१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १५ मंगलबार
  • Tuesday, 01 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज १५ मंगलबार o७:५१:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल प्रिमियर लिग : क्यानले कमर्सियल अधिकार बेच्यो पाँच करोड ९२ लाखमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १५ मंगलबार o७:५१:oo

क्यानसँगको सम्झौतापछि डिजिटल लजिकले एनपिएलको प्रचारप्रसार, आर्थिक, ब्रान्डिङ, मार्केटिङ, प्रसारण अधिकार, प्रायोजन व्यवस्थापन र ग्राउन्ड ब्रान्डिङ गर्ने 

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को कमर्सियल अधिकार ब्रान्ड डिजिटल लजिक प्रालिले प्राप्त गरेको छ । पाँच करोड ९२ लाखमा जिम्मा लिएको डिजिटल लजिकले एनपिएल २०२४ को व्यापारिक व्यवस्थापन र मार्केटिङ गर्ने छ । त्रिवि क्रिकेट मैदानमा हुने फ्रेन्चाइज क्रिकेट लिगका सबै विज्ञापन उसले नै गर्नेछ ।

‘अब मैदानमा हुने विज्ञापनको सबै अधिकार ब्रान्ड डिजिटलको हुनेछ,’ क्यानका प्रवक्ता छुम्बी लामाले भने । यस सम्झौतासँगै डिजिटल लजिकले खेलको प्रचार–प्रसार, आर्थिक पक्ष, ब्रान्डिङ, मार्केटिङ, प्रसारण अधिकार, प्रायोजन व्यवस्थापन र ग्राउन्ड ब्रान्डिङ गर्ने  । कमर्सियल बिक्री गरे पनि क्यान आफैँले त्रिवि क्रिकेटमा प्रत्येक दिनको टिकेट बिक्रीको अधिकारी राखेको छ । ‘क्यानले नै टिकेटिङ गर्नेछ, यसमा कमर्सियल अधिकार प्राप्त कम्पनीसँग अधिकार छैन,’ लामाले भने । यसैगरी, दुबईमा रहेको टी–२० फस्र्ट सेन्चुरी मिडिया स्पोर्टस्लाई आधिकारिक इभेन्ट रणनीतिक र मार्केटिङ कन्सल्ट्यान्ट नियुक्त गरेको छ । 

दुबईमा रहेको यस भारतीय कम्पनीले रणनीतिक र मार्केटिङ अधिकार पाएबापत क्यानलाई रकम तिर्नेछ लामाले बताए । ‘विभिन्न क्रिकेट प्रतियोगितामा क्यानसँग सहकार्य गरेको कम्पनीले इभेन्ट म्यानेजमेन्ट, प्रोडक्सन, प्रसारण र खेल प्रोमोसनका काम गर्नेछ,’ लामाले भने, ‘कम्पनीको मुख्य काम एनपिएलको प्रचार–प्रसार गर्नु हो ।’ 

डिजिटल लजिकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रोशन निरौलाले क्रिकेटसँग जोडिन पाउँदा खुसी लागेको बताएका छन् । ‘मलाई बाल्यकालमा जसरी क्रिकेट खेल्न र हेर्न मन थियो, आज त्यही खेलसँग हाम्रो कम्पनीलाई जोड्न पाउँदा उत्साहित छु, यस लिगलाई अझ राम्रो बनाउन र विश्वस्तरमा पु¥याउन सक्ने जिम्मेवारी पाउँदा गर्व लागेको छ ।’ उनले लिगसँग नेपालको क्रिकेट भविष्य जोडिएको बताए । ‘एपिएल लिग एउटा लिग होइन, यो नेपाली क्रिकेटको भविष्य हो,’ उनले भने । 

खेलाडी अक्सन अर्को साता
एनपिएलको खेलाडी छनोटका लागि हुने अक्सन २० असोजमा हुने भएको छ । क्यानले अक्सनका लागि खेलाडीलाई ए, बी र सी ग्रेडमा वर्गीकरण गरेको छ । क्यानले खेलाडीलाई आफ्नो स्तरअनुसार वर्गीकरणमा राख्न अधिकार दिएको छ । टोलीमा समावेश हुने विदेशी खेलाडीले सीधै अनुबन्धित हुनेछन् । ‘ए’ ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख रुपैयाँ तोकिएको छ । सो मूल्य बढीमा १५ लाखसम्म जानेछ । ‘ए’ ग्रेडको खेलाडीलाई १५ लाखसम्म एकभन्दा बढी टोलीको बोली लागेको खण्डमा चिट्ठा तानिने क्यानले जनाएको छ ।

क्यानका अनुसार ‘बी’ ग्रेडका खेलाडीको न्यूनतम मूल्य पाँच लाख राखिएको छ । ‘बी’ ग्रेडका खेलाडीको उच्चतम मूल्य १० लाखसम्म पाउनेछन् । १० लाखभन्दा बढी भएमा चिट्ठा थुतिनेछ । त्यस्तै, ‘सी’ ग्रेडका खेलाडीको न्यूनतम मूल्य दुई लाख राखिएको छ । बढीमा पाँच लाखसम्म जानेछ ।

कर्णाली र सुदूरपश्चिमले गरे नाम र लोगो सार्वजनिक
एनपिएलको सहभागी टोली कर्णालीले आफ्नो नाम र लोगो घोषणा सोमबार गरेको छ । कर्णालीले एक कार्यक्रममार्फत नाम र लोगोको घोषणा गरेको हो । यस फ्रेन्चाइज टोलीको नयाँ नाम कर्णाली याक्स रहेको छ । कर्णाली मार्की खेलाडीका रूपमा राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामी रहेका छन् । कर्णाली याक्सको स्वामित्व हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्स प्रालिसँग रहेको छ । यसैगरी, सुदूरपश्चिमले आफ्नो नाम र लोगो घोषणा गरेको छ । सुदूरपश्चिमले सामाजिक सञ्जालबाट नाम र लोगोको घोषणा गरेको हो । यस टोलीको नयाँ नाम सुदूरपश्चिम रोयल्स रहेको छ । सुदुरपश्चिमलाई प्रतिनिधित्व गर्दै आफ्नो ठाँउबाट भूमिका निर्वाह गर्न सुदूरपश्चिम रोयल्स उत्साहित रहेको टोलीले जनाएको छ । सुदूरपश्चिमको मार्की खेलाडीका रूपमा राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरी रहेका छन् । सुदूरपश्चिम रोयल्सको स्वामित्व एम्पायर स्पोर्टस् म्याजमेन्ट प्रालिसँग रहेको छ । लिगमा आठ टोलीबिच प्रतिस्पर्धा हुनेछ । विराटनगर, जनकपुर, काठमाडौं, चितवन, लुम्बिनी, पोखरा, कर्णाली र सुदूरपश्चिमले लिगमा भाग लिँदै छन् ।

कर्णालीका प्रशिक्षकमा पूर्वकप्तान मल्ल

हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णालीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई मुख्य प्रशिक्षक तथा कन्ल्सट्यान्स ब्याटिङ प्रशिक्षकका रूपमा राजु बस्न्यातलाई नियुक्त गरेको छ । हिमालयनले पत्रकार सम्मेलनबाट नेपाली राष्ट्रिय क्रिकेट ‘ए’ टोलीका प्रशिक्षकसमेत रहेका मल्ललाई भित्र्याएको हो । हिमालयन बिल्डर्सले एक करोड ११ लाखमा कर्णालीको खरिद गरेको हो । डेढ दशक नेपाली क्रिकेट टोलीको प्रतिनिधित्व गरेको मल्लले सन् २०२३ मा सन्न्यास लिएका थिए । उनले नेपालबाट ४५ अन्तर्राष्ट्रिय टी–२० खेल खेलेका थिए । यसक्रममा उनले आठ सय ८३ रन बनाएका थिए । उनले सन् २०१९ मा भुटानविरुद्ध शतक बनाएका थिए । 

कर्णालीका मालिक जनकदत्त खनालले पूर्वकप्तान मल्ललाई अनुबन्ध गरेसँगै टिममा नयाँ अध्याय सुरु भएको बताए । ‘नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तानलाई भित्र्याउन पाउँदा सिंगो कर्णाली खुसी छ,’ उनले भने, ‘मल्लको आगमनसँगै टिम नयाँ उचाइमा पुग्ने विश्वास लिएका छौँ ।’

प्रशिक्षक मल्लले कर्णालीसँग आबद्ध हुन पाउँदा उत्साहित भएको बताए । उनले र आफ्नो अनुभव टिमसँग साट्न पाउनुलाई अवसरका रूपमा लिएको बताए । ‘एनपिएलमा कर्णालीबाट आफ्नो सहभागिता जनाउन पाउँदा आफूलाई भाग्यमानी ठानेको छु । कर्णालीको योजनाले मलाई प्रभावित बनायो,’ उनले भने, ‘कर्णालीले मलाई दिएर विश्वासमा सबै अनुभव प्रयोग गर्नेछु ।’ कर्णालीको निर्देशकमा गृहेन्द्र घिमिरेलाई नियुक्त गरिएको छ ।