१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १३ आइतबार o७:२४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काभ्रेमा पहिरो नगएको गाउँ छैन, पनौती र रोशीमा ठूलो क्षति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार o७:२४:oo

बिहीबारदेखिको बर्खाले काभ्रेपलाञ्चोकमा ठुलो मानवीय र भौतिक क्षति भएको छ । काभ्रेका हरेकजसो गाउँमा पहिरो गएका छन् । रोशी र अन्य साना खोलाले बिपी राजमार्ग कटानसहित दर्जनौँ घर बगाएको छ । 

काभ्रेको राेशी गाउँपालिका- २ मा राेशी खाेलाले बगाएको बस्ती

जिल्ला प्रहरी कार्यालय, काभ्रेकी प्रहरी प्रमुख एसपी वसुन्धरा खड्काका अनुसार सबैभन्दा धेरै क्षति पनौती नगरपालिका र रोशी गाउँपालिका भएको छ । ‘काभ्रेमा पहिरो नगएको गाउँ छैन,’ उनी भन्छिन्, ‘ठूलो क्षति पनौती र रोशीमा भएको छ, धेरै ठाउँमा सञ्चारविच्छेद हुँदा विवरणसमेत पाउन सकेका छैनौँ ।’ रोशी खोला पनौती हुँदै रोशी गाउँपालिकातर्फ बग्दछ । ठुलो बर्खापछि रोशीमा भेल उग्र हुँदा खोलाआसपासका दर्जनौँ घरहरू बगाएको हो । ठाउँठाउँमा बिपी राजमार्ग कटान गरेको छ । नदीआसपासको मापदण्डविपरीतका क्रसरहरूका कारण पनि ठुलो क्षति भएको स्थानीयको भनाइ छ । रोशी–२ स्थित नार्के बजारलगायत किनारामा रहेको बस्तीमा बाढीले ठुलो क्षति गरेको छ ।  बाढी र पहिरोले काभ्रेमा शनिबार रातिसम्म १४ जनाको मृत्यु र २६ जना बेपत्ता भएको प्रहरीको भनाइ छ । तर, वास्तविक क्षति धेरै रहेको प्रहरी अधिकारी बताउँछन् । विभिन्न ठाउँमा घर पुरिएको र त्यहाँभित्र मान्छे परेकोमा उद्धार हुन सकेको छैन । तेमाल गाउँपालिकामा मात्र १२ जना घरभित्र पुरिएका छन् । पनौती– ११ थुम्कीमा पहिरोले दर्जनौँ घर बगाएको छ । यस्तै, नमोबुद्ध, भुम्लु, चौरी देउरालीमा पनि घरहरू पुरिएकोमा सुरक्षाकर्मी पुग्न सकेका छैनन् । महाभारत र खानीखोला क्षेत्रमा सञ्चार सम्पर्क नै हुन नसकेको प्रहरीले जनाएको छ । सडक सबै अवरुद्ध भएकाले पनि उद्धारमा जान कठिनाइ भएको एसपी खड्काले बताइन् । 

बिपी राजमार्गमा दुई दिनदेखि साढे दुई सय यात्रु अलपत्र 
रोशी खोलाले बिपी राजमार्ग कटान गर्दा करिब दुई सय यात्रुहरू बिचैमा अलपत्र परेका छन् । काभ्रेको मंगलटार र कालढुंगा क्षेत्रमा करिब दुईजना यात्रुहरू अलपत्र परेका हुन् । त्यसमध्ये कतिपय बिहीबार बेलुकादेखि अलपत्र परेका हुन् । 

त्यहाँ पुग्ने सडक अवरुद्ध भएको र हेलिकोप्टर पनि ल्यान्ड गर्न नसक्दा उद्धार हुन सकेको जिल्ला प्रहरी कार्यालय, काभ्रेकी एसपी वसन्धुरा खड्काले बताइन् । मौसम खुलेपछि आइतबार उनीहरूको उद्धार गर्ने तयारी छ । सो क्षेत्रमा विद्युत् लाइनसमेत छैन । सुरक्षित बस्तीसमेत नभएकाले उनीहरूको बिचल्ली भएको छ । अलपत्र परेका यात्रुका परिवारले उद्धारका लागि हारगुहार गरेका छन् । रोशीखोलाले राजमार्ग धेरै कटान गरेकाले केही दिनमै सडक सुचारु हुने अवस्थासमेत नरहेको प्रहरीले जनाएको छ ।