१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमडाैं
२o८१ असोज १२ शनिबार o६:४९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

झरीले डुबानको चपेटामा उपत्यकाका बस्ती 

काठमाडौंको झरी आज पनि कायमै रहने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमडाैं
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार o६:४९:oo

बिहीबारदेखि निरन्तरको झरीले काठमाडौं उपत्यकाका बस्ती डुबानमा परेका छन् । बागमती र सहायक नदीआसपासका तथा पानीको निकास नभएका बस्ती डुबानमा परेका हुन् । खोकना क्षेत्रमा बागमती नदीको पानीको बहाव खतराको तहभन्दा माथि पुगेको छ । त्यस क्षेत्रमा पानीको बहाव चार मिटर पुग्दा सतर्कता तह पार हुन्छ, तर शुक्रबार साँझ ५.०८ मिटर पुग्यो, जसकारण तटीय क्षेत्रका बस्ती डुबानमा परेका हुन् ।

उपत्यकामा सबैभन्दा बढी वर्षा ललितपुरको लेलेमा २०४.८ मिलिमिटर भएको छ । उपत्यकामा बागमती नदी खोकना र गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोंगबु बसपार्क क्षेत्रमा उर्लिएर बस्तीमा पसे । विष्णुमती, हनुमन्ते, धोबीखोला तथा नक्खु खोलाआसपासका बस्तीमा पनि पानी पसेको छ । कुलेश्वरको खाद्य गोदाममा बाढी पसेर ठुलो क्षति भएको प्रहरीले जनाएको छ । ललितपुरको इमाडोल क्षेत्रमा करिब ७० घर डुबानमा परेका छन् । 

ललितपुरको कुसुन्ती क्षेत्रमा पनि धेरै घरमा पानी पसेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी विनोद घिमिरेले बताए । सम्भावित क्षति रोक्न जोखिमयुक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको उनले जनाए । 

ललितपुरको गोदावरी नगरपालिका– ६ लप्सेमा पहिरोले बा.८६प ६१७ नम्बरको मोटरसाइकल पुरिँदा चालक राजु थिङ घाइते भएका छन् । ललितपुरको बागमती गाउँपालिका– ३ भट्टेडाँडामा पहिरोका कारण सडक अवरुद्ध भएको छ । 

ललितपुर महानगरपालिका– १८ आदिनाथमार्गस्थित नक्खु खोला र बागमती खोलाको दोभानमा घर डुबानमा परेपछि प्रहरीले घरभित्र रहेकी लक्ष्मी मगरलाई उद्धार गरेको छ । कीर्तिपुरको सुन्दरीघाट तथा बलम्बुको बालकुमारी बस्तीमा पनि बाढी पसेको छ । अन्य सहायक मार्ग पनि बाढी तथा पहिरोका कारण अवरुद्ध भएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । उपत्यका खोलाकिनारमा पानीको सतह बढेपछि प्रहरीले रातको समयमा खोलाआसपासको सडक प्रयोग नगर्न आग्रह गरेको थियो ।

काठमाडौंको झरी आज पनि कायमै रहने
मौसमविद् शान्ति कँडेलका अनुसार काठमाडौंको झरी शनिबारसम्मै कायम हुने देखिन्छ । ‘हामीले रेड अलर्ट जारी गरेका ठाउँ (काठमाडौं र अन्य क्षेत्रमा) वर्षा हुने देखिन्छ,’ मौसमविद् कँडेलले भनिन्, ‘उपत्यकामा त शनिबार पनि झरी नै रहने सम्भावना छ ।’ शनिबार पनि देशभर वर्षा हुने देखिए पनि आइतबार बिहानदेखि पनि कम हुने आकलन गरिएको छ ।