१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १० बिहीबार
  • Friday, 27 September, 2024
गणेश लम्साल विराटनगर
२o८१ असोज १० बिहीबार o६:३७:oo
Read Time : > 10 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

राजनीतिक शक्तिको आडमा लेखा समिति सभापति पोखरेलकी पत्नीलाई उन्मुक्ति दिइँदै

Read Time : > 10 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ असोज १० बिहीबार o६:३७:oo

मोरङको उमागौरी कृषि सहकारीको १४ करोड ५६ लाख हिनामिना 

मोरङको उमागौरी कृषि सहकारीको १४ करोड ५६ लाख हिनामिना प्रकरणमा एमाले सांसद एवं सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई राजनीतिक दबाबमा उन्मुक्ति दिने गरी फाइल अगाडि बढाइएको छ । कोशी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले उनको नाम काटेर प्रहरीलाई अनुसन्धानका लागि पत्राचार गरेको छ । जब कि अञ्जला ६ वर्ष सहकारीको सञ्चालक सदस्य थिइन् । त्यो अवधिसहितको १० वर्षका कागजपत्र नै सहकारीबाट गायब पारिएका छन् । 

धनपालथाल गाउँपालिका– ४ मा रहेको सहकारीका पीडितले अध्यक्ष, पदाधिकारी र सञ्चालक सदस्यविरुद्ध प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी दिएका थिए, जसमा पोखरेलकी पत्नी अञ्जलाको नाम पनि किटान गरिएको थियो । तर, राजनीतिक पहुँचका आधारमा रजिस्ट्रारको कार्यालयले उनको नाम हटाएको छ । करिब डेढ वर्षअघि नै पीडितहरूले दिएको उजुरीमा रजिस्ट्रार कार्यालयले बेवास्ता गर्दै आएको थियो । मुद्दा र्चिदै गएपछि गत २४ भदौमा मात्र अञ्जलाको नाम काटेर अनुसन्धान प्रक्रिया अघि बढाउन प्रहरीलाई पत्र पठाइएको छ ।

मनोज कार्की, सूचना अधिकारी, प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय
अञ्जला कोइराला अहिले सञ्चालक समितिमा हुनुहुन्न । हामीले वर्तमान समितिको नाम मात्र पठाएका हौँ । प्रहरीले अनुसन्धानका क्रममा संलग्नता देखिए उहाँलाई पनि तान्छ । प्रहरीले आवश्यक परे लेखापरीक्षण माग्छ । त्यो वेला थप संलग्नमाथि अनुसन्धान हुनेछ ।

रजिस्ट्रार कार्यालय कोशीका सूचना अधिकारी मनोज कार्कीका अनुसार प्रहरीलाई लेखेको पत्रमा सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष लक्ष्मण शाह, सचिव आलम अन्सारी मियाँ, कोषाध्यक्ष शम्भुप्रसाद सिंह, सदस्यहरू आमोद मण्डल, रोशन राजवंशी र जितमान ठाकुर तथा लेखा समिति संयोजक विजयकुमार यादव, सदस्यहरू सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासमाथि मात्रै थप अनुसन्धानका लागि प्रहरीमा पत्र पठाइएको छ । लेखा समिति सभापति पोखरेलकै अग्रसरतामा ०६८ मा स्थापना गरिएको यो सहकारीका अध्यक्ष रौनियार एमालेनिकट मानिन्छन् ।

‘अञ्जला कोइराला अहिले सञ्चालक समितिमा हुनुहुन्न । हामीले वर्तमान समितिको नाम मात्र पठाएका हौँ,’ कार्कीले भने, ‘प्रहरीले अनुसन्धानका क्रममा संलग्नता देखिए उहाँलाई पनि तान्न सक्छ । प्रहरीले आवश्यक परे लेखापरीक्षक माग्छ । त्यो वेला थप संलग्नमाथि अनुसन्धान हुनेछ ।’ 

१८ करोड ५१ लाख कुल पुँजी रहेकोे सहकारीमा ऋणी र सञ्चालक सदस्यको जग्गाको कागजपत्र धितो राखेर विभिन्न व्यावसायिक बैंकबाट ११ करोड ५६ लाख रुपैयाँ ऋण निकालिएको छ । सहकारीले बचतकर्ताको दुई करोड तीन लाख ५४ हजार पनि फिर्ता गर्न बाँकी छ । सहकारीमा करिब पाँच हजार सेयर सदस्य छन् । कतिपय ऋणीलाई बैंकबाट ऋण लिन लागेको थाहै नदिई झुक्याएर हस्ताक्षर र ल्याप्चे लगाइएको छ । बचत र ऋण हिनामिनाबारे पीडितहरूले प्रश्न उठाउन थालेपछि करिब डेढ वर्षदेखि सहकारीमा ताला लगाइएको छ ।

तर, सहकारीमा रकम हिनामिना हुँदाको बखत अञ्जला सञ्चालक सदस्य थिइन् । उनी ०७२ देखि ०७८ सम्म सञ्चालक सदस्य थिइन् । ०६८ देखि ०७८ सम्मका सहकारीका कागजपत्र सबै गायब पारिएका छन्, जसका कारण अहिले अनुसन्धानमै पनि समस्या भएको छ । पोखरेलपत्नी अञ्जलाले ०७५ मा जारी भएको सहकारी नियमावलीले सञ्चालक बस्न निषेध गरेपछि आफूले राजीनामा दिएको दाबी गरिन् । तर, उनी ०७८ सम्म सञ्चालक कायम रहेको कागजातबाट देखिन्छ । उनी विराटनगरस्थित महेन्द्र माध्यमिक विद्यालयमा अध्यापनरत छिन् ।

सहकारीले विभिन्न बैंकबाट लिएको ऋण समयमा नतिरेकाले बैंकले अध्यक्ष रौनियारसहित तत्कालीन सञ्चालक समिति सदस्य सबैलाई कालोसूचीमा राखिसकेको छ । लेखा समिति सभापति पोखरेलपत्नी अञ्जला पनि कालोसूचीमा छिन् । 

मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बस्नेतले उमागौरी कृषि सहकारीमाथि प्रदेश सहकारी रजिस्ट्रार कार्यालय कोशीले पठाएको पत्र इलाका प्रहरी कार्यालय रंगेलीमा रहेको बताए । उनले अनुसन्धान भइरहेकाले यसबारे थप बोल्न नमिल्ने बताए । 

‘अध्यक्ष र विभिन्न समयका पदाधिकारीले बैंकबाट निकालेको रकम अपचलन नगरेको भए सहकारीमा समस्या आउने नै थिएन । कमाउनेहरूले अनेक तिकडम गरेर कमाए, तर हामी सोझा–साझाहरूचाहिँ बित्थामा बदनाम भयौँ,’ सञ्चालक समितिका एक सदस्यले भने । 

योजनाबद्ध रूपमा बचतकर्ताका नाममा बैंकबाट १० लाखका दरले ऋण झिकियो, तर आधा मात्रै दिएर ठगी गरियो 

विराटनगरस्थित उमागौरी कृषि सहकारीका बचतकर्ताको पैसा त डुबेकै छ, अचम्म के छ भने महिला ऋणीहरू पनि उठ्नै नसक्ने गरी ठगिएका छन् । ऋणीहरू धेरैजसोले किस्ता र ब्याज खुरुखुरु सहकारीमा बुझाए पनि अहिले ऋण तिर्न भन्दै बैंकले ताकेता गरिरहेको छ । 

सहकारी सञ्चालकले महिलालाई उद्यमको आकर्षक योजना दिएर ऋण दिए । तर, अहिले सहकारी डुबेको छ, बैंकको तारन्तारको फोनले ऋणी महिला र उनका परिवार तनावमा छन् । सहकारीका नाममा अनौठो ठगी धन्दा थाहा पाउन पहिला ऋणीका कथा बुझ्नुपर्ने हुन्छ । 

मोरङको धनपालथान गाउँपालिका– ४ कर्सिया बजारमा रविन ज्वेलर्स चलाउँदै आएका राजेश साहले उमागौरी कृषि सहकारीमा दैनिक बचत गर्थे । तर, बचत संकलन गर्न आउने कर्मचारीले १० लाखसम्म ऋण पाइने सुनाए । त्यसपछि उनी सहकारीका अध्यक्ष शम्भु रौनियारलाई भेट्न उनकै कार्यालय पुगे । 

रौनियारले एक लाखको सेयर सदस्य बनेमा विनाधितो महिलालाई उद्यम गर्न १० लाख दिइने सुनाएपछि राजेशले पत्नी सुनिता साहको नाममा ०७७ चैतमा सेयर किने । ‘तीन प्रतिशत ब्याजमै ऋण पाइने भनेर भन्नुभएको थियो । अझ अनुदान आएपछि किस्ता तिरेको रकम पनि फिर्ता पाइन्छ भनेपछि सेयर सदस्य बन्यौँ,’ राजेशले नयाँ पत्रिकासँग भने, ‘सहकारीमा गएर २० वटा जति कागजमा सही छाप गरिदियौँ ।’

तर, साह दम्पतीले त्यसको पाँच महिनापछि ऋणबापत मेघा बैंकको पाँच लाख ४२ हजार रुपैयाँको चेक पाए । ‘अरू पैसा पछि दिँदै जान्छौं भनेका थिए । ऋण लिएपछि हामीले दैनिक एक हजार गरेर मासिक २६ हजारको १२ किस्ता (तीन लाख १२ हजार)सहकारीलाई बुझायौँ,’ साहले भने, ‘दुई वर्षअघि सहकारी अचानक बन्द भयो ।’

सहकारी नै बन्द भएपछि नबिल बैंक विराटनगरले साउन ०७९ देखि तारन्तार फोन गरेर ‘तपाईं १० लाखको ऋणी हो, चाँडै किस्ता भुक्तानी गरिसक्नुहोला, नत्र कालोसूचीमा पर्नुहुन्छ भन्न थाल्यो । ‘पछि तपाईंलाई कालोसूचीमा राख्यौँ, पत्रिकामै सूचना निस्केको छ भनेका थिए, अचेल फोन गर्न पनि छाडेका छन्,’ उनले भने ।

रबिन ज्वेलर्सको नाममा नबिलले ६ पटक पत्र पठाइसकेको छ । ७ असार ०८० मा पठाइएको पत्रमा भनिएको छ, ‘भाका  रकम नियमित नभएकाले ऋणकर्जासम्बन्धी सर्त बन्देजहरू उल्लंघन भएको हुँदा तपाईंले तिर्न, बुझाउन बाँकी तल उल्लेखित सावाँ, ब्याज, हर्जना ब्याज र विलम्ब शुल्क यस पत्रका मितिले १५ दिनभित्र बैंकमा सम्पर्क राखी अविलम्ब चुक्ता भुक्तान गर्नुहुन अनुरोध गर्दछौँ ।’

साहले बताएअनुसार उनीहरूले नबिलबाट नभई सहकारीबाट ऋण लिएका हुन् । पाँच लाख ४२ हजार(ब्याजबाहेक)मध्ये  तीन लाख १२ हजार भुक्तान भइसकेको छ । तर, नबिलले भने  दुई लाख ९४ हजार ८७१.६७ रुपैयाँ तिर्नुपर्ने भन्दै पत्र काटेको थियो ।

सेराज अन्सारी पनि कर्सिया बजारमा मासु पसल चलाउँछन् । उमागौरीका अध्यक्ष रौनियार आफैँ मासु पसल पुगेर सहकारीको सेयर सदस्य बनेमा चार प्रतिशत ब्याजदरमा १० लाख ऋण पाइने आश्वासन दिए ।  

अन्सारीले पनि पत्नी खुस्बुको नाममा २० हजारको सेयर किने । कागज सही छाप गराएर सहकारीलाई जिम्मा लगाए । सहकारीले चार महिनापछि उनकी पत्नीको नाममा दुई लाखको ऋण दियो ।

सेराजले कुखुराको मासु पसल गरेर कमाएको पैसा मासिक १० हजारका दरले किस्ता तिर्दै गए । तर, दुई लाख ऋणबापतको १६ किस्ता (एक लाख ६० हजार) तिरिसकेपछि दुई वर्षअघि सहकारी हिनामिनाका कारण बन्द भयो ।

सहकारी बन्द भएपछि ६ महिनाअघि मात्र विराटनगरस्थित नबिल बैंकबाट फोन आयो– तपाईंले १० लाख ऋण लिनुभएको छ, समयमै भुक्तानी गर्नुहोला ।’ 

बैंकले कालोसूचीको चेतावनी दिएर ताकेता गरिरह्यो । त्यसपछि सेराज र उनकी पत्नी खुस्बु छाँगाबाट खसे । ‘सहकारी भागेपछि बैंकबाट फोन आयो, १० लाख ऋण छ भनेर । मैले होइन हजुर दुई लाख मात्र लिएको छु, त्यो पनि सहकारीबाट भनेँ, ‘खुस्बुले भनिन्, ‘त्यसपछि अध्यक्ष रौनियारलाई फोन गर्‍यौँ । उहाँले चिन्ता नलिनु, म मिलाउँछु भनेपछि बैंकले फोन गर्न छाड्यो  ।’

उनले आफूहरूका नाममा सहकारीले अर्कै मान्छे पठाएर पैसा लिएको बताइन् । ‘हाम्रो नाममा सहकारीले अर्कै मान्छे पठाएर १० लाख रुपैयाँ नबिल बैंकबाट निकालिसकेको रहेछ । हामीले ठगिएको थाहा पाएपछि प्रहरीमा उजुरी गर्‍यौँ,’ साहले भने, ‘प्रहरीले अध्यक्ष शम्भु रौनियारलाई पक्राउ गर्‍यो । तर, उनका दाजु विनोद रौनियारले नबिल बैंकको ऋणको जिम्मा सबै सहकारीले नै लिने र हामीलाई हामीले जम्मा गरेको बचतको पैसा पनि फिर्ता दिने कबुल गरेर ६ साउन २०८१ मा ३ लाखको व्यक्तिगत चेक ६ महिनापछिको मिति राखेर दिएका छन् ।’    

उद्यम गर्न भनेर लिएको दुई लाख ऋण चुक्ता गर्न बुझाएको एक लाख ६० हजार र सेयरबापतको २० हजार पनि गुमेको उनले सुनाइन् । 

कर्सिया बजारमा चियानास्ता पसल चलाएर जीविका चलाउँदै आएकी पूर्णीमादेवी मण्डलको एक कट्ठा जग्गा उमागौरी सहकारीका कारण रोक्कामा परेको छ । बेच्न पाउँदिनन् । 

चार वर्षअघि महिलालाई व्यवसाय गर्न सस्तोमा १० लाख रुपैयाँ ऋण पाइन्छ भनेपछि उनले उमागौरी सहकारीको एक लाखको सेयर किनेकी थिइन् । ‘ब्याज कम लाग्छ । अनुदान पनि आउँछ, सेयर पनि बढेर तेब्बर चौब्बर हुन्छ भनेर सहकारीका अध्यक्ष शम्भु रौनियारले भनेका थिए,’ मण्डलले भनिन्, ‘तर, मलाई सहकारीले एक लाख रुपैयाँ सेयरको र ३० हजार सेवा शुल्क काटेर बाँकी पैसा (आठ लाख ७० हजार) पाइन् ।’ तर, उनले ऋणको २९ हजारका दरले २२ किस्ता (६ लाख ३८ हजार) र २५ हजारका दरले १० (दुई लाख ५० हजार) तिरिन् । सहकारी बन्द भयो । 

‘नबिल बैँकले सात लाख ऋण ६ अबदेखि सहकारीलाई होइन, हामीलाई किस्ता तिर्नुहोला नत्र कालोसूचीमा पर्नुहुन्छ भन्यो,’ पूर्णिमाले भनिन्, ‘मैले बैंकबाट होइन, सहकारीबाट ऋण लिएकी थिएँ । उहाँहरूले हिसाबकिताब मिलाउनुभएको हो भने पनि मैले तिरेको पैसा उता बुझाएनछन् । ५० लाखको जग्गा रोक्का छ ।’

उनका श्रीमान् वैदेशिक रोजगारीमा छन् । ६ महिनापछिको मिति राखेर तीन लाखको व्यक्तिगत चेक उपलब्ध भएको उनले सुनाइन् । ‘केही महिनाअघिसम्म अध्यक्षले म चाँडै बोलाउँछु र सबै मिलाउँछु भन्थे । तर, आजकल त फोन पनि उठाउँदैनन् । लुकेर विराटनगरतिर बसेका छन् अरे,’ उनले भनिन् । 

एक लाखमा उमागौरीका सेयर सदस्य बन्न पुगेका नारायण खनालले छोरी सुनिता तिम्सिनाका नाममा २२ पुस २०७७ मा विनोधितो आठ लाख ७८ हजार ऋण लिएका थिए ।  कर्सिया बजारमा कपडा पसल चलाउँदै आएका उनले २६ हजारका दरले २२ किस्ता (पाँच लाख ७२ हजार) सहकारीलाई तिरे । तर, एक वर्षअघि होला, विराटनगरस्थित नबिल बैंकबाट  फोन आयो ‘तपाईंको किस्ता आएकै छैन, चाँडो बुझाउनुहोला । नत्र कालोसूचीमा पर्नुहुन्छ’ भनेर । मैले जायजेथा जाला भनेर बैंकलाई किस्ताअनुसार ऋण बुझाउन थालेँ । मैले किस्ता तिरेको पैसा सहकारीबाट फिर्ता आएको छैन, अहिले बैंकलाई किस्ता बुझाउन थालेको छु,’ उनले भने । 

यसरी सहकारीको पासोमा पर्थे महिला
उमागौरी कृषि सहकारीका अध्यक्षसहितका सञ्चालकहरू स्थानीयलाई विनाधितो १० लाखसम्म महिला उद्यम ऋण दिने भन्दै सेयर सदस्य बनाउँथे । र, सदस्यका नाममा बैंकबाट १० लाखका दरले ऋण लिएर आधा मात्र उपलब्ध गराएर बाँकी अन्यत्रै लगानी/खर्च गर्ने गरेको पाइएको छ । 

कसैले आफ्नो व्यवसायबाट गाँस काटेर बचत गरेको रकम पाएका छैनन् भने केहीले किस्ताबापत तिरेको रकम पनि गुमाउँदै लिँदै नलिएको १० लाखको बैंकको ऋणी बन्नुपरेको छ ।  यसमा सहकारीका अध्यक्ष शम्भु रौनियारदेखि अन्य पदाधिकारी र सञ्चालक सदस्यको संलग्नता देखिन्छ । 

कोषाध्यक्ष शम्भुप्रसाद सिंहका अनुसार ०७७ अन्तिमदेखि ०७९ सम्म महिला उद्यम शीर्षकमा ८५ जनाको नाममा १० लाखका दरले कर्जा गएको छ । यसमा सहकारी आफैँ प्रतिनिधि बनेर ऋण निकालेर दिइएको देखिन्छ । पाँच सय महिलालाई ऋण दिने योजना भए पनि ८५ जनालाई ऋण दिएपछि योजना अगाडि बढ्न सकेन ।  

दुई वर्षअघि सहकारी बन्द भएपछि बचतकर्ता र ऋणीले कार्यालय घेराउ गरे । प्रहरी प्रशासन गुहारे । अध्यक्ष शम्भुप्रसाद रौनियार, सचिव आलम अन्सारी चेक अनादर कसुरमा पक्राउ परे । सबै बचतकर्ता र ऋणीलाई रकम फिर्ता गर्दै जाने आश्वासनमा सहमति गरेर उनीहरू ६ महिनाअघि छुटेका थिए ।  

‘विपन्न महिलालाई उद्यमशील बनाउने हाम्रो उद्देश्य हो, नबिल बैंकसँग सम्झौता नै गरेर हामीले सस्तोमा ऋण दिएका हौँ,’ कोषाध्यक्ष सिंहले भने, ‘नत्र चार प्रतिशत ब्याजदरमा, त्यो पनि विनाधितो कसैले कर्जा दिन्छ ? ऋणीले नतिरेमा सहकारीले तिर्छ भनेर करारनामा गरेका छौँ । तर, कोभिडपछि सहकारीमा समस्या आएपछि योजना अधुरै रह्यो । हाम्रो योजना त उद्यमी बनाउन ७५ लाखसम्म ऋण प्रवाह गर्ने भन्ने थियो ।’

तर, १० लाख कर्जा भनिए पनि धेरैजसोले त आधा मात्र पाएको बताउनुभएको छ नि भन्ने नयाँ पत्रिकाको प्रश्नमा सिंहले भने, ‘८५ जनाको नाममा १० लाखका दरले कर्जा निकाले पनि आर्थिक अवस्था निकै दयनीय भएका, तिर्न नसक्नेको हकको कर्जा अन्यत्र (अरूलाई) पनि दिएका हौँ ।’ 

कर्जा प्रवाह भएकामध्ये धेरैजसोलाई विनाधितो उपलब्ध गराइएको, तर १६ जनाको भने जग्गा धितोमा रहेको उनले सुनाए । ‘सहकारीले जग्गा ठाडो रोक्का राखेको हो । ऋण क्लियर गरेकामध्ये ५–७ जनाको जग्गा फुकुवा भइसकेको छ । कोभिड आएपछि धेरै ऋणीले किस्ता तिर्न छाड्नुभयो । अहिले जति तिर्न बाँकी छ, बैंकमा तिर्न भनेका छौँ,’ उनले भने, ‘७५ प्रतिशत बैंकमा गएका छैनन् । सेयरको पैसा पनि ऋणमा कटाउन खोजिरहेका छन् । त्यही भएर समस्या भएको हो । हामी बिस्तारै समस्या सल्टाउँछौँ ।’ 

नबिल बैंक विराटनगर शाखाका प्रबन्धक सुभास आचार्यले भने उमागौरी सहकारीका सेयर सदस्य नबिलका ऋणी रहे पनि विस्तृत जानकारी केन्द्रबाट लिन सुझाए । ‘ऋणीलाई बैंकले ताकेता गर्छ नै । यो पोलेसीको कुरा भएकाले बाँकी कुरा हामीलाई थाहा हुँदैन । थप जानकारी लिन हाम्रो बैंकको केन्द्रीय कार्यालयका सूचना अधिकारीसँग सम्पर्क राख्नुहोला,’ उनले भने ।

सञ्चालक समितिका सदस्यका अनुसार महिला उद्यमीका नाममा कसैलाई सहकारी आफैँ जमानी बसेर त कसैको जग्गाको कागजात राखेर बैंकबाट ऋण निकाल्ने गरिन्थ्यो । तर, त्यसरी निकालेको पैसा सदस्यहरूलाई थोरै दिएर धेरै सहकारीका अध्यक्षलगायतका पदाधिकारीले अपचलन गर्ने गर्दथे । उक्त रकमबाट अध्यक्ष रौनियारसहितले अकुत सम्पत्ति जोडेको कतिपयको आरोप छ । 

उमागौरीमा पाँच हजार सेयर सदस्य छन् । कुल पुँजी १८ करोड ५१ लाख रहेको यो सहकारीमा १४ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ । सहकारीले ऋणी र सञ्चालक सदस्यको जग्गाको कागजपत्र धितो राखेर विभिन्न बैंक र वित्तीय संस्थाबाट ११ करोड ५६ लाख रुपैयाँ ऋण निकालेको देखिएको छ  । बचतकर्ताको  दुई करोड तीन लाख ५४ हजार रुपैयाँ फिर्ता गर्न बाँकी छ । 

एमाले प्रदेश सांसदका छोरा पनि सहकारी ठगीमा : चुनावमा भोट माग्दा ‘जितेपछि मिलाउँछु’ भनेका बुबा पनि पन्छिए

झापाको शिवसताक्षी नगरपालिका– ३ का दिलकुमार तामाङले पाँच वर्ष कतारमा पसिना बगाएको पैसा सहकारीमा बचत गरे । गाउँकै उन्नति बचत तथा ऋण सहकारीमा चार लाख बचत गरेका तामाङ अहिले विखलबन्दमा परेका छन् । पाराबारी बजारमा ०६८ मा सञ्चालनमा आएको सहकारी दुई वर्षअघि बन्द भएपछि तामाङको बचत पनि डुबेको छ ।

उन्नति सहकारीमा राखेको बचत डुबेपछि बिचल्लीमा परेका तामाङ एक्ला होइनन्, झन्डै सात सय बचतकर्ताको एक करोड ३९ लाख फसेको छ । यसरी गाउँका नागरिकलाई बचत गर्न लगाएर त्यही पैसा हिनामिना गर्ने व्यक्ति हुन् एमाले कोशी प्रदेश सांसद राधाकृष्ण खनालका छोरा सुमन खनाल । 

सहकारीका अध्यक्ष सुमन र पदाधिकारीले एक करोड ३९ लाख ७७० रुपैयाँ अपचलन गरेको शिवसताक्षी नगरपालिकाले गठन गरेको छानबिन समितिको प्रतिवेदनले औँल्याएको छ । त्यसबाहेक २३ लाख २२ हजार ५९९ रुपैयाँ भने सहकारीको खातामा अहिले पनि बचत देखिन्छ ।

शिवसताक्षी नगरपालिकाका कार्यपालिका सदस्य रामनरेश शर्माको संयोजकत्वमा रहेको छानबिन समितिले प्रतिवेदनमा भनेको छ, ‘बचतकर्ताको खाताबाट निकालिएको रकम संस्थाको सम्पूर्ण कारोबारहरू सञ्चालन गर्ने संस्थाका अध्यक्षबाट पाउनुपर्ने देखिन्छ ।’

सहकारीको हिसाबकिताब अध्यक्ष खनालले नै हिनामिना गरेको पाइएको छानबिन समितिका सदस्यसमेत रहेका शिवसताक्षी नगरपालिकाका सहकारी शाखा प्रमुख बद्री दाहालले जानकारी दिए । ‘उहाँले कार्यकारी अध्यक्षको हैसियतमा काम गरेको पाइयो । संस्थाको सफ्टवेयर नै उहाँले चलाउनुहुने रहेछ,’ उनले भने, ‘उजुरीपछि हामीले अध्यक्षलाई छलफलमा बोलाउने कोसिस गर्‍यौँ । तर, सफल भएन । उहाँ आउनुभएन ।’ 

सुमनले बचतकर्ताको रकम ०७९ को मंसिरमा भएको प्रदेश सभा निर्वाचनअघि नै अपचलन गरेका हुन् । त्यसवेला उनका बुबा राधाकृष्ण झापा क्षेत्र नम्बर ४ (१) बाट प्रदेश सभा सदस्यको उम्मेदवार थिए । ‘उहाँका बुबा राधाकृष्णले चुनावमा भोट दिनु, जितेपछि व्यवहार म मिलाउँछु भनेपछि हामीले भोट पनि दियौँ,’ दिलबहादुरले भने, ‘कतै व्यवहार मिलिहाल्छ कि भनेर हामीले भोट पनि दियौँ । तर, अहिले राधाकृष्ण खनाल छोराको व्यवहार जान्दिनँ भन्छन् । सुमनले पैसा माग्दा के गर्न सक्छस् गर भनेर धम्क्याउँछन् ।’ 

शिवसताक्षी– ३ का अध्यक्ष भास्कर न्यौपानेका अनुसार सांसदकै छोराले वडाका बचतकर्ताको बिचल्ली बनाएका हुन् । ‘१५ सयदेखि पाँच लाखसम्म बचत गर्नेछन् । सात सय हाराहारी बचतकर्ताको रकम अपचलन भएको पाइएको छ । मेरो परिवारका सदस्यले पनि बचत गरेका थिए,’ उनले भने, ‘राधाकृष्ण सरले चुनावअघि जितेँ भने मिलाइदिन्छु भनेर भन्नुभएको रहेछ । चुनावपछि भएको छलफलमा उहाँले त्यो वेला त्यस्तै अवस्था थियो । अहिले सक्दिनँ भन्नुभयो ।’

गाउँका नागरिकलाई सहकारीमा बचत गर्ने र चाहिएको वेला ऋण दिने आश्वासन दिएका सुमनले गाउँका जनताले खाई–नखाई गरेको बचत रकम अपचलन गरेको पाइएको छ । सहकारी शिवसताक्षी नगरपालिकामा दर्ता भएर सञ्चालनमा छ । 

छानबिन प्रतिवेदनसहित थप अनुसन्धान गरी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा पठाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले सहकारीको छानबिन प्रतिवेदन प्राप्त भएको र प्रतिवेदनमा टेकेर थप अनुसन्धान हुने बताए । प्रहरीले अध्यक्ष खनालसहितका सञ्चालकको तीनपुस्ते विवरण मागेर वडामा पत्र पठाएको छ । 

खनालबाट ठगिएका बचतकर्ता मोहनप्रसाद काफ्लेका अनुसार गत २४ फागुन ०८० मा खनालले दुई महिनाभित्र बचत फिर्ता गर्ने कागज गरेका थिए । तर, सात महिना बितिसक्दा पनि उनी सम्पर्कमा नआएको बचतकर्ता काफ्लेले बताए । ‘उहाँका बुबा राधाकृष्ण खनालले जुनावका वेला हात जोडेर चुनावपछि मिलाइदिन्छु भन्नुभएको थियो । तर, उहाँले पनि अहिले जिम्मेवारी लिन नमानेपछि हामी प्रहरीकहाँ पुग्यौँ,’ उनले भने, ‘सात महिनाअघि दुई महिनाको भाका राखेर कागज गरेका थिए । अहिले सम्पर्कमा पनि छैनन् ।’ दुई वर्षअघि नै सहकारीको कार्यालयसमेत बन्द गरेपछि भने बचतकर्ता समस्यामा परेको उनले बताए । 

सहकारीका अध्यक्ष खनालले भने राजनीतिक पूर्वाग्रह राखेर प्रतिवेदन बनाएको दाबी गरे । उनले बचतकर्ताको करिब ८३–८४ लाख मात्र बचत फिर्ता गर्न बाँकी रहेको बताए । उनले बचतकर्ताको रकम फिर्ता गर्ने प्रयत्न भइरहेको जानकारी दिए । ‘बचत फिर्ता गर्ने प्रयत्न भइरहेको छ । अवस्था सहज भएपछि गर्छौँ,’ उनले भने । कार्यालय भने घरबेटीले व्यवसाय गर्न घर खाली गर्नु भनेपछि बन्द गरिएको उनले बताए । 

सांसद खनाल भन्छन्– पैसा तिर्छु भनेको होइन, सहजीकरण गर्छु भनेको हो 
सांसद राधाकृष्ण खनालले सहकारीमा आफ्ना छोरा सुमन खनालले बदमासी गरेको स्वीकार गरे । उनको बदमासी प्रदेश सभा निर्वाचनअघि नै बाहिर आएको पनि बताए । तर, निर्वाचनका वेला भोट माग्दा चुनावपछि ‘पैसा तिर्छु’ भनेर नभनेको दाबी गरे । बरु चुनावपछि सहजीकरण गर्ने प्रतिबद्धता जनाएको उनको भनाइ छ । 

‘मैले चुनावअघि तिर्छु भनेको उहाँहरूको आरोप मात्र हो । मैले सहजीकरण गरिदिन्छु भनेको हो,’ प्रदेश सभा सदस्य खनालले भने, ‘पैसा तिर्न अहिले मेरो अवस्था छैन । चुनावको ऋण पनि तिरिसकेको छैन ।’ 

उनले आफूले कानुन व्यवसायी र सहकारीकर्मीलाई बुझ्दा पनि त्यसको दायित्व आफूले लिनुनपर्ने बताए । यद्यपि, छोराको व्यवहार भएकाले व्यावहारिक रूपमा शिवसताक्षी– २ मा रहेको दुई कट्ठा जग्गा दिन खोजेको बताए । ‘करिब ६०–७० लाखमा जाने जग्गा दिने प्रतिबद्धता जनाएको थिएँ । श्रीमतीको नाममा रहेको त्यो जग्गा पनि छोराले १५ लाखमा सहकारीमा राखेको रहेछ,’ उनले भने, ‘धितो उकासेर लानु भनेको हो । बर्खा लाग्यो । हिउँदमा आउनुहुन्छ होला भन्ने सम्झिएको थिएँ । उहाँहरू मिडियामा जानुभएछ ।’