छ । यसर्थ, करिब सात सय ५० ट्रक जति सामान सीमापारि रोकिएको नाकामा क्रियाशील नमस्ते ट्रान्सपोर्ट कम्पनीका प्रमुख लोप्साङ शेर्पाले बताए । 

खासामा एक सय  र केरुङमा एक सय ५० चिनियाँ कन्टेनर रोकिएको उनले जानकारी दिए । त्यस्तै, तातोपानी यार्डमा थप ३० चिनियाँ कन्टेनर रोकिएका छन् । ‘केरुङ सहरमा पनि वर्षाले ठुलो क्षति भएको छ र नेपालतर्फ आउने बाटोमा दर्जनौँ पहिरो गएको चिनियाँ साथीहरूले जानकारी दिएका छन्,’ शेर्पाले भने, ‘अब तातोपानी र रसुवागढीमध्ये जुन बाटो पहिले खुल्छ, त्यतैबाट दसैँका सामग्री काठमाडौं ल्याउने तयारीमा छौँ ।’

भोटेकोशी नदीमा बगेको पुलको सट्टा ह्युमपाइप वा बेलिब्रिज हाल्नसके छिट्टै खासामा रोकिएको सामान ल्याउन सकिने उनको भनाइ छ । खासा–तातोपानी जोड्ने दुईवटा पुल भोटेकोशीले शनिबार राति बगाएको थियो । त्यसयता तातोपानी भन्सार र खासाको सम्पर्क टुटेको छ ।

त्यसैगरी, रसुवागढीदेखि केरुङसम्म चिनियाँ भूभागमा ठुलो पहिरो गएकाले सडक पूर्ण रूपमा बन्द छ । केरुङ र खासाबाट लामो समयदेखि फलफूल आयात गर्दै आएका व्यापारी शारदाप्रसाद पराजुलीले दिएको जानकारीअनुसार बाढीले चीनतर्फको बाटो पनि भत्काएपछि केरुङ सहरमा मात्रै फलफूल बोकेका करिब पाँच सय नेपाली कन्टेनर रोकिएका छन् ।

ती कन्टेनरमा स्याउ, अंगुर, अनार, आँप, किवी र लसुन रहेका छन्  । ‘चिनियाँ क्षेत्रमा पनि ठूला पहिरा गएकाले सडक खुलाउन एक साताजस्तो लाग्ने अवस्था छ,’ उनले भने । यता, तिब्बततर्फ न्यालम र खासाको बिचमा पहिरो गएको र सुरुङमार्ग पनि भत्किएको जानकारी पाएको पराजुलीले बताए । 

कोदारी राजमार्गको लिपिङ पुल र लार्चास्थित बेलिब्रिज भोटेकोशी नदीले बगाएको छ । चिनियाँ सामान आउन नपाएकाले तातोपानी नाका पूर्ण रूपमा बन्द छ । जसकारण दसैँका लागि ल्याइएका सामग्री अलपत्र परेको तातोपानी भन्सारले जनाएको छ । खासामा रोकिएका कन्टेनर दसैँअघि नै राजधानी पुर्‍याउने उपायबारे छलफल थालिएको संघीय सांसद माधव सापकोटाले जानकारी दिए । ‘ह्युमपाइप राखेर भए पनि दसैँका सामान ल्याइनेछ,’ उनले भने । खासामा रोकिएका कन्टेनर केरुङबाट पठाउन पनि सम्भव नभएकाले तातोपानीको सडक नै छिटो बनाउनुको विकल्प नभएको उनले बताए ।

तातोपानीका प्रमुख भन्सार अधिकृत कमलकुमार भट्टराईले पानीको सतह घटेपछि लार्चामा ह्युमपाइप राखेर खासामा रोकिएका कन्टेनर भन्सार यार्डमा ल्याइने योजना बनाएको बताए  । ‘हामी नाका छिटो सुचारु गर्न लागिरहेका छौँ । केही दिनमै भोटेकोशी नदी र लिपिङ खोलामा ह्युमपाइप राखेर सडक सम्पर्क स्थापित गरिनेछ,’ उनले भने । 

कन्टेनर काठमाडौं पुर्‍याउन नाका सुचारु गरेर मात्रै पुग्दैन । बाह्रबिसे नगरपालिकाको सिरिसे, खागदल र जम्बुआसपास पहिरोले पुरेको सडकसमेत सुचारु गर्नुपर्ने हुन्छ । भोटेकोशी गाउँपालिका क्षेत्रमा पनि ठाउँ–ठाउँमा पहिरो गएकोले लार्चासम्मको सडक छिटो सञ्चालन गर्नुपर्ने बाध्यता छ । लार्चा नदीमा ह्युमपाइप राख्न सुरु गरिएको छ ।