१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
२o८१ असोज १४ सोमबार १७:३८:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सिस्नेरीमा ज्यान गुमाएका खेलाडी विकल रेग्मीको अन्तिम बिदाइ

स्मृतिमा जुनियर फुटबल प्रतियोगिता गरिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार १७:३८:oo

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित सिस्नेरी खोलाकाे पहिरोमा परी ज्यान गुमाएका विकल रेग्मीको पार्थिव शरीरलाई निजगढ नगर परिक्रमा गरेर अन्तिम बिदाइ गरिएको छ। इन्द्रसरोवर– ४ स्थित बात्सल्यदेवी माध्यमिक विद्यालयमा एन्फाले सञ्चालन गरेको आवासीय एकेडेमीका प्रशिक्षार्थी खेलाडी विकलको पहिरोमा परी ज्यान गएको थियो।

बाराको निजगढ नगरपालिकाले विकलको पार्थिक शरीरलाई सहिद हिरालाल रंगशालामा राखेर सम्मानसहित अन्तिम बिदाइ गरेको हो। निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले उनको सम्झनामा नगरले हरेक वर्ष ‘विकल स्मृति जुनियर फुटबल प्रतियोगिता’ आयोजना गर्ने घोषणा गरेका छन्।

‘विकलको मृत्युले निजगढ नगरपालिका र राष्ट्रले नै ठुलो क्षति बेहोरेको छ। नगरले उनको सम्झनामा हरेक वर्ष विकल स्मृति जुनियर फुटबल प्रतियोगिता गर्नेछ,’ नगरप्रमुख पुरीले भने, ‘आउँदै गरेको विजया दशमी तथा तिहारमा नगरले नियमित गर्दै आएको चियापानलगायत खुसी साटासाट तथा अन्य कार्यक्रम यस वर्ष गरिनेछैन।’

विकलको पार्थिव शरीरमा पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, पूर्वमन्त्री ज्वाला साह, बलवीर चौधरी, प्रदेश सभा सदस्य मीना लामा, नगर उपप्रमुख सोममाया थिङ, पूर्वनगरप्रमुख सुरोश खनाल, पूर्वउपप्रमुख लीलादेवी लामिछाने, सुदर्शन प्रसाद कोइरालालगायतले श्रद्धाञ्जली अर्पण गरेका छन्।

जिल्ला, प्रदेश हुँदै केन्द्र (च्यासल) बाट विभिन्न प्रतिगोगिताबाट यू–१३ टोलीको लागि उनी अखिल नेपाल फुटबल संघ (एन्फा)को छनोटमा परेका थिए। एन्फाको छनोटमा परी गत वैशाख अन्तिम साता निजगढको बकैया ठाकुर मावि र वडा कार्यालयबाट प्रशंसा पत्रसँगै बिदाइ भएर सिस्नेरी क्याम्प पुगेका थिए। बाराको निजगढ नगरपालिका– ८ निवासी जयन्त रेग्मी र कमला रेग्मीका १४ वर्षका विकल रेग्मीको मृत्युपछि परिवार, आफन्त, छिमेकीसहित नगर नै शोकमा डुबेको छ।

पढाइसँगै यू–१३ का लागि राष्ट्रिय खेलाडी बन्ने उनको सपना थियो। तर, क्याम्प बस्न थालेको साढे चार महिनामै विकलको सपना पहिरोमा पुरिएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ मा सञ्चालित आवासीयसहित फुटबल सिकाउने माविलाई इन्द्रसरोवरको पानीले डुबानमा पार्ने भएपछि क्याम्प (विद्यालय)का ३७ प्रशिक्षार्थीमध्ये ६ जना छोटो बाटो भएर डुबानबाट जोगिन निस्कने प्रयास गरेका थिए। तर, उनीहरू पहिरोमा पुरिए। त्यसैमध्येका एक थिए– विकल। विकलको उनकै गृहनगरमा सोमबार धार्मिक विधिअनुसार अन्तिम संस्कारसमेत गरिएको छ।

यू–१३ उमेर समूहमा विकलसहित निजगढका पाँच प्रशिक्षार्थीले सिस्नेरीस्थित एन्फा एकेडेमीमा फुटबल प्रशिक्षण गरिरहेका थिए। अन्य चारजना भने सुरक्षित छन्। उनीहरू गत जेठदेखि सिस्नेरीमा थिए।