१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ११ शुक्रबार
  • Friday, 27 September, 2024
२o८१ असोज ११ शुक्रबार o६:२७:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मुसहर हिँड्ने बाटोमा काँडेबार

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ११ शुक्रबार o६:२७:oo

आफ्नो धानखेत गोडमेल नगरिदिएको भन्दै सिराहाको नरहा गाउँपालिका– १ गौरराहाका महेश यादवले ४५ परिवार मुसहर ओहोरदोहोर गर्ने बाटो जिलेवीको काँडाले छेकेर एक सातादेखि बन्द गरेका छन् विपन्न पीडितहरूले गाउँपालिकादेखि प्रहरीसम्म गुहारे, तर सुनुवाइ कतै भएन

आफ्नो खेतको धान गोडमेल नगरिदिएको भन्दै सिराहाको नरहा गाउँपालिका– १ गौरराहाका महेश यादवले ४५ परिवार मुसहर ओहोरदोहोर गर्ने बाटो जिलेवीको काँडाले छेकेर बन्द गरिदिएका छन् । एक सातादेखि छेकबार लगाइएको बाटो खुलाइदिन विपन्न पीडितहरूले गाउँपालिका अध्यक्षदेखि प्रहरीसम्म गुहारेका छन्, तर सुनुवाइ कतैबाट भएको छैन । प्रहरीले त उजुरीसमेत दर्ता गरेको छैन । 

यादवले ३१ भदौ र १ असोजमा मुसहरबस्ती पुगेर आफ्नो खेतमा धान गोडमेलका लागि आउन भनेका थिए । तर, उनले चलेको ज्यालाभन्दा थोरै रकम मात्रै दिने भएकाले कोही पनि गएनन् । त्यसैको झोँकमा ३ असोजमा यादवले आफ्नो खेत हुँदै मुसहरबस्ती जाने बाटो नै छेकेका हुन् । यसबाट ४५ विपन्न मुसहर परिवार प्रभावित भएका छन् । 

मुसहरबस्ती जान यादवको खेतको आलीको बाटो भएर जानुपर्छ, जुन वर्षौँदेखि उनीहरूले प्रयोग गर्दै आएका थिए । बाटोको मुखमै यादवले दुईतिर खाँबा गाडेर जिलेवीको काँडाले छेकेका छन् । त्यसलाई हटाएर हिँडे ‘ठिक नहुने’ धम्की दिएका छन् । मुसहरबस्ती पुग्न गाउँको पश्चिमतिरबाट सार्वजनिक बाटो पनि छ । तर, यो निकै घुमाउरो छ । 

‘बस्तीसम्म आउने छोटो बाटो महेश यादवको निजी जग्गामै पर्छ । तर, बाउबाजेकै पालादेखि हामीले यहीँबाट ओहोरदोहोर गर्दै आएका हौँ । अहिलेसम्म उनका आफन्त कसैले पनि बाटोमा हिँड्न रोकेनन्,’ ६५ वर्षीय मुसहर बुधन सदाले भने, ‘यसपटक उनले आफ्नो धान गोडमेल समयमा नगरिदिएको झोँकमा वर्षौँदेखि हिँडिरहेको बाटो नै बन्द गरेका छन् ।’ 

बुधनका अनुसार गाउँमा धान गोडेको दैनिक पाँच सय ज्याला पाइन्छ । जसमा एक छाक खाना पनि हुन्छ । तर, यादवले भने सुक्खा दुईदेखि तीन सय मात्रै (खानाविना) दिने गरेका छन् । त्यसैले बस्तीका मान्छे मजदुरीका लागि उनकोमा जान रुचाउँदैनन् । 

नापी गर्न छुटेको जग्गामा मुसहरबस्ती छ । उनीहरूले दैनिक मजदुरी गरेरै जीविकोपार्जन गर्दै आएका छन् । स्थानीय चौरासीदेवी सदाले काम नगरिदिएको भनेर बाटो नै छेक्नु आफूहरूमाथि अन्याय भएको बताइन् । ‘हातमुख जोड्न हामीले गाउँमा गिरहतहरू (जग्गाधनी)कै खेतमा काम गर्नुपर्छ । यसअघि पनि गर्दै आएका हौँ । अब पनि गर्छौँ,’ उनले भनिन्, ‘तर, ज्याला कम दिने अनि काम गर्न आएनन् भनेर बाटो छेकिदिन मिल्छ ? यो त सरासर अन्याय हो ।’ 

स्थानीय ६७ वर्षीय जोगी सदाले यसअघि पनि आफूहरूलाई यादवले पटकपटक धम्क्याउँदै आएको बताए । अहिले भने बाटो नै बन्द गरेर गलाउन खोजेको उनको भनाइ छ । ४५ वर्षीया प्रेमकुमारी सदाको पनि त्यही गुनासो छ । ‘बस्ती छेउछाउ जग्गा भएका स्थानीयले वेलावेलामा बस्ती नै हटाइदिने धम्की दिँदै आएका थिए,’ उनले भनिन्, ‘यसपटक त बाटोमा काँडा लगाएर वरिपरिको जग्गा मेरै हो, भनेको वेलामा काम नगरिदिए बाटो मात्र बन्द होइन, बस्ती नै हटाइदिने धम्की दिएका छन् ।’ 

विपन्न मुसहरहरूले आफूहरूको बाटो छेकिएको भन्दै वडाध्यक्ष अशोककुमार महतो र गाउँपालिका अध्यक्ष रामप्रमोद यादवको घरमै पुगेर गुनासो गरेका थिए । तर, उनीहरूले पनि खासै वास्ता नगरेको पीडितहरू बताउँछन् । ‘वडाध्यक्ष त एकपटक गाउँमै आएर हेरेर फर्किनुभयो । तर, गाउँपालिका अध्यक्ष आउनुभएको छैन,’ चौरासीदेवी सदाले भनिन्, ‘महेश यादवले मेरो निजी जग्गाको बाटो हो । हटाएर हिँडेमा राम्रो नहुने भन्दै धम्की दिएको छ ।’

तर, गाउँपालिका अध्यक्ष रामप्रमोद यादवले भने मुसहरबस्ती पुग्ने बाटो बन्द गरिएको विषयमा आफूकहाँ पीडितले जानकारी नगराएको दाबी गरे । ‘म पालिकाको कामविशेषले दुई–तीन दिन जिल्लाबाहिर नै थिएँ । पालिकामा भएको वेला कोही पीडित आएका छैनन्,’ उनले भने, ‘तर, नरहास्थित प्रहरीमार्फत भने बाटो घेरिएको विषयमा बिहीबार मात्र जानकारी पाएको छु । बस्तीको बाटो घेरिएकोबारे गाउँमै गएर बुझ्छु ।’ व्यक्तिको निजी जग्गामै भए पनि बाटो छेकिहाल्न नहुने उनले बताए । ‘खेतको बाटो घेरिएको भए पनि गाउँ आवतजावत गर्न अर्को सार्वजनिक बाटो त छ । तर, के भएको रहेछ गाउँ गएरै बुझ्छु,’ अध्यक्ष यादवले भने । 

प्रहरीले दर्ता नै गरेन उजुरी
दलित अधिकारकर्मी सञ्जय महराका अनुसार पीडितहरू बुधबार उजुरी लिएर जिल्ला प्रहरी कार्यालय पनि गएका थिए । तर, दर्ता नै नगरिदिएपछि उजुरी त्यहीँ छाडेर फर्किएका छन् । ‘पीडितहरू उजुरीसहित गएका थिए, तर त्यहाँ भएका प्रहरीले बुझ्नुपर्छ भन्दै उजुरी दर्ता नगरेपछि त्यहीँ छाडेर फर्किएका हुन्,’ उनले भने । आफूले चाहेको वेलामा काम नगरिदिएको निहुँमा बाटो नै बन्द गरिनु व्यक्तिको हिँडडुल गर्न पाउने अधिकारको उल्लंघन भएको महराले बताए । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी निरीक्षक दीपक सिंहले आफू बुधबार कार्यालयबाहिर भएकाले बाटो बन्द गरिएकोसम्बन्धी उजुरी दर्ता भए–नभएको विषयमा थाहा नभएको बताए । 

नरहा गाउँपालिका अध्यक्ष रामप्रमोद यादव भन्छन्– पीडितहरूले त जानकारी गराएका छैनन्, प्रहरीबाट सुनेको छु, अब गाउँमै गएर बुझ्छु 
विपन्न मुसहरहरूले आफ्नो बाटो छेकिएको भन्दै वडाध्यक्ष अशोककुमार महतो र गाउँपालिका अध्यक्ष रामप्रमोद यादवको घरमै पुगेर गुनासो गरेका थिए । उनीहरूले पनि खासै वास्ता नगरेको पीडितहरू बताउँछन् । तर, गाउँपालिका अध्यक्ष यादवले भने बाटो बन्द गरिएको विषयमा आफूलाई पीडितले जानकारी नगराएको दाबी गरे । ‘म दुई–तीन दिन जिल्लाबाहिर नै थिएँ । पालिकामा भएको वेला कोही पीडित आएका छैनन्,’ उनले भने, ‘तर, नरहास्थित प्रहरीमार्फत भने बाटो घेरिएको विषयमा बिहीबार मात्र जानकारी पाएको छु । बस्तीको बाटो घेरिएकोबारे गाउँमै गएर बुझ्छु ।’ व्यक्तिको निजी जग्गामै भए पनि बाटो छेकिहाल्न नहुने उनले बताए ।