१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १५ मंगलबार
  • Tuesday, 01 October, 2024
फाइल तस्बिर
२o८१ असोज १५ मंगलबार o९:५o:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मुसहर बस्तीको बाटोको काँडेबार हटाइयो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १५ मंगलबार o९:५o:oo

धान गोडमेल गर्न बोलाएको समयमा नआएको भन्दै मुसहर बस्ती जाने बाटोमा ३ असोजमा लगाएको काँडेबार सोमबार दिउँसो हटाइएको छ । राष्ट्रिय दलित आयोग, राष्ट्रिय मानव अधिकार आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को टोलीले सोमबार सिराहाको नरहा गाउँपालिका– १ गौराहा बस्तीको अवलोकनसहित पीडित र काँडेबार लगाएको पक्षसँग संयुक्त छलफल गरी काँडेबार हटाइएको हो ।

दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, मानव अधिकार आयोगका मधेश प्रदेश प्रमुख बुद्धनारायण सहनी, केन्द्रका मधेश प्रदेश प्रमुख राजु पासवानलगायतको टोलीले संयुक्त छलफल गरी काँडेबार हटाइएको हो ।

‘मानव बस्तीसम्म जाने बाटो कुनै पनि निहुँमा बन्द गरिनु हुँदैन, यो संवैधानिक अधिकारको बर्खिलाप हो’ भन्ने कुरा काँडेबार लगाउने पक्षलाई भन्यौँ,’ अध्यक्ष विश्वकर्माले भने, ‘बस्तीहरूलाई पनि बाटो प्रयोग गर्दा बाली क्षति नगर्ने गरी हिँड्ने, वरिपरिको खेतबारीमा फोहोर नगर्ने, प्रयोग गरेपछिको पानीको उचित व्यवस्थापन गर्न आग्रह गरेका छौँ ।’

त्यसपछि जिल्ला प्रहरी प्रमुखलाई फोनमार्फत जानकारी गराएर काँडेबार हटाइएको उनले बताए । टोलीले जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितसँग पनि भेटघाट गरी बस्तीमा काँडेबार हटाएको भए पनि जग्गावाला व्यक्ति र मुसहर बस्तीबिच तिक्तताको अवस्था रहेकाले स्थानीय प्रहरीलाई शान्तिसुरक्षाको व्यवस्था गर्न आग्रह गरिएको इन्सेकका पासवानले बताए ।

आफ्नो धान गोडमेल गर्न बोलाएका वेला मजदुरी गर्न नगएको भन्दै स्थानीय महेश यादवले ३ असोजमा बस्ती हुँदै उत्तरतर्फको चोहर्वा जाने सडकमा जोडिने छोटो बाटोमा काँडेबार र पश्चिम बलुवा पानबारी गाउँ जाने बाटो पनि घेरेपछि दलित समुदायका स्थानीय मुसहर अप्ठ्यारोमा परेका थिए ।