१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १४ सोमबार १९:३o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जंगी अड्डामा पृतनापति समन्वयात्मक बैठक सुरु, तदारुकता साथ उद्धारमा लाग्न रक्षामन्त्रीको निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार १९:३o:oo

प्रधानसेनापति अशोकराज सिग्देलले बोलाएको नेपाली सेनाको पृतनापतिहरूको समन्वयात्मक बैठक सोमबार सुरु भएको छ। 

सेनाका सातै पृतनापति तथा मुख्यालयका विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुख सहभागी बैठकमा रक्षामन्त्री मानवीर राईले बाढीपहिरोपीडितको उद्धार थप तदारुकता साथ गर्न निर्देशन दिएका छन्। 

प्रधानसेनापति भएपछि सिग्देलले बोलाएको यो पहिलो पृतना बैठक हो। मंगलबारको बैठकमा पृतनापतिहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यहरूको समीक्षा एवं सुझावहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

जंगी अड्डामा रहेका विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयहरूले समेत आ–आफ्नो जिम्मेवारीअनुरूपको प्रस्तुतीकरण गर्ने कार्यक्रम छ। रक्षामन्त्री राईले बाढी तथा पहिरोमा प्रभावित भएका आमसर्वसाधारणको उद्धार कार्य अझै तदारुकताका साथ अघि बढाउन निर्देशन दिए। 

रक्षामन्त्री राईले धर्म, क्षेत्र, जात आदिका नाममा मुलुकमा अवाञ्छित क्रियाकलाप बढाउन खोजिएको साथै अन्तर्राष्ट्रिय, क्षेत्रीयस्तरमा भएका द्वन्द्वले प्रत्यक्ष-अप्रत्यक्ष रूपमा पार्ने प्रभाव एवं  राष्ट्रियता र राष्ट्रको रक्षा-प्रतिरक्षामा बारेमा समन्वयात्मक बैठकमा समीक्षा गर्न आग्रह गरे। उनले आफ्ना साख कायम राख्न सेना सफल हुने विश्वास पनि व्यक्त गरे। 

प्रधानसेनापति सिग्देलले अविरल वर्षा र बाढी तथा पहिरोका कारण प्रभावित क्षेत्रहरूबाट घाइते, बिरामी र अलपत्र परेका नागरिकलाई पैदल तथा हवाई साधनमार्फत उद्धार कार्य भइरहेको बताए। 

अवरुद्ध भएका विभिन्न सडक सञ्जाल तथा राजमार्ग खुलाउन सेनाले स्थानीय तह र सुरक्षा निकायसँग हातेमालो गरी तदारुकताका साथ कार्य गरिरहेको पनि बताए।

अर्को प्रसंगमा उनले राष्ट्रिय सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने गतिविधिहरूबारे सेनाले निरन्तर सूक्ष्म अध्ययन, अनुगमन र विश्लेषण गरिरहेको पनि बताए। 

‘त्यसबाट सिर्जना हुन सक्ने सुरक्षा चुनौतीहरूलाई सामना गर्न नेपाली सेना सदैव तयारी अवस्थामा छ,’ प्रधानसेनापतिले भने। उनले बैठकमा सेनाको योजनाहरूको पुनरावलोकन तथा संगठनको क्षमता विकासको लागि आधुनिकीकरणलगायत योजनाहरू अद्यावधिक गरिने पनि उल्लेख गरे। 

आफ्नो कार्यकालमा नेपाली सेनाको सांगठनिक सुदृढीकरण र आधुनिकीकरण गर्न सातवटा लक्ष्यहरूसहित जारी भएको कमान्ड मार्गनिर्देशनबमोजिम कार्यसम्पादन गर्न सबैलाई निर्देशन दिए। बैठकमा रक्षासचिव रामेश्वर दंगाल पनि सहभागी थिए।