१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १५ मंगलबार
  • Tuesday, 01 October, 2024
२o८१ असोज १५ मंगलबार o९:३४:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कैलालीमा ३५ हजारलाई कोरोनाविरुद्धको खोप लगाइँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १५ मंगलबार o९:३४:oo

कैलालीमा कोरोना भाइरसको संक्रमणविरुद्ध नागरिकलाई खोप लगाउन थालिएको छ । खोप अभियान सञ्चालन गर्न परिवार कल्याण महाशाखाले ३५ हजार ‘डोज’ इफाइजर मोनोभ्यारेन्ट खोप पठाएको छ ।

जिल्लाका १३ वटै पालिकामा खोप वितरण गरेर लगाउन थालिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । सबैभन्दा बढी लम्की–चुहा नगरपालिकामा सात हजार डोज तथा धनगढी उपमहानगरपालिका र टीकापुर नगरपालिकामा पाँच–पाँच हजार डोज खोप विरतण गरिएको छ ।

अन्य पालिकामा एक हजारदेखि अधिकतम तीन हजार डोज खोप लगाइँदै छ । कोरोना संक्रमणको जोखिम कायम रहेकाले खोप लगाउन थालिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख गौरी जोशीले बताइन् । 

१२ वर्ष उमेरमाथिका रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, स्वास्थ्यकर्मी तथा बिरामीको सम्पर्कमा आउने व्यक्तिलाई प्राथमिकतामा राखेर खोप लगाउने निर्णय भएको उनले जानकारी दिइन् । स्थानीय तहले स्वास्थ्य संस्थामार्फत खोप लगाउन थालेका हुन् । चाडवाडका वेला मानिसको ओहोरदोहोर बढी हुने भएकाले कोरोना संक्रमण बढ्न सक्ने भन्दै खोप लगाउन थालिएको बताइएको छ ।

‘१५ असोजबाट खोप अभियान सञ्चालन गर्न प्रदेश स्वास्थ्य निर्देशनालयले परिपत्र गरेको छ,’ जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर प्रदीप जोशीले भने, ‘प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमार्फत खोप वितरण भइसकेको छ । केही पालिकाले आजैबाट लगाउन सुरु गरेका छन् ।’

कोरोनाको संक्रमण घटे पनि भाइरसले आनुवांशिक स्वरूप परिवर्तन गरेर संक्रमण फैलिरहेको भनी केन्द्रले खोप पठाएको उनले बताए । संक्रमण हुँदा रुघाखोकीजस्ता लक्षण देखिने भएकाले कोभिडको शंका नगरिने हुँदा परीक्षणसमेत घट्दै गएकाले रोगको वास्तविक भार यकिन हुन नसकेको महाशाखाले जनाएको छ ।