१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १० बिहीबार
  • Friday, 27 September, 2024
फ्रन्ट पेज प्रिन्ट संस्करण

एमाले प्रदेश सांसदका छोरा पनि सहकारी ठगीमा : चुनावमा भोट माग्दा ‘जितेपछि मिलाउँछु’ भनेका बुबा पनि पन्छिए

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १० बिहीबार o६:२५:oo

झापाको शिवसताक्षी नगरपालिका– ३ का दिलकुमार तामाङले पाँच वर्ष कतारमा पसिना बगाएको पैसा सहकारीमा बचत गरे । गाउँकै उन्नति बचत तथा ऋण सहकारीमा चार लाख बचत गरेका तामाङ अहिले विखलबन्दमा परेका छन् । पाराबारी बजारमा ०६८ मा सञ्चालनमा आएको सहकारी दुई वर्षअघि बन्द भएपछि तामाङको बचत पनि डुबेको छ ।

उन्नति सहकारीमा राखेको बचत डुबेपछि बिचल्लीमा परेका तामाङ एक्ला होइनन्, झन्डै सात सय बचतकर्ताको एक करोड ३९ लाख फसेको छ । यसरी गाउँका नागरिकलाई बचत गर्न लगाएर त्यही पैसा हिनामिना गर्ने व्यक्ति हुन् एमाले कोशी प्रदेश सांसद राधाकृष्ण खनालका छोरा सुमन खनाल । 

सहकारीका अध्यक्ष सुमन र पदाधिकारीले एक करोड ३९ लाख ७७० रुपैयाँ अपचलन गरेको शिवसताक्षी नगरपालिकाले गठन गरेको छानबिन समितिको प्रतिवेदनले औँल्याएको छ । त्यसबाहेक २३ लाख २२ हजार ५९९ रुपैयाँ भने सहकारीको खातामा अहिले पनि बचत देखिन्छ ।

शिवसताक्षी नगरपालिकाका कार्यपालिका सदस्य रामनरेश शर्माको संयोजकत्वमा रहेको छानबिन समितिले प्रतिवेदनमा भनेको छ, ‘बचतकर्ताको खाताबाट निकालिएको रकम संस्थाको सम्पूर्ण कारोबारहरू सञ्चालन गर्ने संस्थाका अध्यक्षबाट पाउनुपर्ने देखिन्छ ।’

सहकारीको हिसाबकिताब अध्यक्ष खनालले नै हिनामिना गरेको पाइएको छानबिन समितिका सदस्यसमेत रहेका शिवसताक्षी नगरपालिकाका सहकारी शाखा प्रमुख बद्री दाहालले जानकारी दिए । ‘उहाँले कार्यकारी अध्यक्षको हैसियतमा काम गरेको पाइयो । संस्थाको सफ्टवेयर नै उहाँले चलाउनुहुने रहेछ,’ उनले भने, ‘उजुरीपछि हामीले अध्यक्षलाई छलफलमा बोलाउने कोसिस गर्‍यौँ । तर, सफल भएन । उहाँ आउनुभएन ।’ 

सुमनले बचतकर्ताको रकम ०७९ को मंसिरमा भएको प्रदेश सभा निर्वाचनअघि नै अपचलन गरेका हुन् । त्यसवेला उनका बुबा राधाकृष्ण झापा क्षेत्र नम्बर ४ (१) बाट प्रदेश सभा सदस्यको उम्मेदवार थिए । ‘उहाँका बुबा राधाकृष्णले चुनावमा भोट दिनु, जितेपछि व्यवहार म मिलाउँछु भनेपछि हामीले भोट पनि दियौँ,’ दिलबहादुरले भने, ‘कतै व्यवहार मिलिहाल्छ कि भनेर हामीले भोट पनि दियौँ । तर, अहिले राधाकृष्ण खनाल छोराको व्यवहार जान्दिनँ भन्छन् । सुमनले पैसा माग्दा के गर्न सक्छस् गर भनेर धम्क्याउँछन् ।’ 

शिवसताक्षी– ३ का अध्यक्ष भास्कर न्यौपानेका अनुसार सांसदकै छोराले वडाका बचतकर्ताको बिचल्ली बनाएका हुन् । ‘१५ सयदेखि पाँच लाखसम्म बचत गर्नेछन् । सात सय हाराहारी बचतकर्ताको रकम अपचलन भएको पाइएको छ । मेरो परिवारका सदस्यले पनि बचत गरेका थिए,’ उनले भने, ‘राधाकृष्ण सरले चुनावअघि जितेँ भने मिलाइदिन्छु भनेर भन्नुभएको रहेछ । चुनावपछि भएको छलफलमा उहाँले त्यो वेला त्यस्तै अवस्था थियो । अहिले सक्दिनँ भन्नुभयो ।’

गाउँका नागरिकलाई सहकारीमा बचत गर्ने र चाहिएको वेला ऋण दिने आश्वासन दिएका सुमनले गाउँका जनताले खाई–नखाई गरेको बचत रकम अपचलन गरेको पाइएको छ । सहकारी शिवसताक्षी नगरपालिकामा दर्ता भएर सञ्चालनमा छ । 

छानबिन प्रतिवेदनसहित थप अनुसन्धान गरी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा पठाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले सहकारीको छानबिन प्रतिवेदन प्राप्त भएको र प्रतिवेदनमा टेकेर थप अनुसन्धान हुने बताए । प्रहरीले अध्यक्ष खनालसहितका सञ्चालकको तीनपुस्ते विवरण मागेर वडामा पत्र पठाएको छ । 

खनालबाट ठगिएका बचतकर्ता मोहनप्रसाद काफ्लेका अनुसार गत २४ फागुन ०८० मा खनालले दुई महिनाभित्र बचत फिर्ता गर्ने कागज गरेका थिए । तर, सात महिना बितिसक्दा पनि उनी सम्पर्कमा नआएको बचतकर्ता काफ्लेले बताए । ‘उहाँका बुबा राधाकृष्ण खनालले जुनावका वेला हात जोडेर चुनावपछि मिलाइदिन्छु भन्नुभएको थियो । तर, उहाँले पनि अहिले जिम्मेवारी लिन नमानेपछि हामी प्रहरीकहाँ पुग्यौँ,’ उनले भने, ‘सात महिनाअघि दुई महिनाको भाका राखेर कागज गरेका थिए । अहिले सम्पर्कमा पनि छैनन् ।’ दुई वर्षअघि नै सहकारीको कार्यालयसमेत बन्द गरेपछि भने बचतकर्ता समस्यामा परेको उनले बताए । 

सहकारीका अध्यक्ष खनालले भने राजनीतिक पूर्वाग्रह राखेर प्रतिवेदन बनाएको दाबी गरे । उनले बचतकर्ताको करिब ८३–८४ लाख मात्र बचत फिर्ता गर्न बाँकी रहेको बताए । उनले बचतकर्ताको रकम फिर्ता गर्ने प्रयत्न भइरहेको जानकारी दिए । ‘बचत फिर्ता गर्ने प्रयत्न भइरहेको छ । अवस्था सहज भएपछि गर्छौँ,’ उनले भने । कार्यालय भने घरबेटीले व्यवसाय गर्न घर खाली गर्नु भनेपछि बन्द गरिएको उनले बताए । 

सांसद खनाल भन्छन्– पैसा तिर्छु भनेको होइन, सहजीकरण गर्छु भनेको हो 
सांसद राधाकृष्ण खनालले सहकारीमा आफ्ना छोरा सुमन खनालले बदमासी गरेको स्वीकार गरे । उनको बदमासी प्रदेश सभा निर्वाचनअघि नै बाहिर आएको पनि बताए । तर, निर्वाचनका वेला भोट माग्दा चुनावपछि ‘पैसा तिर्छु’ भनेर नभनेको दाबी गरे । बरु चुनावपछि सहजीकरण गर्ने प्रतिबद्धता जनाएको उनको भनाइ छ । 

‘मैले चुनावअघि तिर्छु भनेको उहाँहरूको आरोप मात्र हो । मैले सहजीकरण गरिदिन्छु भनेको हो,’ प्रदेश सभा सदस्य खनालले भने, ‘पैसा तिर्न अहिले मेरो अवस्था छैन । चुनावको ऋण पनि तिरिसकेको छैन ।’ 

उनले आफूले कानुन व्यवसायी र सहकारीकर्मीलाई बुझ्दा पनि त्यसको दायित्व आफूले लिनुनपर्ने बताए । यद्यपि, छोराको व्यवहार भएकाले व्यावहारिक रूपमा शिवसताक्षी– २ मा रहेको दुई कट्ठा जग्गा दिन खोजेको बताए । ‘करिब ६०–७० लाखमा जाने जग्गा दिने प्रतिबद्धता जनाएको थिएँ । श्रीमतीको नाममा रहेको त्यो जग्गा पनि छोराले १५ लाखमा सहकारीमा राखेको रहेछ,’ उनले भने, ‘धितो उकासेर लानु भनेको हो । बर्खा लाग्यो । हिउँदमा आउनुहुन्छ होला भन्ने सम्झिएको थिएँ । उहाँहरू मिडियामा जानुभएछ ।’